२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसद्वारा स्वागत, विदाई तथा पुरस्कार वितरण

सोमवार , चैत्र २१, २०७८

भैरहवा, २१ चैत ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले सोमबार भैरहवामा स्वागत, विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच स्नातक तह प्रथम वर्षमा अध्ययन सुरु गरेका विद्यार्थीहरुलाई स्वागत तथा स्नातक तह अन्तिम वर्षको परीक्षामा सहभागि भइसकेका विद्यार्थीहरुलाई विदाई गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । त्यस्तै अनेरास्ववियु क्याम्पस कमिटीले विभिन्न समयमा आयोजना गरेको खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक मनोज पन्तले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नारायण घर्तीले लोकतान्त्रिक आन्दोलनको साझेदार र नेतृत्वकर्ता संगठन अनेरास्ववियु भएको बताए । उनले आम नेपाली जनताको जनजीविकाको सन्दर्भमा आवाज बुलन्द गर्ने संगठन अनेरास्ववियु भएको बताए । नेता घर्तीले राष्ट्रियता संकटमा पर्दा राष्ट्रियता बचाउन अनेरास्ववियुले आन्दोलन गर्दै आएको बताए ।

त्यस्तै नेकपा (एमाले) सिद्धार्थनगर कमिटीका अध्यक्ष तथा स्वतन्त्र विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पसका पूर्व सचिव चक्र बहादुर थापाले नेपालको आन्दोलनमा अनेरास्ववियुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले विद्यार्थी चनाखो नभए मुलुक अस्थिरतातर्फ जाने बताए ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लक्ष्मी के.सी.ले अलमल नगरी अनेरास्ववियुमा आबद्ध हुन विद्यार्थीहरुलाई आग्रह गरिन् । उनले भैरहवा बहुमुखी क्याम्पस पुरानो र इतिहास बोकेको क्याम्पस भएको बताइन् ।

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य रवि सेञ्चुरीले समाज रुपान्तरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताए ।
अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले अनेरास्ववियुले रचनात्मक कार्य गर्दै आएको दावी गरे । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा नगरपालिकाका न्यायीक समिति सदस्य उमेश थापा लाटो मगरले विद्यार्थीको एकता हेर्नका लागि भैरहवा बहुमुखी क्याम्पस आउनुपर्ने बताए ।

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेको अध्यक्षता, अनुशासन विभाग प्रमुख गणेश पोख्रेलको स्वागत तथा सचिव आशिष पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।