images

मंगलवार, बैशाख ११ गते २०८१

बुटवलमा कांग्रेसले फर्कायो शाख, खेलराज पाण्डे भारी मतअन्तरले विजयी

बुटवलमा कांग्रेसले फर्कायो शाख, खेलराज पाण्डे भारी मतअन्तरले विजयी

images
images
images
शनिवार, जेठ ७ २०७९
शनिवार, जेठ ७ २०७९
  • बुटवलमा कांग्रेसले फर्कायो शाख, खेलराज पाण्डे भारी मतअन्तरले विजयी

    बुटवल । नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशकअघिको शाख फर्काएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा भारी मत अन्तरले कांग्रेसका उम्मेदवार खेलराज पाण्डे जित हासिल गरेका छन् । 

    images

    यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मत अन्तरले पराजित भएका पाण्डेले यसपटक अघिल्लोभन्दा तेब्बरभन्दा बढी मत अन्तरले जितेका हुन् । 

    पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गरे । पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले निकै खुम्चिएको छ । 

    बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् । 

    बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले २ दशकपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन सफल भएको छ । यसअघि बुटवलमा २०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बनेका थिए । २०५४ सालमा भएको स्थानीय चुनावमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भएका थिए । 

    मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर सांसद बने । त्यसबेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित भएका थिए । 

    २०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित भएका थिए ।

    पछिल्लो समय नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर समेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्थ्यो । २०६४ र २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित भएका थिए । ८ वर्षअघिको चुनावमा हारेका पौडेल २०६४ सालको संविधान सभाको चुनावमा बुटवलसमेत रहेको निर्वाचन क्षेत्रबाटै विजयी भएका थिए । उक्त पहिलो संविधान सभाको निर्वाचनमा माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा झरेको थियो ।  

    तर, २०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेको विरासतलाई ढलाएका पाण्डेको जितले बुटवलमा एमालेको शक्तिलाई आँकलन गरिएभन्दा बढी कमजोर बनाएको छ । पाण्डेको जितसँगै बुटवलबाट एमालेको दबदबा हटेको छ ।  बुटवलमा पाण्डेले जितेसँगै आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको शक्ति समेत एमालेबाट खोसिने संकेत देखिएको छ । 

    को हुन् खेलराज पाण्डे ? 

    Khelraj 333.jpg
    बुटवल उपमहानगरपालिकाका नवनिर्वाचीत मेयर पाण्डेय


    ५ फागुन २०२६ मा बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी– २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका– ६ का बासिन्दा हुन् । 

    १३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आबद्ध भई स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन् ।

    आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए ।

    त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन् ।

    विद्यार्थी राजनीतिपछि तरुण दलमा आबद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए । 

    २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन् ।

    श्रीमती सीता भट्टराई पाण्डे र छोरा अभिषेक पाण्डेका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् । बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र तल्लो टोल कमिटीसम्म परिचित व्यक्ति हुन् ।

    जीवनयात्रा 
    नाम – खेलराज पाण्डेय
    जन्म – बिस २०२६ फागुन ५ गते
    बुबा –लिलाबल्लभ पाण्डेय
    आमा – तारादेबी पाण्डेय
    स्थान – साबिक आलमदेबी २ हाल कालिगण्डकी २
    श्रीमती –सीता भट्टराइ (पाण्डेय)
    छोरा –अभिषेक पाण्डेय
    शिक्षा –स्नातकतह
    निवास – बुटवल ६ रुपन्देही

    राजनीति
    –२०३९ बाट आरम्भ
    – आदर्श माबि स्याङजा नेबिसंघ सदस्यता बिस २०३९
    –जनता माबि पाल्पा जेभिटी नेबिसंघ समिति २०४०
    –त्रिबिमा बिज्ञान संकाय पाल्पा इकाइ २०४३
    –अमृत साइन्स क्याम्पस काठमाडौं नेबिसंघ सचिब २०४४—२०४६
    –२०४७ बुटवल बहुमुखी क्याम्पस नेबिसंघ उपसभापति
    –२०५२ नेबिसंघ सचिव रुपन्देही
    –२०५९ तरुण दल जिल्ला अध्यक्ष
    –२०६० तरुण दल केन्द्रिय सदस्य
    –२०६७ मा नेपाली कांग्रेस नगर सभापति बुटवल
    –२०७२ नगर विकास समिति बुटवलको अध्यक्ष
    –२०७२ नेपाली कांग्रस बुटवल उपमहानगर समितिको सभापति (दुई कार्यकाल)

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij