२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चाडपर्व मनाउन सिद्धार्थनगर नगरपालिकाको आग्रह

बुधवार , कार्तिक २६, २०७७

भैरहवा, २६ कार्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दिपावली, नेपाल संवत र छठ पर्व सुरक्षित तरिकाले मनाउन सबै नगरबासीमा आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेकाले सुरक्षित हुन नगरपालिकाले आग्रह गरेको हो ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चाडपर्व मनाउन सिद्धार्थनगर नगरपालिकाको बैठकले निर्णय गरेको छ । देउसीभैलो लगायतका कुनै पनि सांस्कृतिक कार्यक्रम नगर्न/नगराउन पनि बैठकले निर्णय गरेको छ । जुवातास जस्ता सामाजिक विकृतिजन्य क्रियाकलाप नगर्न/नगराउन पनि नगरपालिकाको आग्रह छ ।

नगरप्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले चाडपर्व मनाउदा जो जहाँ छ त्यही बसेर मनाउन पनि आग्रह गरेको छ । पटका लगायतका बिष्फोटक पदार्थहरु खरीदविक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाउने पनि नगरपालिकाले निर्णय गरेको छ । 

होटल रेष्टुरेण्ट बारहरु राति ९ बजेपछि बन्द गर्न नगरपालिकाले आग्रह गरेको छ । फुटपाथमा स्टल लगाउने कार्य बन्द गर्ने, सार्वजनिक स्थलमा लक्ष्मीको मुर्ति स्थापना नगर्न आग्रह गरेको छ । सार्वजनिक स्थानमा डिजे लाइभ म्युजिक कार्यक्रमहरु नगर्ने/नगराउने पनि निर्णय गरेको छ ।

नगरपालिकाले गरेका निर्णय लागू गराउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई सहयोग गर्न आग्रह गर्ने पनि बैठकले निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।