
मंगलवार , चैत्र २२, २०७८
बुटवल, २२ चैत ।
लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुले मतको आधारमा उमेदवारी बाँडफाँडको तयारी गरेका छन् । विगतको मतको आधार, उमेदवारीको लोकप्रियता आधारमा तालमेल गरेर च्नावी मैदानमा जाने अन्तिम तयारीमा रहेको नेताहरुले बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश बुटवलले आयोजना गरेको स्थानीय तहमा दलहरुको राजनीतिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्ने नेताहरुले यस्तो बताएका हुन् । साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर बहादुर पुनले गठबन्धन दल भित्र पार्टीहरुले आ–आफ्नो मत आधार संकलन गरिरहेको र त्यसैका आधारमा उमेदवारी दिने बताए । लुम्बिनी प्रदेशमा गठबन्धनको अत्याधिक बहुमत आउने उनले दावी गरे ।
सभापति पुनले गठबन्धन दलहरुले चुनावी तालमेलमा अक्षरस पालना गर्ने बताए । उनले भने, ‘देश र जनतालाई समृद्ध बनाउँछौं भन्ने एमालेले संसद् बैठकलाई अवरोध गरेर जनताका आवाजलाई कुण्ठित गरेको आरोप लगाए ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले लुम्बिनी प्रदेशमा आफ्नो पार्टीले ६० प्रतिशत जित हात पार्ने दावी गरे । प्रदेशका १ सय ९ वटा पालिकाहरुको सर्वेक्षण अनुसार ६० प्रतिशत भन्दा धेरै जित हासिल गर्ने ठोकुवा गरे । उनले एमाले जनताको प्रिय पार्टी भएकाले जस्तोसुकै गठबन्धनले फरक नपार्ने बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा माओवादी केन्द्र संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुलाराम घर्तीले सत्ता गठवन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिने जोड दिए । प्रदेशका सम्पूर्ण स्थानीय तहहरुमा आफ्नो पार्टीले सर्कुलर गरेको र जसअनुसार पालिकामा निर्वाचन संयन्त्र परिचालन समिति गठनको छलफल भइरहेको उनले वताए ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रिय सदस्य छन्द पन्थीले ठूला दलका नेताहरुले झुटको राजनीति गर्दै आएको वताए । उनले ठूला दलको होडबाजीले गठबन्धन निर्माण भएको बताए । निर्वाचनका बेला मीठा भाषण र जनतालाई आश्वासन दिने दलहरुले निर्वाचन पश्चात् प्रतिवद्धता पुरा नगर्ने गरेको भन्दै बईमानीको राजनीति नगर्न सुझाव दिए । कार्यक्रम रिर्पोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij