२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

शुद्धोधनमा जसपाको चुनाव प्रचारप्रसार कार्यालय स्थापना

शुक्रवार , बैशाख २, २०७९

बुटवल, २ वैशाख ।
जनता समाजवादी पार्टी, नेपालको रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिका कार्यसमितिले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पालिकास्तरीय चुनाव प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय स्थापना गरेको छ । बिहीबार एक कार्यक्रममार्फत पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले शुद्धोधन–६, मानपकडीस्थित बकुली चोकमा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कार्कीले काँग्रेस, कम्युनिष्ट जस्ता पुराना पार्टीहरुले राजनीतिलाई समाज सेवा नभई कमाइ खाने भाँडो बनाएर राजनीतिमा अनेक विकृति र विसंगति भित्र्याएकाले जनता समाजवादी पार्टीले ती विकृति विसंगतिको अन्त्य गर्दै जनताको चाहना बमोजिमको विकास, समृद्धि, उन्नति र प्रगति ल्याउने बताए । उनले देशमा राजनीतिक परिवर्तनसँगै भएको राज्यको पुनर्संरचनाले आम गरिखाने जनताको दैनिकी सुधार गर्नुपर्नेमा त्यस्तो हुन नसकेकोले अब जनताको अवस्था फेर्ने राजनीति आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष राम अवतार यादवले जनताको इच्छा, चाहना र आकांक्षा सम्बोधन गर्न जसपा अग्रसर हुने बताउँदै आउँदो चुनावबाट रुपन्देही जिल्लामा जसपा पहिलो पार्टी बन्ने दावी गरे ।

कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष पदम विश्वकर्मा, जिल्ला कोषाध्यक्ष श्याम बहादुर चौधरी, गाउँ कमिटीका अध्यक्ष तौलेश्वर लोध, सचिव तुलसीराम यादव, प्रमुख सल्लाहकार भरथरी यादव, वडा नंम्ब ६ का निर्वाचित वडाध्यक्ष जयशंकर पाठक, सोभनाथ पाण्डेय, राम बहादुर विश्वकर्मा लगायतले बोल्दै अबको निर्वाचनमा जनता समाजवादी पार्टीले शुद्धोधन गाउँपालिकामा ऐतिहासिक विजयी हासिल गर्ने बताए ।