२०८३, मंसिर ७ गते

Nov 23 2026 | २०८३, मंसिर ७ गते

मानव बेचबिखन नियन्त्रण विधेयकमा महिला र यौनिक अल्पसंख्यकको अधिकार समेट्न पौड्यालको सुझाव

सोमवार , मंसिर ७, २०८३

  • 148
    Shares
  • 148
    Shares
  • भैरहवा, ७ मंसिर । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका पनि विधेयकमा स्पष्ट रूपमा समेट्नुपर्ने बताउनुभएको छ ।

    सोमबार महिला तथा सामाजिक मामिला समितिमा दफावार छलफलका क्रममा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि संशोधनकर्तासहितको छलफलमा सहभागी हुँदै उहाँले रोकथाम, पीडितको पुनस्र्थापना तथा संरक्षणका विषयमा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

    उहाँले मन्त्रालयले निर्देशिका तथा मापदण्ड बनाउने व्यवस्था राखिए पनि प्रदेश र स्थानीय सरकारले समेत सोहीअनुरूप निर्देशिका तथा मापदण्ड लागू गर्न सक्ने व्यवस्था थप्न सुझाव दिनुभयो ।

    सांसद पौड्यालले मानव बेचबिखनका पीडित महिला, बालबालिका तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको अधिकार र गोपनीयता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । बालबालिकाको हकमा उनीहरूले दिएको स्वीकृति मान्य नहुने व्यवस्था भए पनि महिलाको हकमासमेत लिखित सहमतिको प्रावधान राख्नुपर्ने उहाँको सुझाव थियो ।

    पीडितले न्यायका लागि विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर सञ्चारमाध्यममा आउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले पीडितको गोपनीयता र पहिचानको अधिकार संरक्षण गर्नुपर्ने बताउनुभयो ।

    त्यस्तै सामाजिक सञ्जालमा पीडितका तस्बिर तथा व्यक्तिगत विवरण सार्वजनिक गर्ने र भाइरल बनाउने प्रवृत्तिले गोपनीयताको हनन हुने भन्दै उहाँले यसलाई नियन्त्रण गर्न कानूनी व्यवस्था आवश्यक रहेको औंल्याउनुभयो । यसका लागि साइबर अपराधसम्बन्धी कानूनी व्यवस्थालाई पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

    विधेयकमा तोकिएको १० हजारदेखि २५ हजार रुपैयाँसम्मको सजायलाई बढाएर १० हजारदेखि ५० हजार रुपैयाँसम्म पुर्याउनुपर्ने सुझाव दिँदै उहाँले सजायको प्रभावकारिताले यस्ता गतिविधि नियन्त्रणमा सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले मानव बेचबिखन नियन्त्रणसम्बन्धी कानूनमा महिला, बालबालिका तथा यौनिक र लैंगिक अल्पसंख्यक समुदायको संरक्षण, लिखित सहमति र गोपनीयताको विषयलाई थप स्पष्ट बनाउनुपर्नेमा जोड दिनुभयो ।