images

शनिवार, बैशाख ८ गते २०८१

बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ

बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ

images
images
images
शनिवार, चैत्र २६ २०७८
शनिवार, चैत्र २६ २०७८
  • बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ

    रुपन्देही, २६ चैत ।  
    केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ ।

    images
    images
    images

    पछिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको बढ्यै छ । सङ्ख्या धेरै भएपछि सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न गाह्रो भइरहेको छ । सजिलै भर्ना हुने अवस्था नभएपछि नेताको भनसुन गराएर समेत बालबालिका भर्ना गराउन अभिभावक विद्यालय पुग्छन् । 

    समुदायले हेर्ने दृष्टिकोण बदल्न सामुदायिक विद्यालयले जोडतोडले मेहनत गरे, तीनै तहका सरकारले शिक्षामा लगानी गरे । बुटवलका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न बुटवल उपमहानगरपालिकाले विशेष लगानी ग¥यो र योजना बुन्यो । नयाँ संरचना निर्माण र विज्ञान प्रयोशाला  निर्माणले  सामुदायिक विद्यालयको मुहार नै फेरियो ।

    बुटवलको कान्ति माविमा अहिले झण्डै पाँच हजार विद्यार्थी अध्ययन गर्छन् । यस वर्ष गत वर्षभन्दा एक हजारले विद्यार्थी बढेका हुन् । दक्ष जनशक्ति, आवश्यक भौतिक संरचना र नतिजा राम्रो भएकै कारण विद्यालयमा आकर्षण बढेको कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवाली बताउँछन् । “संस्थागत विद्यायमा खर्च बढी छ । न्यूनतम खर्चमा गुणस्तरीय शिक्षा लिन सकिने भएपछि विद्यार्थी सामुदायिक विद्यालयमा आउँछन् ”, प्रअ ज्ञवालीले भने, “सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने सरकारको निर्णयले गर्दा पनि सकारात्मक प्रभाव परेको हो ।”

    सामाजिक विकास डिभिजन कार्यालय लुम्बिनी प्रदेश भैरहवाबाट गरिएको मूल्यांकनमा आर्थिक वर्ष २०७७/०७८ मा सो विद्यालय जिल्लाकै उत्कृष्ट ठहर भई पुरस्कृत भएको थियो । बुटवलकै नवीन औद्यागिक कदरबहादुर रिता माविमा पनि विद्यार्थीको चाप बढी छ । “विगतका वर्षमा भन्दा विद्यार्थीहरू अत्यधिक बढेका छन् अहिले राख्ने कोटा छैन”, प्रअ प्रेमबहादुर बस्नेत भन्छन् । उनका अनुसार विद्यालय २०७० सालमा देशका ३३ उत्कृष्ट सामुदायिक विद्यालयमध्ये १९औँ स्थानमा सूचीकृत भएको तथा २०७५ मा लुम्बिनी प्रदेशमा पाँचौंँ स्थानमा, रुपन्देही जिल्लामा द्वितीय स्थानमा र ब्रिटिस काउन्सिलबाट आइएसए २०१७–२०२० र २०२१ देखि २४ प्राप्त गरेको छ ।  

    अंग्रेजी माध्यममा अध्ययनअध्यापन गराइँँदै आएको सो सामुदायिक विद्यालयका करिब २२ जना विद्यार्थी यस वर्ष काठमाडौँसहित देशका विभिन्न इञ्जिनियरिङ क्याम्पसमा छात्रवृत्तिसहित अध्ययनका लागि छनोट हुन सफल भएका छन् । विद्यालयमा सिभिल इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, कानुन र शिक्षाशास्त्र संकाय गरी तीन हजार ६१५ विद्यार्थी अध्ययनरत तथा १४८ शिक्षक– कर्मचारी छन् । विद्यालयमा स्टाफ नर्सको पनि व्यवस्था गरिएको छ ।

    देशकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक  २०१८ सालमा स्थापित बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा शिक्षा, विज्ञान, कानुन, प्राविधिक शिक्षा र व्यवस्थापन संकायमा अध्ययनअध्यापन हुँदै आएको छ । विद्यालयका प्रअ दिनेश थापाका अनुसार चार पटक २०७१ सालदेखि लगातार चारपटकसम्म विद्यालय अन्तर्राष्ट्रिय स्कूल अवार्डबाट सम्मानित हुँदै आएको छ । यो देशभरका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट भई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट रु दुई  लाख पुरस्कारसहित पुरस्कृत भएको छ  । विसं २०७५ मा बुटवल – १० कै मानव ज्ञान माविसंँग गाभिएर कालिका मानव ज्ञान बनेको विद्यालयमा आठ हजार ७२ विद्यार्थी अध्ययनरत छन् ।“हामी विद्यार्थीलाई पढाउने भन्दा आफैँ सिक्न प्रेरित गर्छौँ र प्रोजेक्ट वर्कमा विशेष जोड दिन्छौँ, यो नै हाम्रो सफलताको आधार हो”, प्रअ थापा भन्छन् । 

    सानो चुहिने भवनबाट अध्ययनअध्यापन सुरु गरिएको बुटवल– ११ स्थित नहरपुर मावि पनि अहिले भौतिक र शैक्षिक दुवै हिसाबले अगाडि छ । विद्यालयमा नयाँ भवनसहित पुस्तकालय र प्रयोगशाला पनि निर्माण गरिएको छ । पाँच वर्षअघिसम्म झण्डै ६ सय विद्यार्थी रहेको विद्यालयमा अहिले एक हजार ५५० विद्यार्थीले अध्ययन गर्ने गरेको विद्यालयका प्रअ धनिश्वर गौतम बताउँछन् । “हामीकहाँ निम्न आय भएका विद्यार्थी धेरै छन् । पढ्न चाहने जो कोहीलाई पनि भर्ना लिने गरिएको छ”, प्रअ गौतम भन्छन् । विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारका लागि  उपमहानगरपालिकाले निकै सहयोग गरेको उनको भनाइ छ ।

    शैक्षिक गुणस्तरमा मुलुककै उत्कृष्ट हुन लागिपरेका यस क्षेत्रका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाको ‘सिंगंो बुटवल एक विद्यालय’को अवधारणाले थप बल मिलेको छ । स्थानीय सरकारको पर्याप्त साथ र सहयोगले सामुदायिक विद्यालयका सञ्चालक, शिक्षक र विद्यार्थी हौसिएका छन् ।

    सबै विद्यालयमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको प्रबन्ध गर्दै विद्यार्थीका लागि एकै खालका पोसाकको व्यवस्था गरिने उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य बताउँछिन् । उनका अनुसार शैक्षिक गुणस्तर वृद्धिको अभियानअन्तर्गत अब अब्बल शिक्षकले कुनै एक विद्यालयमा मात्र नभई नगरका आवश्यक पर्ने सबै विद्यालयमा पुगेर पठनपाठन गराउनुपर्ने छ । यसले शिक्षाको गुणस्तर विकासलाई प्रभावकारी बनाउने छ ।

    बुटवलमा स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ कक्षा १ देखि ८ सम्म लागू भएको छ । शैक्षिक स्तरवृद्धिका लागि  उपमहानगरका सहयोगमा सामुदायिक विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला निर्माण भएका छन् । उपप्रमुख आचार्यका अनुसार  रु  एक करोड ५० हजार बराबरका लगानीमा विभिन्न विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशालाको निर्माण गरिएको हो । 

    शैक्षिक गुणस्तरको विकासबाटै दक्ष जनशक्ति उत्पादन हुने र त्यसबाटै ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को अवधारणाबाट समृद्ध बुटवल निर्माणको लक्ष्य साकार पार्न सहज हुने प्रमुख शिवराज सुवेदीको जिकिर छ ।

    उपमहानगरका शिक्षा शाखा प्रमुख टीकाराम पन्थीका अनुसार शैक्षिक सुधारका लागि कुल बजेट करिब रु  ४० करोड विनियोजन गरिएको छ ।  यहाँका ९ सामुदायिक विद्यालयमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ लागु गरिएको छ ।  बुटवल माविमा, कम्प्युटर तथा सूचना प्रविधि व्यवस्थापनका लागि रु छ लाख ५० हजार, उजिरसिंह माविमा कम्प्युटर अर्थात् सूचना प्रविधि प्रयोगशालाका लागि उपमहानगरमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको समेत गरी रु २५ लाख विनियोजन भएको थियो ।

    लक्ष्मी मावि, नयाँगाउँ मावि, मोतीपुर मावि, भवानी मावि र  अमर माविमा विज्ञान प्रयोगशाला र कम्प्युटर तथा सूचना प्रविधि व्यवस्थापन कक्ष सञ्चालन भएका छन् । यसका लागि प्रतिविद्यालय रु छ लाख ५० हजारका दरले बजेट विनियोजन भएको थियो । यस्तै बुटवलकै जितेश्वरी माविमा रु ३० लाख बराबरका लगानीमा नयाँ भवन निर्माण भएको उपमहानगरका शिक्षा शाखा पन्थीले जानकारी दिए ।
    उजिरसिंह माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब रु २५ लाख बराबरका लगानीमा कम्प्युटर प्रयोगशाला निर्माण भएको छ  । उपमहानगरका ३८ वटै सामुदायिक विद्यालयमा नयाँ अवधारणाका साथ शैक्षिक विकासका कार्यक्रम सञ्चालन गरिएका छन् ।

    मोतीपुर माविमा अहिले ७२५ विद्यार्थी छन् । उपमहानगरबाट प्राप्त रु ६ लाख ५० हजार बजेटबाट विज्ञान प्रयोगशाला सञ्चालन गरिएको र आवश्यकताका आधारमा विस्तार गर्दै जाने विद्यालयको योजना छ । पछिल्लो समयमा विद्यालयमा विद्यार्थीको चाप बढेपछि अझै ६ कक्षाकोठाको अभाव विद्यालयलाई छ ।

    यस्तै बुटवल–१८ सौराहामा रहेको भवानी माध्यमिक विद्यालयको दुईकोठे भवन तयार भएको छ । सानो झुपडीबाट सुरु भएको विद्यालयमा अहिले आधुनिक भवन निर्माण भएको छ । प्रअ मञ्जु घिमिरेका अनुसार भौतिक पूर्वाधार मात्र नभई गुणस्तरका हिसाबले पनि विद्यालय अगाडि छ । विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु १८ लाख बजेटमा दुईकोठे भवन निर्माण गरिएको छ । 

    यस क्षेत्रका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तरमा प्रगति देखिएपछि अभिभावक पनि सन्तुष्ट छन् । “पहिले त छोराछोरी सरकारी स्कुल पढ्छन् भन्न पनि अप्ठ्यारो लाग्थ्यो तर अहिले गर्व लाग्छ”, अभिभावक राधिका खनाल भन्छिन् । अहिले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण फेरिएको उनको भनाइ छ ।

    स्थानीय तहका सहयोगमा नयाँ भवन निर्माण, विज्ञान प्रयोगशाला र पुस्तकालय निर्माणपछि विद्यालय पनि आकर्षक देखिएका छन् । यसले विद्यार्थीमा उत्साह जागेको छ । “बोर्डिङ स्कुलका भवनका तुलनामा हाम्रो स्कुल आकर्षक नहुँदा मन खिन्न हुन्थ्यो । अहिले त हाम्रै विद्यालय राम्रो लाग्छ”, नहरपुर माविका विद्यार्थी सुस्मिता विक अनुभव सुनाउँछिन् ।

    उपमहानगरपालिकाको योजनाबद्ध कामले बुटवलका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमूल परितर्वन आएको हो । शैक्षिक विकासका लागि पञ्चवर्षीय योजना बनाएर कार्यान्वयन गरेको उपमहानगरले सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा पु¥याउने लक्ष्य लिएको उपमहानगरका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख उपसचिव मित्रमणि खनाल बताउँछा् । त्यसका लागि उपमहानगरले छात्रवृत्ति, पुस्तक समयमै उपलब्धता, शिक्षकलाई प्रशिक्षण, विद्यालयको नियमित अनुगमन र शैक्षिक विज्ञसँंग सुझाव लिएर विद्यालय सुधारका काम गरिरहेको उनको भनाइ छ । 

    शैक्षिक गुणस्तर परीक्षण केन्द्रले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मुलुकमै उत्कृष्ट साबित गरेको छ । सामुदायिक माविको कार्यसम्पादनमा बुटवलले उत्कृष्ट नतिजा दिएको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरिबाट नमुना विद्यालयका रुपमा छनोट गरेका सामुदायिक विद्यालयको कार्यसम्पादनको परीक्षण गरेको थियो जसमा रुपन्देहीका १६ वटै पालिकाका करिब दुई सय विद्यालयसहित देशभरका ९९६ विद्यालय समावेश भएका थिए । बुटवल ८३ दशमलव २ अंक ल्याउदै प्रथम बनेको हो । 

    विद्यालयको भौतिक संरचना, शिक्षकको योग्यता तथा उपलब्धता र समुदायबाट विद्यालयलाई प्राप्त भौतिक सहयोगलाई लगानी मानेर मूल्यांकन गरिएको थियो ।  बुटवलका २० सामुदायिक विद्यालयको मूल्यांकन गरिएको थियो । रुपन्देहीसहित देशैभरका पालिकाबाट बुटवल उत्कृष्ट भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ । 

    महाशाखा प्रमुख खनालका अनुसार विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताको तलबभत्ता मासिक रूपमा भुक्तानी गर्ने व्यवस्थादेखि नै परिवर्तन सुरु गरिएको हो ।  पहिले शिक्षकले तलब पाउन चार महिना कुर्नुपर्ने बाध्यता थियो ।

    सामुदायिक विद्यालयमा अध्ययनरत १३ हजार ५७२ विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तकको रकम विद्यालयको खातामा निकासा गर्ने गरिएको छ । पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुर्याउन प्राथमिकता दिइएको छ । यसअघि त्रैमासिक परीक्षा सकिँदासम्म विद्यार्थीले पुस्तक पाएका थिएनन् ।

    शिक्षाको नीतिगत र कानुनी मान्यतासहितको विकासका लागि नगर शिक्षा ऐन कार्यान्वयनमा छ जसले संस्थागत विद्यालयमा पढ्ने बालबालिकाका लागि समेत १० प्रतिशत जेहेन्दार तथा लक्षित समूहका विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था गरेको छ । परीक्षाको नियमित अनुगमन, निरीक्षण र  पृष्ठपोषणका काममा जनप्रतिनिधि आफैँ खटिने गरेका छन् । कम दरबन्दी रहेका केही विद्यालयमा ११ शिक्षकको व्यवस्था उपमहानगरले गरेको छ । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्न शिक्षक मात्रै नभएर जनप्रतिनिधि नै खटिने व्यवस्था गरिएको छ ।

    बुटवलले बालबालिकाले लिएको शिक्षाको गुणस्तरीयता मापनका लागि सबै सामुदायिक विद्यालयमा कक्षा २ र ३ मा अध्ययन गर्ने २०/२० विद्यार्थीमा पठनसीपमा आधारित परीक्षण सञ्चालन गर्ने गरेको छ । यसको नतिजाले शिक्षामा सुधार हुँदै गएको देखिएको छ । शैक्षिक पात्रो र  विज्ञ समूह निर्माण र छलफल, विद्यालयलाई पृष्ठपोषणका काम नियमित हुँदा विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार देखिएको हो । धार्मिक, वैकल्पिक तथा विशेष विद्यालयलाई नगर स्रोतबाट अनुदान उपलब्ध गराउने गरिएको छ । उपमहानगरले विद्यालय र शिक्षकलाई प्रोत्साहन गर्न उत्कृष्ट अंक ल्याउनेलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ ।

    बुटवलमा तीन मदरसासहित ३८ सामुदायिक विद्यालय छन् ।  बालविकास केन्द्र ६१  तथा संस्थागत विद्यालय ५७ छ  ।  सबै विद्यालयमा करीब ५८ हजार विद्यार्थीले पठनपाठन गर्दै आएको उपमहानगरपालिकाको तथ्यांक छ । रासस

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij