
सम्मानजनक रुपमा सिट बाँडफाँड गरिने
मंगलवार , चैत्र २२, २०७८
भैरहवा, २२ चैत ।
रुपन्देहीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अगाडी बढ्ने उद्घोष गरेर सत्तारुढ पाँच राजनीतिक दलले जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्र निर्माण गरी गठबन्धनलाई मजबुुत बनाउने निर्णय गरेका छन् ।
सबै दलको सह–अस्तित्व स्वीकार गर्दै सम्मानजनक रुपमा गठबन्धन गर्ने निर्णय समेत पाँच दलले गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले यस्तो निर्णय गरेका हुुन् ।
सबै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एकढिक्का भएर स्थानीय तहको निर्वाचनमा लाग्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । सयन्त्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्लास्तरमा निर्णय भएको छ । गठबन्धनले विस्तृत अध्ययन र अनुुसन्धान गरी पार्टीको यथार्थ मतको आधारमा सिट बाँडफाँड गर्ने जनाएको छ ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति खाँणको सभापतित्वमा भएको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, माओवादी केन्द्रका केन्द्रीय सदस्य मकसुुद अली, सोनिया यादव, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे (सागर), जिल्ला अध्यक्ष राम अवतार यादव, माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जि.सी., एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राजुु गुरुङ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेस जिल्ला उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij