२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

बुधवार , जेठ २५, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • रुपन्देही । केही महत्वाकांक्षी र केही पुराना कार्यक्रम दोहोराउँदै लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    सरकारले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, स्मार्ट कृषि गाँउ कार्यक्रम,  जस्ता पुराना कार्यक्रम दोहोराएका छन्। यस्तै सरकार प्रस्तुत गरेको कार्यक्रममा प्रदेशको स्थायि राजधानी निर्माण तथा व्यवस्थापन, रामपुर–कपुरकोट सडक निर्माणजस्ता महत्वाकांक्षी कार्यक्रम समावेश छन् ।

    ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । नीति तथा कार्यक्रममा राप्ती उपत्यका दाङमा प्रदेशको स्थायी राजधानी व्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, प्राविधिक जनशक्ति उत्पादन र विकास गर्न लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना, रामपुर–कपुरकोट सडक लाई प्रादेशिक गौरवको आयोजनाका रुपमा विकास गरी कार्यान्वयन गरिने उल्लेख छ । यस्तै नीति तथा कार्यक्रममा नौमुरे वहुउद्देश्यीय जलाशययुक्त परियोजनालई संघीय सरकारसंगको समन्वयमा अघि बढाउने, लगानीमैत्री वातावरण निर्माण, उत्पादन र उत्पादकत्व बृद्धि पुर्वाधार निर्माण,खानेपानी र विद्युतमा पहुुच, रोजगारी सिर्जना, गरिबी न्यूनिकरण र सुशासनलाई प्रवद्र्धन गर्ने प्राथमिकतामा राखिएको छ ।

    बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर वृहत बुद्ध सर्किट तथा प्रदेशका सबै जिल्लाका पर्यटकीय गन्तव्य जोडिने गरी ऐतिहासिक बाइसे चौबिसे पर्यटकीय सर्किट अघि बढाइने, गौतमबुद्ध विमानस्थलमा प्रदेशका पहिचान झल्किने खालका स्थानीय उत्पादन विक्रिका लागि नीजि क्षेत्रलाई कोशेली घर सञ्चालन गर्न दिने, प्रदेशका प्रमुख शहरहरु जोड्ने रुटहरुमा विद्युतीय बस सञ्चालन गर्न यातायात कम्पनी स्थापना गर्ने योजना अघि सारेको छ । यस्तै एक स्थानीय तह एक नमूना कृषि वन, एक जिल्ला एक नमूना जडिबुटी उत्पादन, बेरोजगारलाई रोजगार साथमा छ प्रदेश सरकार अन्तर्गत गरिखाने कार्यक्रम, डिजिटल प्रदेशको  आधार हात हातमा प्रदेश सरकार, समृद्धिका लागि सञ्चार अभियान सञ्चालन, प्रदेश चलचित्र विकास बोर्ड गठन, एकीकृत भौगोलिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन, नागरिकका गुनासा सुन्न हेल्लो मुख्यमन्त्री कक्ष सञ्चालन, एक स्थानीय तह, एक वन नर्सरी लगायतका कार्यक्रम समेटिएका छन् । 

    हाम्रो नक्कल आयो, कार्यान्वयन गर्ने वजेट आउंदैन :  एमाले 

    नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले नीति तथा कार्यक्रम आफ्नो सरकारको नक्कल गरेर आएको र नयां केही नभएको टिप्पणी गरेका छन् । एमाले नेतृत्वको सरकारकै नक्कल गरेर ल्याएको हुनाले नीति तथा कार्यक्रमबारे नकारात्मक टिप्पणी गर्ने अवस्था नभएको तर नीतिभित्र वजेट आउंछ कि आउन्न भन्ने मुख्य कुरा भएको चौधरीले बताए । ‘हामीले प्रस्तुत गरेकै कपी गरेर आएको छ, नयां केही छैन’–चौधरीले भने–‘तर नीति अनुसार वजेट ल्याउने छांट र क्षमता सरकारको छैन ।’ नीति तथा कार्यक्रममा ठूला ठूला योजना देखाउने तर वजेटमा खुद्रे योजनालाई रकम छुट्टाउने गठबन्धन सरकारको नियत अघिल्लो वजेटमै देखिएकाले कार्यान्वयन नहुने चौधरीले ठोकुवा गरे ।  

    विपक्षी नेता पोखरेल अनपुस्थित

    प्रदेश सभामा सरकारले नीति तथा कार्यक्रम पेश गर्दा विपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेल अनुपस्थित भएका छन् । पोखरेल लुम्बिनी सरकारका पूर्व मुख्यमन्त्री तथा एमालेका महासचिव समेत हुन् । मुख्यमन्त्रीबाट हटेपछि उनी निकै कम मात्र प्रदेश सभाको बैठकमा उपस्थित हुने गरेका छन् ।

    ‘योजना आयोगसँग न छलफल न परामर्श’

    प्रदेश सरकारले  नीति तथा कार्यक्रम बनाउंदा प्रदेश योजना आयोगसंग संस्थागत छलफल र परामर्श नगरेको भन्दै आयोगका सदस्य रुष्ट भएका छन् । आयोगका सदस्य डा. दामोदर भुसालले कुनै जवाफदेहिता लिनु नपर्ने गरीे मनपरी ढंगको नीति तथा कार्यक्रम आएको टिप्पणी गरे । ‘मुख्यमन्त्री र मन्त्रालयहरुले योजना आयोगका सदस्यहरुसंग संस्थागत हिसाबले न छलफल गरे न परामर्श गरे’–डा. भुसालले भने–‘संघीयता र प्रदेशको भूमिकालाई कमजोर बनाउनेगरी सरकार अघि बढेको छ,यसमा या त मुख्यमन्त्री या आयोग उपाध्यक्षको बद्मासी छ ।’ आयोगका उपाध्यक्ष माओवादी केन्द्रका वामदेव क्षेत्री छन् ।