
बिहिवार , श्रावण ८, २०७७
बुटवल, ८ साउन ।
संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले भ्रष्टाचार गर्नेहरुलाई प्रमाणसहित कारवाहीका लागि सिफारिस गर्दा पनि कार्यान्वयन नभएको बताएका छन् । उनले सार्वजनिक लेखा समितिले कारवाहीका लागि सिफारिस गरेकाहरुलाई सरकारले नै बचाउने काम गरेको आरोप समेत लगाएका छन् । बाइडबडीदेखि अहिलेको ओम्नी ग्रुपसम्मलाई लेखा समितिले अध्ययन गरेर सरकारलाई कारवाहीका लागि प्रक्रिया थाल्न भनेको शाहले बताए ।
विपी कोइरालाको स्मृति दिवसका अवसरमा विपी विचार समाजले रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेसका नेता शाहले सरकारले अपराधीहरु बचाउने काम गर्न नहुनेमा जोड दिए । उनले राज्यसंयन्त्रको दुरुपयोग गरेर गरिएको अनियमितताको एक/एक हिसाब जनताका अगाडि सार्वजनिक गर्ने पनि बताए । उनले विपीले परिकल्पना गरेको समाजवाद अहिले पनि व्यवहारमा नआएको भन्दै दुरदराजका जनताको अवस्थालाई हेरेर विकासका योजना बनाउनुपर्ने बताए ।
सो अवसरमा नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य फखरुद्दीन खांले आफुलाई सर्वहाराको सरकार बताए पनि आफु र आफ्ना कार्यकर्ता पोस्ने काम मात्र भएको बताए । जनताको हितमा भन्दै आफ्नो कुर्सी बचाउने खेलमा सरकार लागेको उनको भनाइ छ ।
कांग्रेसका नेता तथा प्रदेशसभाका उमेदवार विष्णु पोख्रेलले अहिले सरकारले जनस्तरका संस्कृति र सम्बन्ध भत्काउने काम गरेको टिप्पणी गरे । उनले प्रधानमन्त्री जस्तो व्यक्तिले बिना अध्ययन लहडमा बोलेर दुई देशका नागरिकहरुका बीचमा दुश्मनीको वातावरण निर्माण गरेको आरोप लगाए ।
कार्यक्रममा विपी विचार समाज रुपन्देहीका अध्यक्ष शरद भट्टराईले समाजवाद मुखले मात्र भनेर नहुने भन्दै व्यवहारमा समाजवाद लागु गर्न सरकारलाई आग्रह गरे ।
समाजका क्षेत्रीय अध्यक्ष अमेरिका कोहारको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका नगर सभापति मोहमद वकिल मुसलमान, समाजका सल्लाहकार हरि न्यौपाने, सचिव कृष्ण पोख्रेल, जिल्ला सदस्य नविन केसी, तिलोत्तमा अध्यक्ष कल्याण पौडेल, अशोक गोस्वामी लगायतले बोलेका थिए । सो अवसरमा समाजले कोरोना संक्रमणवाट बच्नका लागि मास्कको प्रयोग गरौं भन्दै मास्क वितरण गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij