२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

आइतवार , जेठ २९, २०७९

रुपन्देही, २९ जेठ ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज प्रदेश सभाको बहुमत संख्याले पारित गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनद्वारा गत जेठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको हो ।  सभाुमख पुर्ण बहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाकाको बहुमत संख्याले पारित गरेपछि अब नीति तथा कार्यक्रम पारित भएको हो ।

सभामा सम्वोधनको क्रममा मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्बोधन गरिने गरी नीति तथा कार्यक्रम लिइएको बताउँदै लुम्बिनीको प्रदेशका सदस्यहरुलाई लुम्बिनीको विकासका लागि एकताबद्ध भएर लाग्न आग्रह गरे ।

लुम्बिनी प्रदेश सरकारले समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी भन्ने मूल नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि नै लागेको बताउँदै अझै आगामी वर्षको बजेटमा परिमार्जित र परिकृष्ट बनाउनको लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

मुख्यमन्त्री केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासमा एक हुनका लागि आग्रह गरे । उनले केही समय लुम्बिनी प्रदेशमा आन्तरिक मतभेद भए पनि सो पनि विकास र राजनीतिकलाई स्थापित गर्नका लागि भएको भन्दै आगामी दिनमा समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी बनाउनको लागि लाग्न प्रदेश सभा सदस्यहरुलाई अपिल गरे ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले चुनावी सरकारले दीर्घकालीन महत्वका र पूरा हुन नसक्ने योजनाहरु ल्याएको भन्दै आलोचना गरेका थिए । उनीहरुले नीति तथा कार्यक्रम एमालेकैै सरकारको नक्कल गरिएको र कुनै नयाँ कार्यक्रम नभएको बताउँदै नीतिअनुसार बजेट आउनेमा आशंका गरेका थिए ।