२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले अरुसँग तालमेल नगर्ने

सोमवार , चैत्र २८, २०७८

बुटवल, २८ चैत ।
लुम्बिनी प्रदेशका गठबन्धन दलहरूले गठबन्धन भन्दा बाहिरका दलहरूसँग तालमेलको ढोका बन्द गरेका छन् । बुटवलमा बसेको पाँच दलीय गठबन्धनको बैठकले चुनावी गठबन्धनका दलको प्रतिनिधित्व हुने गरी चुनाव प्रसार संयन्त्र बनाउने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । 

बैठकले जिल्लास्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय पनि गरेको छ । 

चुनावको अनुगमनका लागि बैठकले संयुक्त स्थलगत अनुगमन कार्यदल बनाएको छ । जसमा नेपाली कांग्रेसका राजु खनाल, नेकपा (माओवादी केन्द्र) का लुमकान्त न्यौपाने, नेकपा (एकीकृत समाजवादी) का अशोक कोइराला, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अशोक कुमार यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन् ।

कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, एकीकृत समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोक कुमार यादव र राष्ट्रिय जनमोर्चा नेपाल उपाध्यक्ष बद्री आलम बैठकमा सहभागी थिए । 

बैठकले ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धि गणतन्त्र प्रतिगमनका कारण धरापमा परिसकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त भई नसकेको निष्कर्ष निकालेको छ । 

‘यस कारण आन्दोलनको उपलब्धि रक्षाका लागि गठबन्धनको आवश्यकता र अपरीहार्यता त बढ्दै गइहेको छ, आजको बैठकमा परिवर्तनका उपलब्धि र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथि अझै बढी जिम्मेवारी थपिएको महसुस गर्दै मिति २०७८ साल चैत्र २८ गते लुम्बिनी प्रदेशस्तरीय तपशील बमोजिमका चुनावी गठबन्धन दलहरुमा आबद्ध नेताहरुको उपस्थितिमा बैठकबाट आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने निर्णय गरियो’–बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।