
शुक्रवार , मंसिर ५, २०७७
एक वर्ष भइसकेछ । एउटा विशुद्ध प्राविधिक विषयमा विज्ञता हासिल गरेको चिकित्सक, मलाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको प्रमुख मेडिकल सुपरीटेण्डेण्टको जिम्मवारीमा प्रदेश सरकारको क्याबिनेटबाट नियुक्त गरिएको थियो । सायद मलाई यस पदमा नियुक्त गरिंदा मैले पहिले पनि तत्कालिन लुम्बिनी अञ्चल अस्पतालको छोटो समय निमित्त प्रमुखको भुमिकामा गरेका कामहरूको पृष्ठभुमि, यहीं भेगमै म जन्मेको र हुर्केको र आफ्नो काममा एउटा धुनमा लाग्ने बानीले होला जस्तो लाग्छ । ११० वर्षको इतिहास बोकेको यो एउटा सरकारी अस्पतालको मुख्य सेवाहरु ५३ साल जति गुजारेको भवनबाट भइरहेको छ । यो अस्पताललाई प्रदेश सरकारले देश संघीय संरचनामा रुपान्तरण हुँदा समकक्षी अस्पतालहरुले संघीय अस्पतालको हैसियत पाउँदा प्रदेश अन्तर्गत राखिएकोले प्रदेशको महत्वपूर्ण स्थानबाट धेरै बिरामीको सेवा दिइरहेको देखेर होला प्रादेशिक भए पनि विशिष्टीकृत सेवा दिनेस्तरमा विकास गर्न गौरवको एउटा परियोजनामा राख्यो ।
तदनुरुप मुख्य भवन भएको ठाउँमा १० तल्ले ७०० बेड क्षमतासम्मको अत्याधुनिक अस्पतालको संरचनाको गुरुयोजना (मास्टर प्लानिङ) तयार पनि भयो । यो परियोजनालाई मूर्त रुप दिन प्रदेश पूर्वाधार प्राधिकरणमा ५ महिनामा काम सक्ने गरी टेण्डर प्रक्रियाबाट छनौट भएको कन्सल्ट्यान्सी बिल्डर्स एन्ड डिजाइन अथोरिटीसंग हालै डीपीआर विस्तृत योजना प्रतिवेदन तयार गर्न सम्झौता सम्पन्न भएको छ । त्यसपछि यो ठाउँमा सोही अनुसारको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढ्नेछ । सबै परिस्थिति अनुकुल रहे आगामी ३ देखि ५ वर्षभित्र यस्तो अस्पताल बन्न सक्ने अनुमान गर्न सकिन्छ । यस्तो सरकारी अस्पतालले बुटवललाई छ्ट्टै पहिचान दिन सकोस् र सबै तप्काका सेवाग्राहीले सेवा पाउन सक्ने स्तरको बनोस्, यहीं भेगको बासिन्दा भएकोले पनि मेरो कामना छ । के सरकारी भन्ने बित्तिकै बेथितिको, फोहोर, पहुँचवालाले सोर्स फोर्सको भरले नसक्नेलाई मिचेर सुविधा पाउने र नसक्नेहरुले बोली र व्यवहारले सधैं पीडा भोग्ने हुनुपर्छ र ? यो त सिस्टमले चल्ने पो बनाउनुपर्ने हुन्छ । सक्नेहरुले नसक्नेको निम्ति सहयोगी बन्ने सिस्टम बन्नको लागि आम सचेत नागरिकले आफ्नो जिम्मेवारीको कर्तव्य निर्वाह पनि गर्नुपर्छ ।
१ वर्षको अवधिमा अस्पतालको सेवा विस्तार जस्तै ः डायलाइसिस सेवाको सुरुवात, पोष्ट अपरेटिभ अब्जर्भेशन वार्ड स्थापना, सर्जिकल वार्ड नयाँ ठाँउमा स्थानान्तरण,, अत्याधुनिक एमआरआइ मेशिन पनि राख्न सकिने गरी रेडियोलोजी कक्षको निर्माण, इमर्जेन्सी कक्षको बिस्तार, २४ बेडबाट ३६ मा सुधार, गुरुयोजना मुताबिक नयाँ संरचना बन्दा अस्पतालको परिसरमा रहेका व्यापारिक सटरहरुको व्यवस्थापन र पर्खाल निर्माणको कामको सुरुवात, बाँकी रहेका संरचनामा कोरोनाको विश्वव्यापी महामारीमा ओपीडी कक्षहरुको निर्माण, गेटबाट इमर्जेन्सीसम्म पुग्न अपांगमैत्री बाटोको निर्माण, कोभिडको सन्दर्भमा फिभर क्लिनिक, फिभर आइसोलेशन वार्ड, कोभिड डायलाइसिस कक्ष, कोभिड अप्रेशन थिएटर निर्माण, पीसीआर ल्याब स्थापना र टेष्टको सुरुवात मुख्य अस्पतालकै परिसरमा गरिएको छ । यी कामको अतिरिक्त मुख्य अस्पतालबाट छुट्टै कोभिडका बिरामीको उपचार व्यवस्थापनको लागि १८ बेड्को डेडिकेटेड आइसीयूसहित थप ३६ बेडको अस्थायी कोरोना अस्पताल धागो कारखाना भएको ठाउँमा गरिएको छ ।
यो अवधि निकै चुनौतीपूर्ण रह्यो । नसोचेको कोरोनाले संसारलाई त्राहीमाम पा¥यो । हाम्रो जस्तो स्रोत कम भएको ठाउँमा यो आफ्नो ठाउँको अस्पतालको रुप फेरेरै छोड्छु भन्ने संकल्प बोकेर खटेको मलाई पनि संक्रमित बनायो । कोभिडको बिरामीको रूपमा अक्सिजनको मात्रा शरीरमा कम हुँदा के के हुंदो रहेछ, अनुभुति दियो । जीवनप्रति सोंच्ने बनायो । सौभाग्यले जीवन फर्केर आयो । यहीं अस्पतालसंग नाम जोडिएका सेवा निवृत्तदेखि हाल कार्यरत म भन्दा उमेरले परिपक्व संक्रमित चिकित्सक साथीहरू आफ्नो सुरक्षित उपचारको लागि काठमाडौ पुग्नुप¥यो । म भने आफ्नै जिद्दी र यहाँ मलाई सेवा दिनुभएका साथीहरूप्रतिको भरोसाले यहीकै अस्पतालमा उपचार लिए ।
आफू काम गर्ने अस्पताल र सेवा लिन सजिलो हुने अस्पताललाई त केहीं गरौं भनेर हामीमा बेलामा चेतना नआएर हो या किन गर्नुप¥यो हामीले भनेर बुझ् पचाएर हो, अहिलेसम्म धेरै सहकर्मी साथीहरुको मनोविज्ञान बुझ्न सकेको छैन् । तर अब पनि चेतना खुलाउन ढिला नगरौं है, म भन्छु । हामी जतिसुकै समृद्ध भए पनि समयमा उपचार पाइएन भने जीवन त्यसै गुम्नेछ । समयमै उपचार व्यवस्थापन गर्न सकिने अस्पताल हाम्रै अस्पताल होस् । यत्ति भन्छु अहिलेलाई, बाँकी पछि ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij