
शनिवार , बैशाख ३, २०७९
भैरहवा, ३ वैशाख ।
रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा (एमाले) लगायत विभिन्न पार्टी परित्याग गरी ३२५ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
राप्रपा सियारी गाउँपालिका कार्यसमितिले शनिबार सियारी–२ स्थित अमारीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ३२५ जना राप्रपामा प्रवेश गर्नुभएको पार्टीका क्षेत्र नम्बर ३ अध्यक्ष प्रेमनारायण चौधरीले बताए । उनीहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, क्षेत्रीय अध्यक्ष प्रेम नारायण चौधरी, सियारी गाउँ कार्यसमितिका अध्यक्ष भोला प्रसाद थारु लगायतले पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले विगत पाँच वर्षमा जनताको पक्षमा काम हुन नसकेकोले राप्रपालाई जिताउन आग्रह गरे । उनले भने, ‘विगत पाँच वर्षमा विकासका काम हुन सकेनन्, विकासको नाममा भ्रष्टाचार बढेको छ, त्यसैले अब सोच्नुपर्ने बेला आइसकेको छ, राप्रपा जित्दा पनि राप्रपा छ र हार्दा पनि राप्रपा नै छ ।’ नेता गुप्ताले राप्रपा भ्रष्टाचारमुक्त नेपाल बनाउने अभियानमा लागेको बताए ।
पार्टी रुपन्देही जिल्ला सचिव बलराम शर्माले भ्रष्टाचारलाई निर्मुल गर्ने अठोटका साथ राप्रपा अगाडी बढेको बताए । उनले राप्रपाबाट निर्वाचित जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने जिम्मेवारी पार्टी लिने दावी गरे ।
पार्टीका क्षेत्र नम्बर ३ का अध्यक्ष प्रेमनारायण चौधरीले राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको दावी गरे । उनले राप्रपाको विजय भए मात्र जनताको विजय हुने बताए । पार्टीले जित्दा विकास निर्माणका कार्य अगाडी बढ्ने उनको भनाइ थियो ।
राप्रपा सियारी गाउँ कार्यसमितिका अध्यक्ष भोला प्रसाद थारुको अध्यक्षता, राप्रपा नेता तथा सियारी गाउँपालिका वडा नम्बर १ का वडा सदस्य धनराज शर्माको स्वागत तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij