सोमवार , मंसिर ७, २०८३
भैरहवा, ७ मंसिर । प्रतिनिधि सभा सदस्य पुनम कुमारी अग्रवालले भैरहवाबाट हवाईमार्ग दुईतर्फी सञ्चालन गर्ने सहमतिले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य उज्जवल रहेको सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार भारतले बी–३४५ हवाई मार्ग अर्थात् काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी दिने सहमति भएको छ ।
यसले गौतमबुद्ध विमानस्थलबाट अब भारतका सहरहरुमा उडान भर्न सहजता ल्याउने उहाँको विश्वास छ । ‘दशकपछि हामीले अर्को एयर रुट पाएका छौं, त्यो पनि भैरहवाबाट’, सांसद अग्रवालले भन्नुभयो, ‘यो सहमतिले रुपन्देही मात्रै होइन्, सिंगो मुलुकको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास छ ।’ उहाँले अब भैरहवाबाट लखनउ उडान हुने विश्वास व्यक्त गर्नुभयो ।
सहमतिअनुसार प्राविधिक कुरा छिट्टै टुंग्याइनेछ । सांसद अग्रवालले प्रतिनिधि सभा बैठकमा गौतमबुद्ध विमानस्थलबारे निरन्तर आवाज उठाउँदै आउनुभएको थियो । विमानस्थल नचल्दा निजी क्षेत्रको लगानी डुबेको भन्दै उनले चिन्ता व्यक्त गर्दै आउनुभएको थियो । त्यस्तै नेपालका विभिन्न मन्त्रालय, भारत लगायत विभिन्न देशका कुटनीतिक नियोगका उच्चपदस्थहरुसँगको भेटघाटमा पनि उहाँले विमानस्थल सञ्चालनका विषयमा छलफल गर्दै आउनुभएको थियो ।
प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक रुपमा सफल भएको उल्लेख गर्दै सांसद अग्रवालले भन्नुभयो–‘धेरै महत्वपूर्ण योजनाहरु सञ्चालन गर्ने सहमति भएको छ । आर्थिक सहायता पनि आएको छ । यो निकै सकारात्मक कुरा हो । हामी भैरहवाबासीका लागि एयर रुट अझै महत्वपूर्ण छ ।’
लुम्बिनी लगायतको पर्यटकीय विकास, निजी क्षेत्रको लगानी संरक्षण र आर्थिक क्षेत्रलाई चलायमान बनाउन पनि विमानस्थल संचालन जरुरी रहेको उहाँले बताउनुभयो । ‘एयर रुटले सम्भावनाको ढोका खोलेको छ, अब भैरहवामा आवश्यक कार्यालयहरु स्थापना गरेर विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘यस विषयमा सरकार गम्भीर छ । जनताको प्रतिनिधिका हिसावले हामीले पनि यसमा प्रयास निरन्तर गर्छौं ।’ उहाँले निजी क्षेत्रलाई निराश नहुन आग्रह गर्दै सरकारले बोलेर नभइ काम गरेर प्रमाणित गर्ने बताउनुभयो ।
सहमतिअनुसार उक्त हवाई ार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन आवश्यक पर्ने कार्यविधि तथा ढाँचालाई अन्तिम रुप दिन दुवै देशबीच छिट्टै प्राविधिक परामर्श गरिने भएको जनाइएको छ । ‘सोही प्राविधिक परामर्शमार्फत हाल दुवै पक्षबाट छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावहरुलाई समेत सम्बोधन गरिने सहमति भएको छ’, सांसद अग्रवालले भन्नुभयो–‘विश्वास गरौं यसले पनि गौतमबुद्ध विमानस्थल चाँडै नै सञ्चालनमा आउँछ ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij