२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

९ बुँदे माग राख्दै अनेरास्ववियुले बुझायो भैरहवा बहुमुखी क्याम्पस प्रमुखलाई ज्ञापनपत्र

बुधवार , चैत्र २३, २०७८


भैरहवा, २३ चैत ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले विभिन्न ९ बुँदे माग राख्दै मंगलबार क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियुले क्याम्पस प्रमुख अनिल कुमार झालाई उक्त ज्ञापनपत्र बुझाएको हो ।

कक्षाकोठाहरु पूर्ण रुपमा सरसफाई र स्वास्थ्यमैत्री हुनुपर्ने, कक्षाकोठामा रहेका सम्पूर्ण पंखाको व्यवस्थापन र बिग्रेको पंखा यथाशिघ्र मर्मत गर्नुपर्ने, शौचालयमा पूर्ण रुपमा सरसफाई हुनुपर्ने तथा शौचालयमा पानीको व्यवस्थापन हुनुपर्ने, पुस्तकालयमा पुस्तकमा लाग्ने जरिवाना रु २ रहेकोमा त्यसलाई घटाएर रु.१ हुनुपर्ने र होस्टलमा रहेका समस्याहरु शौचालय, पानीको मोटर, पंखासंग सम्बन्धित समस्या समाधान गर्नुपर्ने अनेरास्ववियुको माग छ ।

त्यस्तै कक्षाकोठामा प्राध्यापकहरु समयमा पुग्नुपर्ने, क्याम्पसमा विद्यार्थीहरुलाई मात्र नभइ प्राध्यापकहरुलाई पोशाक अनिवार्य गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयले दिदै आएको छात्रवृत्ति यथाशिघ्र सञ्चालनमा ल्याउनुपर्ने, विद्यार्थीबाट उठेको शुल्कबाट कार किन्ने भन्ने कुरा आएकाले यसलाई तुरुन्त रोक्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए ।

९ बुँदे मागलाई क्याम्पस प्रशासनले खेलठट्टाको रुपमा लिए अनेरास्ववियु सशक्त चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने न्यौपानेले चेतावनी दिए ।