
सोमवार , चैत्र २१, २०७८
भैरहवा, २१ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीले सोमबार (आज) भैरहवामा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम गर्ने भएको छ । भैरहवास्थित खजहना चोकमा बिहान साढे ११ बजे आमसभा सुरु हुने राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले बताए ।
अध्यक्ष राणाले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुव प्रधान, वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वमन्त्री निरञ्जन थापा, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले आमसभालाई सम्बोधन गर्ने बताए । आमसभामा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपामा प्रवेश गर्ने उनले जानकारी दिए । उनले भने, ‘राप्रपामा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । ’
आमसभामा २५ हजार जना बढीको सहभागिता रहने अध्यक्ष राणाले जानकारी दिए । मुलुकमा भ्रष्टाचार, बेथिति बढेको र राष्ट्रियता संकटमा परेकाले त्यसकोविरुद्ध आमसभा गरिएको उनको भनाइ छ ।
जिल्लास्तरीय आमसभा भएकाले जिल्लाभरीबाट सहभागिता हुने राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदयले बताए । राप्रपाको महाधिवेशनपश्चात नेपालको ७५ भन्दा बढी स्थानमा आमसभा भइसकेको उनले जानकारी दिए ।
आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सफल बनाउन राप्रपा जिल्ला अध्यक्ष सागर प्रताप राणाको अध्यक्षतामा मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको पार्टीले जनाएको छ । जसअन्तर्गत मञ्च व्यवस्थापन समितिको संयोजकमा अजय कुमार गुप्ता, अर्थ व्यवस्थापन समितिमा राजेश कुमार ढकाल, यातायात व्यवस्थापन समितिमा शंकर खत्री, प्रचारप्रसार व्यवस्थापन समितिमा बलराम शर्मा, स्वयंसेवक व्यवस्थापन समितिमा विश्व प्रकाश श्रेष्ठ, सुरक्षा व्यवस्थापन समितिमा अरुण कुमार शाही, सूचना तथा सञ्चार व्यवस्थापन समितिमा धर्म बहादुर के.सी. र अतिथि सत्कार व्यवस्थापन समितिको संयोजकमा पदमा थापा रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij