
बुधवार , आषाढ १, २०७९
बुटवल, १ असार ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली जनता कुनै पनि सैनिक गठबन्धनको पक्षमा नरहेको बताएका छन् । नेपालको असंलग्न परराष्ट्र नीतिलाई असर पार्ने गरी अमेरिकी सेनासँग गर्न खोजिएको एसपीपी सम्झौताप्रति नेकपा एमालेको आपत्ति रहेको उनले बताए ।
प्रेस चौतारी नेपाल, रुपन्देही शाखाले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पञ्चशीलको परराष्ट्रनीति विपरीत गरिने कुनै पनि सम्झौता मान्य नहुने बताए । ‘असंग्नताको नीति विपरीत कुनै सैन्य संगठनको अंग बन्ने कुरा एमालेले स्वीकार गर्दैन’, उनले भने, प्रधानमन्त्री शेरबहादुर देउवा रक्षा मन्त्रीको हैसियतमा अमेरिका जान लागेको सूचना आएकाले त्यसो भए मुलुकको अपमान हुनेछ ।
पञ्चशिलको बिकास नीतिलाई समेत असर पार्ने गरी कुनै एक देशको सैनिक संगठनसँग मुलुककै सार्वभौम अधिकार हनन् हुने गरी गरिने सम्झौताको एमालेले विरोध गर्ने उनले बताए ।
महासचिव पोखरेलले गठबन्धन सरकारका कारण मुलुक चरम आर्थिक संकटमा पुगेकोप्रति चिन्ता व्यक्त गरे । मुलुकको विकास र समृद्धिका लागि बलियो शक्तिको आवश्यकता रहेको बताउँदै उनले गठबन्धनको राजनीति नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने राजनीति भएको उल्लेख गरे ।
कांग्रेससँग मिलेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) तर्फ लक्षित गर्दै उनले दक्षिणपन्थतर्फको यात्रामा रहेकासँग यही अवस्थामा सहकार्य हुन नसक्ने स्पष्ट पारे । उनले कांग्रेससँग मिलेका बामपन्थी नभएको टिप्पणी गरे । एमालेलाई सिध्याउने गरी गठबन्धन गर्दा पनि आफूहरूले जनमत राम्रो पाएको बताउँदै आगामी चुनावमा पनि एक्लै लड्न सक्ने महासचिव पोखरेले बताए ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा अघिल्लो चुनावको भन्दा ८९ सिट गुमाए पनि जनमत बढाएर पहिलो पार्टी नै बनेको दावी गरे । ‘कांग्रेस पहिलो दल भयो भन्ने सत्य होइन, कांग्रेसले जितेको सिट संख्या अरु दलको अंशियारीमा प्राप्त मतका कारण हो’–पोखरेलले भने–‘एमाले एक्लै एकातिर, ५ दलीय गठबन्धन अर्कोतिर हुँदा गठबन्धन पहिलो र एमाले दोस्रो भन्न सकिन्छ ।’ स्थानीय चुनावको परिणामले संघीय र प्रदेश चुनावलाई असर नपर्ने उनले दावी गरे । एमालेले स्वार्थ आधारित नभई राष्ट्र हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए ।
लुम्बिनी प्रदेश सरकारले जम्बो मन्त्रीमण्डल बनाएर असफलतातर्फ जाने पहिले नै संकेत गरेको उनले बताए । सुरुदेखि नै सरकारको असफलताको बाटो मन्त्रीमण्डल गठनले संकेत गरेको उल्लेख गर्दै उनले लुम्बिनी प्रदेशलाई कमजोर बनाउने काम भएको उल्लेख गरे । विगतको सरकारले शत प्रतिशत पूँजीगत खर्च गरेर सफलताको उदाहरण पेश गर्दै आएकोमा वर्तमान सरकारले उक्त छविलाई बिगार्ने काम गरेको उनको आरोप छ ।
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणबारे बोल्दै पोखरेलले कानून हातमा लिने अधिकार कसैलाई नभएको बताए । सरकारले यसबारे यथोचित जवाफ दिनुपर्ने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij