२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

समाज रुपान्तरणमा मिडियाको भूमिका

शनिवार , मंसिर ६, २०७७


नरेश के.सी.

१. विषय प्रवेश
 
सन् १९२५ मा जन लागि वर्यडले लन्डनमा टेलिभिजनको अविष्कार गरेका हुन् । वर्यडले अविस्कार गरेको टेलिभिजन यतिबेला सञ्चारको भरपर्दो माध्यम बनिरहेको छ । सञ्चारका चार माध्यम छापा, रेडियो, टेलिभिजन र अनलाइनमध्ये एक सशक्त माध्यम हो टेलिभिजन । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि कोरोना कहरकोबीच अहिले अझै प्रभावकारी हँुदै गएको छ । सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसार गरेको थियो । सन् १९५४ देखि रंगिन दृश्यहरु टेलिभिजनमा प्रसारण भएको इतिहास छ । टेलिभिजन विकासको गति यति बढ्यो की १९७० को दशकमा आइपुग्दा विश्वका ६० भन्दा बढी मुलुकमा प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने १९७० पछि मात्रै टेलिभिजनका उपकरण भित्रिए । तथापी विक्रम सम्वत २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन सुरुवात भएको पाइन्छ । सन् १९९६ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको महासभा बैठकले २१ नोभेम्बर अर्थात आजका दिनलाई विश्व टेलिभिजन दिवस घोषणा गरेको थियो ।  

विगतमा एन्टेना घुमाउँदै श्यामश्वेत टिभीमा सीमित च्यानलहरु हेर्ने नेपालीहरु यतिबेला केबल र सेटलाइट प्रविधिमा सयौं टेलिभिजन च्यानलहरु देख्न र सुन्न पाएका छन् । राष्ट्रिय र प्रदेशस्तरीय टेलिभिजन मात्रै नभएर यतिबेला न्यू मिडियाको रुपमा अनलाइन टेलिभिजन झनै सशक्त रुपमा विश्व टेलिभिजन बजारमा प्रतिष्पर्धामा उत्रेको छ । नेपालको शहरी क्षेत्रमा यतिबेला हातहातमा टेलिभिजन हेर्न र सुन्न पाइन्छ । श्रव्यदृश्य माध्यमको रुपमा रहेको टिभी मोबाइल एपका कारण हातहातमा पुगेको हो । मुलुकको  केही हिमाली र पहाडी दुर्गम भूगोलमा भने आजकल पनि पुरानै शैलीका टेलिभिजन र एन्टिना प्रविधि अझै विद्यमान छ । तर जे होस् यतिबेला टेलिभिजन सबैको प्रिय साथी बनेको छ ।  विश्वव्यापीकरणको भरपर्दो माध्ययमको रुपमा टेलिभिजन प्रस्तुत भएको छ । संसारभरको घटना छिनभरमै देख्न र सुन्न पाइएको छ । आफ्नै आखांले अनूभूत गर्न पाइएको छ । टेलिभिजनकै कारण फीलिंग ग्लोबल्ली एक्ट लोकल्ली भन्ने अभियानलाइ सार्थकता दिएको छ । 

सूचना तथा सञ्चार मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ११६ टेलिभिजन प्रसारणको इजाजत लिएका छन् भने १५० विदेशी च्यानलहरुले अनुमति प्राप्त गरको छन् तथापी सरकारले क्लीनफीड लागु गरेपछि धेरै विदेशी च्यानल बन्द भएको अवस्था छ । रुपन्देही जिल्लामा पनि टेलिभिजन प्रसारण अनुमति लिनेको प्रतिष्पर्धा नै चलेको छ । यहाँ लुम्बिनी टेलिभिजन, बुद्ध, देवदह, भैरहवा, साझा सञ्चालनमा छन् ।  लुम्बिनी प्रदेशको मुख्य केन्द्र रूपन्देही जिल्लाको सन्दर्भमा मिडियाको अध्ययन गर्दा छापा पत्रकारिता विगतदेखि वर्तमानसम्म पनि अझै सशक्त रहदै आएको छ । रुपन्देहीमा पत्रपत्रिकाको इतिहास लामो छ । 

२. समाज रुपान्तरणमा मिडिया 

भाषा, जाति, संस्कृति र धर्मको विविधतामा एकता भएको नेपाली समाजमा पर्यटन, आमसञ्ञ्चार, बसाईसराई, उद्योग, व्यापार र सेवा जस्ता समाज रुपान्तरणका साधनहरुले यहाँको आधारसंरचना तयार गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेका छन् ।  सामान्यतयाः आधार भनेको जग हो संरचना भन्नाले जगमाथि गरिने निर्माण कार्य हो । दार्शनिक रुपमा विश्लेषण गर्दा आधार संरचना भन्नाले मानिसहरु बाँच्नको लागि वस्तुहरुको उत्पादन गर्ने प्रक्रियालाई आधारसंरचना अर्थात उत्पादन प्रणाली भन्नुपर्दछ भनेर माक्र्सवादीज्ञाताहरुले तर्क गर्ने गर्दछन् । उत्पादनका शक्तिहरु र उत्पादनका सम्बन्धहरुको संयोजनबाट उत्पादनप्रणाली वा आधारसंरचनाको निर्माण हुन्छ जुन आधारसंरचनाले उपरीसंरचनाको निर्धारण गर्दछ । मानिसका वैचारिक उत्पादनहरु, राजनैतिक, धार्मिक र कानुनी संस्थाहरु, सामाजिक र सांस्कृतिक पक्ष जस्ता उपरीसंरचनाको संस्थागत उत्पादन प्रणालीको आधारमा हुने गर्दछ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तले समाजको उत्पादन प्रणालीको स्वरुप आदीमयुगबाट सुरु भइ दासयुग, सामन्तवादी युग, पूँजीवादीयुग हँुदै साम्यवादीह ुने वैज्ञानिक विश्लेषण गरेको छ । समाज विकासका यी चरणहरु पारगर्दै जाने क्रममा अहिले विश्वमात्रै नभएर हामी नेपाली र हाम्रो देश नेपाल पुँजीवादी युगमा गुज्रिरहेका छौं । आजको युग भनेको पूँजीवादी युग हो । पूँजीवाद आज विश्वव्यापीकरण भइसकेको छ । उत्पादनको साधन जसको हातमा हुन्छ, उसैले समाजमा प्रभुत्व कायम गरेको छ ।  विश्व व्यवस्थाको सच्चा शासक उही वर्ग भइरहेको छ, उही वर्गको शोषण, आधिपत्य र शासन रहने वर्गीय समाजको निर्माण भइरहेको छ । बन्द व्यापारका माहिर लामो समयदेखि विश्वव्यापी रुपमा प्रभुत्व लादीरहेका पश्चिमी अमेरिकन लबीका मुलुकहरु आज उत्पादनशील उत्तर पश्चिमी चीनिया लबीका देशहरुसंग सम्झौता गर्ने बाध्यतामा पुग्नुको कारण पनि त्यहिं हो । 

वर्तमान युग अत्याधुनिक प्रविधियुक्त मिडियाको युग हो भन्दा अतियुक्ति नहोला । पछिल्लो दशकमा विश्वमै द्रुततर विकास भएको क्षेत्र भनेको मिडिया हो । समाज परिवर्तको क्रममा  यो देशमा थुप्रै क्रान्ति भए । देशको शासन सत्ताको बागडोर सम्हाल्नेहरु परिवर्तन भए । आफ्ना संवैधानिक मौलिक हकहरूका निम्ति धेरै नेपाली जनताले जीवनको आहूती दिए । पछिल्लो  वि.सं. २०६२÷०६३ को जनआन्दोलन–२ को मूख्य उपलब्धी संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा हुनु हो । 

पछिल्लो समय समाज रुपान्तरणको राजनैतिक तथा सामाजिक आन्दोलनमा जसरी पत्रकारिता क्षेत्रले निर्णायक भूमिका खेल्यो त्यसरी नै समाजमा चेतना अभिवृद्धि गर्ने काम पनि गरेकोछ । नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हकको रुपमा सञ्चारको हकलाई दफा १९ मा स्पष्ट रुपमा स्थापित गरको छ ।  नेपालको ऐतिहासिक तथ्यलाई केलाउँदा पनि पत्रकारिता क्षेत्र सधैं प्रगतिशिल र परिवर्तनकामी शक्तिको मूख्य ढाल भएर उभिएकोे दसीप्रमाणहरु छन् । राज्यका चार अंगहरुमध्ये पहिलो कार्यपालिका, दोस्रो व्यवस्थापीका तेस्रो न्यायपालिका पछि चौथो अंग भनेर सञ्चार क्षेत्रलाई लिईनुले पनि यो महत्वपुर्ण क्षेत्र भएको आफै पुष्टि हुन्छ । 

नेपालमा पत्रिकाको इतिवृत्त खोतल्दै जा“दा पत्रिकाको वीजरोपण सुधासागर (वि.सं.१९५५) प्रथम ऐतिहासिक मासिक प्रकाशन हो भने समाचार प्रधान दोस्रो पत्रिका गोरखापत्र (वि.सं.१९५८) हो । यो पत्रिका सुरूमा साप्ताहिक र पछि गएर हप्तामा दुई पटक र पछि फेरि हप्तामा तीन पटक प्रकाशित हु“दै आएको र वि.सं. १९५९ सालपछि भने दैनिक पत्रिकाको रूपमा नियमित काठमाडौंबाट प्रकाशित भइरहेको देखिन्छ ।

नेपालको पत्रकारिताको रुपरेखाको विश्लेषण प्रसिद्ध माक्र्सवादी समाजशास्त्री इमानुयल वालरस्टाईनको विश्वव्यवस्था प्रणालीको विश्लेषणको तराजुमा राखेर गर्दा उपयुक्त हुन्छ । वालरस्टाइनको केन्द्र, अर्धपृष्ठ र पृष्ठको तराजुमा जोख्दा पत्रिकाको ऐतिहासिक उर्वरथलो काठमाण्डौं अहिलेको परिवेशमा पनि केन्द्रकै रुपमा स्थापीत छ । मोफसलका रुपन्देहीको बुटवल अर्धपृष्ठको रुपमा र रुपन्देहीकै भैरहवा पृष्ठ क्षेत्रको रुपमा रहेको देखिन्छ । रुपन्देहीको पत्रकारिताको ऐतिहासिकताको चर्चा गर्दा परीक्षित लाकौलको सम्पादन र प्रकाशनमा बुटवलबाट प्रकाशित बुटवल (वि.सं २०१२) साप्ताहिक समाचार प्रधान पत्रिका पहिलो पत्रिका हो । त्यसपछि सम्पादक सूर्यलाल र प्रकाशन सीताराम द्विवेदी रहेको लुम्बिनी साप्ताहिक (वि.सं.२०१८) दोस्रो हो । 

पछिल्लो समयमा रुपन्देहीमा दैनिक लुम्बिनी, मेचीकाली, दैनिकपत्र, बुटवल टुडे, तिलोत्तमा, लुम्बिनीखबर, लुम्बिनी पोस्ट, विजनेशखबर, गौतमबुद्ध सन्देश, नारीविम्ब, भैरहवा साप्ताहिक, नवभैरहवा, सिद्धार्थ सन्देश, खस्यौली, सबल, बुद्धभूमी, अजर लगायत दर्जनौ दैनिक र साप्ताहिक पत्रिका प्रकाशित भइरहेका छन् भने यिनी मध्ये कतिपय इतिहासको गर्भमा विलाइसकेका पनि पाइन्छ । 

यता भैरहवाबाट प्रकाशित पत्रिकाहरूको ऐतिहासिक नालीबेली पहिल्याउ“दै जा“दा लुम्बिनी सन्देश (वि.सं.२०२२) मोदनाथ पश्रितको सम्पादकोत्वमा तत्कालिन लुम्बिनी अञ्चल पञ्चायतबाट प्रकाशित हुन्थ्यो । त्यसै गरी सुरूमा पोखराबाट प्रकाशित र पछि भैरहवाबाट प्रकाशित भएको  दैनिक निर्णय (वि.सं. २०२३) वेदराज पन्तको सम्पादकत्व एवं प्रताप कुमार भट्टचनको प्रकाशनमा प्रकाशित पत्रिका हो । यसैगरी पृथ्वी शेरचनको सम्पादन एवं प्रकाशनमा प्रकाशित जनवाणी (वि.सं. २०२३), करूणानिधि शर्माको सम्पादन र प्रकाशनमा प्रकाशित निष्पक्ष ध्वनि (वि.सं. २०२७), कपूर ज्ञवालीको सम्पादन र प्रकाशनमा खसोखास साप्ताहिक (वि.सं.२०२७), कृष्णराज पाण्डेको सम्पादन र प्रकाशनमा लुम्बिनी दूत साप्ताहिक (वि.सं.२०३५) प्रकाशित भएका देखिन्छन् । लुम्बिनीदूतलाई पछि नाम परिवर्तन गरी साप्ताहिक संवाद भनेर पनि प्रकाशित गरिएको थियो । 

त्यसैगरी श्यामसुन्दर गुप्ताको सम्पादन र प्रकाशन रहेको संश्लेषण साप्ताहिक (वि.सं.२०३९), रामचन्द्र भट्टराईको सम्पादन र प्रकाशनमा समालोचना साप्ताहिक (वि.सं.२०३९), नारायण प्रसाद सापकोटाको सम्पादन र प्रकाशनमा मुक्ति सन्देश  (वि.सं.२०३९) प्रकाशित भएका थिए ।  वामदेव पहाडीको सम्पादन र प्रकाशनमा प्रतीमान पाक्षिक (वि.सं.२०३९), बाबुराम अधिकारीको सम्पादन र प्रकाशनमा परिवर्तन पाक्षिक (वि.सं.२०३९)  प्रकाशित भएको देखिन्छ । त्यसैगरी त्रिवेणी साप्ताहिक (वि.सं.२०३९) सुरेन्द्र आचार्यको सम्पादन र प्रकाशनमा र सुसेली (वि.सं.२०३९) तिलक सिंहको सम्पादन र प्रकाशनमा प्रकाशित भएको पाइन्छ । यसैगरी जनवाणी साप्ताहिक (वि.सं.२०३९) पृथ्वी शेरचनको सम्पादन र प्रकाशनमा पुन ः प्रकाशित भएको पाइन्छ भने जनज्योति पाक्षिक (वि.सं. २०३९) राधेश्याम के.सी.को सम्पादन र प्रकाशन एवं धवल पाक्षिक (वि.सं.२०४२) वामदेव पहाडीको सम्पादन र प्रकाशनमा प्रकाशित रहेको पाइन्छ । त्यसैगरी लक्ष्मीनाथ ज्ञवालीको सम्पादन र प्रकाशनमा जनता साप्ताहिक (वि.सं.२०४६), बुद्ध न्यौपानेको सम्पादन र प्रकाशनमा कोसेली साप्ताहिक (वि.सं.२०५५), गोविन्द वन्धु अर्यालको सम्पादन र प्रकाशन भैरहवा साप्ताहिक (वि.सं.२०५९) रहेको पाइन्छ । शम्भु प्रसाद शर्माको सम्पादन र प्रकाशनमा नव भैरहवा साप्ताहिक (वि.सं.२०६३), रेणु नसिवको सम्पादन र भैरहवा प्रकाशनमा उदयमान दैनिक (वि.सं.२०६४), डा.घनश्याम न्यौपाने ‘परिश्रमी’को सम्पादन र भैरहवा प्रकाशनमा निराकरण साप्ताहिक (वि.सं.२०६४), यु.एन. ‘अपराजीत’ को सम्पादन र भैरहवा प्रकाशन प्रकाशित मुस्ताङ–मर्चवार (वि.सं.२०६७ ) प्रकाशित भएकाछन् । त्यसैगरी लुम्बिनीखबर साप्ताहिक (वि.सं.२०६८) डा.घनश्याम न्यौपाने ‘परिश्रमी’को संरक्षकत्वमा एवं नरेश के.सी.को सम्पादकत्वमा र दीपक घिमिरेको सम्पादकत्वमा लुम्बिनी पोस्ट साप्ताहिक, सिद्धार्थ सन्देश दैनिक (वि.सं.२०६९) मुकेश पोखरेलको सम्पादनमा प्रकाशित पत्रिका हो । नारीबिम्व साप्ताहिक (वि.सं.२०७०) बिमला अर्यालको सम्पादन र सम्झना शर्माको प्रकाशन, बुद्धध्वनि साप्ताहिक (वि.सं.२०७१) निर्मया खत्रीको सम्पादकत्व र शारदा मल्लको प्रकाशनमा प्रकाशित पत्रिका हो, गौतमबुद्ध सन्देश कुलमणी ज्ञवालीको सम्पादन र गौतमबुद्ध मिडिया प्रा.लि.को प्रकाशनमा प्रकाशित बुद्ध बिहानी अरुण ज्ञवालीको सम्पादनमा प्रकाशित, न्यूज ओके मनोरञ्जन शर्माको सम्पादन, शालीन न्यूज शशि पन्थीको सम्पादकत्वमा, उज्यालो सन्देश राधेश्याम विश्वकर्माको सम्पादनमा प्रकाशित भएता पनि यीमध्ये कोरोना कहरको कारण अधिकांश बन्द भएका छन् । 

यतिबेला पत्रपत्रिका भन्दा टिभी, रेडियो र अनलाइनको प्रभावकारिता बढेको छ । विद्यूतीय सन्चार क्षेत्रकै कुरा गर्ने हो भने रुपन्देही एफएम., सिद्धार्थ एफ.एम., रेडियो रिपब्लिक र भैरहवा एफ.एम. भैरहवा क्षेत्रमा कार्यलय भएर नियमित प्रसारणमा रहेका रेडियो हुन् । टेलिभिजनमा भैरहवा टिभी तथा अनलाइनमा इलुम्बिनीखबर, भैरहवा अनलाइन, खबरपात्रो डटकम, गौतमबुद्ध सन्देश, उज्यालो सन्देश, न्यूज ओके अनलाइन र अनलाइन टिभीमा ओके टिभी भैरहवा प्रधान कार्यलय रहेर नियमित प्रसारित तथा प्रकाशित छन् । 

रुपन्देही जिल्लामा नै कार्यालय खोलेर पहिलो सामुदायिक टेलिभिजन लुम्बिनी टिभी (२०६४) सालबाट सुरु भएको हो । सामाजिक संस्था विकासको लागि सूचना तथा सन्चार अभियान (इममोड नेपाल) ले स्थापना गरेको हो । त्यसयता  पछि  बुद्ध टिभी, देवदह टिभी, भैरहवा टिभी , साझा टिभी समाचारमूल र मनोञ्जनमूलक टिभी च्यानलनको रुपमा सञ्चालनमा रहेका छन् । यद्यपी यो जिल्लामा स्वदेशी तथा विदेशी सबै टिभी च्यानल सहजै हेर्न र सुन्न सकिन्छ । 

वि.स.२०२२ सालदेखी अहिलेसम्म नियाल्दा भैरहवालाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्ने करिब ६५ जना पत्रकारहरुमध्ये २३ जना अहिले पनि क्रियाशील रहेको अवस्था हो । अहिले पत्रकारिताको शैली परिवर्तन भएको छ । हिजोका दिनहरुमा क्षेत्रगत अध्ययनगरी रिर्पोटिंग गर्ने पत्रकारहरु जस्तो अहिले मिहिनेत र परिश्रमी पत्रकारहरुको संख्या घट्दै गएको देखिएकोछ । हिजोका दिनमा मिसन पत्रकारिता थियो आज पत्रकारिता व्यवसायिक हुँदै गएकोछ । व्यवसायिक पनि पूँजीवादी युगको कारण प्रायोजित र व्यक्तिवादीता हावी भएको पत्रकारिताको विकास भएको छ ।  हिजोको पत्रकारिता र आजको पत्रकारितामा धेरै परिवर्तन आएको छ । हिजो साधनस्रोतको अभाव छदां पनि दिनरात खटिएर नयाँ र रोचक समाचार सम्प्रेषण हुने गर्दथे । औपचारिक शिक्षाको कमि भएता पनि पत्रकारहरुको निजी मिहिनेत र परिश्रमले समाचारको गुणात्मकता थियो । पेशागत मान प्रतिष्ठा र इज्जत थियो । तर आजभोली साधनस्रोतको प्रयाप्तता हुँदाहँुदै पनि समाचारका स्रोतमा परिनिर्भरता बढेको छ ।  पुरानाहरु अल्छी हुँदै गएका छन् नयाँहरु डिजिटल प्रविधिको दुरुपयोग गर्दै सिपी अर्थात कपी पेस्टबाट समाचार सम्प्रेषण गरिरहेका छन् । दिनप्रतिदिन पत्रकारहरुको संख्या बढिरहेको छ तर गुणात्मतका छैन । यसको सुधार हुनु जरुरी छ । रुपन्देहीको पत्रकारिताको आधारसंरचना निर्माणमा भैरहवाको पत्रकारिताले अत्यन्तै महत्वपुर्ण भूमिका खेलेको छ । समयकालक्रम अनुसार रुपन्देहीको पत्रकारिताको आधार संरचनाको रुपमा स्थापित भएर पनि भैरहवाबाट निरन्तर पत्रपत्रिका सञ्चालन हुन नसक्नु यो क्षेत्रको क्षेत्रीय विविधता नै हो । विश्वव्यापी सोच र स्थानीय गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा अहिले पनि पत्रकारिता क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी छ । यो क्षेत्र अत्यन्त महत्वपुर्ण, समाजको जवाफदेही र पहूँच नपुगेका सवाल्टर्नहरुको भरोसा र आसाको केन्द्र हो । अरुलाई न्याय र जीवन दिने पत्रकारिता क्षेत्र आज आफै काम गर्ने मिडीया हाउसहरुको शोषणको शिकार पनि भएका छन् । यसैले राज्य, नागरिक समाज र  समग्रमा समाजले समयसुहाउदों पत्रकारिताको विकासमा ध्यान दिनु जरुरी छ ।

सही सूचनाले मानिसलाई विवेकशील बनाउ“छ । झुठो सूचनाले गलत मार्गतिर अग्रसर बनाउँछ । त्यसैले सही सूचना प्राप्त गर्नु प्रत्येक नागरिकको दायित्व हो । यसै परिप्रेक्ष्यमा भन्नुपर्दा सञ्चारसंग दर्शन, राजनीति र समाजशास्त्रको अन्योन्याश्रित सम्बन्ध कायम रहेको पाइन्छ । यिनै विषयको आधारभूत कुरालाई जनस्तरसम्म पु¥याउने काम सञ्चारले गरेको हुन्छ । सञ्चार अन्तर्गत अन्तर्मुखी सञ्चार, अन्तर्वैयतिक सञ्चार, समूह सञ्चार र आम सञ्चार पर्दछन् । छापा सञ्चार आम सञ्चारको पुर्खा हो । अहिले आएर विद्युतीय सञ्चारका रूपमा रेडियो, टेलिभिजन, इमले, इन्टरनेट आदिको सुविधा प्राप्त भएको छ । आमसञ्चारका विभिन्न सिद्धान्त प्रतिपादन गरिएका छन् । ती मध्येका सिद्धान्त हुन्– निरंकुशतावादी सिद्धान्त, उदारवादी सिद्धान्त, सामाजिक उत्तरदायित्वको सिद्धान्त, साम्यवादी सिद्धान्त र प्रस्तावित शान्ति सिद्धान्त । यी माथि उल्लेख गरिएका सिद्धान्तहरू मध्ये सामाजिक विकृति, विसंगति, अन्याय, अत्याचारको पर्दाफास गर्दै सुशासन र शान्तिको पक्षमा बल दि“दै जनबोलीको कदर गर्दै यस क्षेत्रको विकास समृद्धिको पक्षमा वकालत गर्दै लोकप्रिय बन्नु आजको तड्कारो आवश्यकता रहेको छ । 

गाउँगाउँमा मिडिया सञ्चालन भएसंगै वडा तहका, टोल टोलका विषयले प्राथमिकता पाएका छन् । मान्छेहरु सहजै टेलिभिजनको पर्दामा देखिन पाएका छन् । आफ्ना कुराहरु सहजै राख्न पाएका छन् । एबिसी टिभीमा कृष्ण कडेंलको इन्द्रेणी कार्यक्रम हेर्दा दोहोरी गीत कार्यक्रम जस्तो देखिएता पनि त्यस कार्यक्रममार्फत सामाजिक रुपान्तरणमा पुराएको योगदान अतुलनीय रहेको छ  । यसैगरी गन्डकी टीभिमा अपील त्रीपाटी छड्के कार्यक्रम, लुम्बिनी टिभीको निगरानी, बुद्ध टिभीमा विनोद परियारको कचहरी कार्यक्रम हाल रेडियो जागरणबाट प्रसारण भइरहेको, न्यूज २४ रबि लामिछानेको जनतासंग सिधाकुरा,  कान्तिपुर टिभीमा राजेश हमालको जातको प्रश्न, विद्या चापागाईको युट्युबमा हेर्ने कथा मात्रै होइन विभिन्न टेलिभिजनका सामाजिक विषयवस्तु जोडिएर हुने रिर्पोटिंगले समाजको रंग नै फेरेका धेरै दृष्टान्त हाम्रो सामु छन् । 

३.स्थानीय तह, सुरक्षा निकाय र सामाजिक संघ–संस्था

३.१ स्थानीय तह :
नेपालको संविधानले स्थानीय तहको बारेमा भाग १७ मा स्पष्ट रुपमा उल्लेख गरेको छ । स्थानीय तह भन्नाले गाउपालिका, नगरपालिका । नेपालको संविधान २०७२ को धारा ५६ संघ, प्रदेश र स्थानीय तह हुने गरी व्यवस्था गरको छ ।  संवैधानिक व्यवस्था अनुसार स्थानीय तह स्थानीय सरकार हो । यसको संघ र प्रदेशकोझै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका छ । यद्यपी संविधानको भाग २० मा स्थानीय तह, संघ र प्रदेशबीचको अन्तरसम्बन्धको बारेमा प्रष्टाएको छ । यतिबेला स्थानीय तह स्थानीय सरकार हो । नेपालमा स्थानीय तह ७ सय ५३ वटा रहेका छन् । रुपन्देहीमा १० गाउँपालिका, ६ नगरपालिका रहेका छन् । 

विगत ३ वर्षदेखि आम मानिसहरुले स्थानीय तहको अनुभुति गर्न पाएका छन् । करिब तीन दशकसम्म अस्थिरता रहेको मुलुकमा संघीयता प्राप्तीसंगै संस्थागत भएको स्थानीय तहमार्फत सिधासिधा वडा तहमा सेवा पाउन सकेका छन् । विकासका पूर्वाधारहरु अचाक्ली रुपमा विस्तार भएका छन् । पुराना नगरपालिकाहरुले नयाँ कार्यक्रम खासै ल्याउन नसकेता पनि नया नयाँ स्थानीय तहले भने देखिने गरी काम गरेका छन् । उदाहरणको लागि तिलोत्तमा नगरपालिकाले स्थानीय कानून निर्माण, बस्ती विकास र भू उपयोग नीतिमा गरेको कार्य उल्लेख्खनीय छ । सिद्धार्थनगर नगरपालिकाले विपन्न परिवारको आवसको लागि मेयर आवास कार्यक्रममार्फत थालेको पाइलाले सकारात्मक सन्देश दिएको छ । बुटवल उपमहानगर र देवदहले सार्वजनिक शिक्षा सुधारको लागि आफ्नै पाठ्यक्रम तय गरेर सामाजिक रुपान्तरणमा योगदान दिएको छ । 

यावत थुप्रै परिवर्तनका प्रयास हँुदाहँुदै केही गलत अभ्यास पनि भएका छन् । मर्चवारमा वडाअध्यक्षले कानून आफ्नै हातमा लिएर माया प्रेम गरेको निहुँमा गरेको निर्मम कुटपिट, देवदहमा अंगीरा पासी हत्यामा स्थानीय सरकारका प्रतिनिधिको आत्महत्या दूरुत्साहनमा संलग्नता, रुकुम चौरजहारी जस्तो जनयुद्धको राकोंको प्रज्वलित क्षेत्रमा भएको नवराज विकको हत्या घटनाले सामाजिक रुपान्तरणको उपहांस गरेका छन् ।
  
३.२  सुरक्षा निकाय

सुरक्षा निकाय भन्नाले संविधानको भाग २८ मा व्यवस्था भएबमोजिम गठन भएको व्यवस्था हो । दफा २६६ मा राष्ट्रिय सुरक्षा परिषद हुने व्यवस्था छ । जसले समग्र राष्ट्रिय हित, सुरक्षा, प्रतिरक्षा सम्बन्धी नीति तर्जुम ागर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रण गर्नको लागि नेपाल सरकार, मन्त्रीपरिषदलाई सिफारिस गर्दछ । संगठनात्मक हिसाबले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सुरक्षा निकायको रुपमा नेपालमा विद्यमान रहेका छन् । यद्यपी सामन्य भाषामा सुरक्षा निकाय भन्नाले नेपाल प्रहरीलाई सम्झिने गरिन्छ । राज्यले नै यतिबेला नेपाली सेना ब्यारेकभित्र, सशस्त्र प्रहरी सीमामा र नेपाल प्रहरी जनताको घरदैलोमा भन्ने नीति तर्जुमा गरेको देखिन्छ । १०० नम्बरमा फोन आएको भरमा प्रहरी जनताको सेवामा खटिने गरेको छ । प्रहरीले सुरक्षाका अन्य निकाय भन्दा सहज ढंगले सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार जनतालाई सुरक्षा सम्बन्धी र अन्य गतिविधि तथा प्रहरी कारवाहीको सूचना पनि दिएर सहयोग गर्दै आएको  छ । 

खासमा भन्दा नेपाल प्रहरीलाई निर्दिष्ट कार्य छ तथापी समाजमा भइपरी आउने हरेक कार्यमा उसको सहभागिता जरुरी देखिन्छ । सडकमा मरेको कुकुर फाल्नेदेखि मरेको मान्छे उठाउने सम्म प्रहरीले कार्य गरिरहेको छ । सीमित स्रोध साधनका बीच मुस्कान सहितको सेवा दिदैं आएको प्रहरी संगठन पनि दुई दशक सम्म प्यारालाइस जस्तै भयो । विभिन्न राजनीतिक दल र शक्तिले यसलाई प्यारालाईस गराए । पछिल्लो सरकार गठन भएसंगै यतिबेला प्रहरीको मनोबल बढेर गएको छ । एकजना प्रहरी प्रमुखले चाहेमा सिंगो जिल्लाको सामाजिक रुपान्तरणमा उल्लेखनीय योगदान दिन सकछ । रुपन्देहीमा विगतमा प्रहरी प्रमुखको रुपमा रहेका  प्रकाश अर्यालले गुन्डातन्त्र र चोरी डकैतिलाई पुर्णतया निस्तेज गरे । रबिन्द्र रेग्मीले प्रहरी कानूनको महसुस दिलाए । विक्रम सिंह थापाले जनताको साथी प्रहरी भन्ने मान्यता स्थापीत गराए । यी उदाहरणले सामाजिक रुपान्तरणमा सुरक्षा निकायको भूमिकालाई अब्बल रुपमा स्थापीत गराएका छन् ।  


३.३ सामाजिक संघ–संस्था

संघ–संस्था खोल्ने नागरिक स्वतन्त्रतालाई सुनिश्चित गरी गैरसरकारी क्षेत्रमा स्थापना हुने सामाजिक सेवा, पर्यावरणीय तथा नागरिक अधिकार संरक्षण तथा सामाजिक विकासमा संलग्न गराउन समूहमा खोलिने नाफा रहित सामाजिक संस्था दर्ता ऐन २०३४ अन्तर्गत स्थापित संस्था सामाजिक संघसंस्था भित्र पर्दछन्  । सामाजिक संस्थाले मूलतः समाजको सेवागर्ने स्पष्ट छ । लुम्बिनी टिभी, रेडियो रुपन्देही एफ.एम., देवदह रेडियो, बुद्ध टिभी, जागरण रेडियो मूलतः सामाजिक संस्थामार्फत सञ्चालित सञ्चार गृह हुन् । 

रोटरीको पहलमा गौतमबुद्ध मुटु अस्पताल सञ्चालन भएको छ । रणअम्बिका आखा अस्पताल भैरहवा, लायन्स क्लबले बुटवल आँखा अस्पताल,  देवदहमा आँखा अस्पताल सञ्चालित छन् ।  लुम्बिनी प्रेस क्लबले सुनकुमारीको छोरीको व्यवस्थापनमा गरेको कार्यदेखि लिएर नेपाल पत्रकार महासंघले गरेको विभिन्न महत्वपुर्ण कार्य दृश्य छन् त कयौं अदृश्य कार्य जुन अनूभूत गर्न सकिने मात्रै छन् । 

गैससहरु जसले मानवीय विकास, मानव अधिकारको लागि गरेका थुप्रै काम छन् । समाज परिवर्तन, जनचेतना सरकारले नियम बनाएको छ । तर त्यसको कार्यन्वयमा सामाजिक संघसंस्थाको भूमिका अग्रहणी देखिन्छ । उदाहरणको लागि सरकारले छुवाछुत नहुने गरी कानून बनाएको छ । तर कसैले छुवाछुत भइहालेमा वा विभेद भएमा गैससहरुको सहयोगमा पीडितले न्याय पाउन सक्छ । यसैगरी उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठनहरु हेर्दा निजी र नाफामूलक क्षेत्रका संस्था भएता पनि यिनीहरु पनि सामाजिक संस्था नै हुन् । उनीहरुले उद्योगी व्यवसायीहरुलाई एकीकृत गरेर काम गर्छन । रोटरी, लायन्स, जेसीज जस्ता सामाजिक संघ–संस्थादेखि गाउँगाउँका आमा समूह, टोल विकास समिती मात्रै होइन सामाजिक संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका विभिन्न सामाजिक संघ–संस्थाले बहुउद्धेश्य लिई खबरदारी, साझेदारी, पहरेदारीमार्फत सामाजिक रुपान्तरणमा योगदान दिइरहेका छन् । नमूना एकीकृत विकास परिषदले गरेको महिला सशक्तीकरणको कार्य देखि विभिन्न सामाजिक संघसंस्थाले सीप विकासमा पु¥याएको योगदानले पनि सामाजिक रुपान्तन्रणमा उल्लेखनीय टेवा दिएका छन् । 

३.३.१ रोट्रयाक्ट क्लब अफ भैरहवा

रोट्रयाक्ट क्लब अफ भैरहवा पनि सामाजिक संस्था नै हो । यसको आफ्नै किसिमको अन्तर्राष्ट्रिय चेन छ । रोट्रयाक्ट ३२९२ मा नेपाल र भुटान पर्दछन् । नेपालमा १४२ रोट्रयाक्ट क्लब छन् । भैरहवामा रोट्रयाक्ट क्लब अफ भैरहवासहित ३ छन् । रोट्रयाक्ट क्लबको मातृसंस्था रोटरी हो । चार वर्ष अगाडी रोटरी क्लब अफ भैरहवाले स्पोन्सर गरेको रोट्रयाक्ट क्लब अफ भैरहवाले विद्यालयमा पानी सहयोग, बाढी पीडितलाई सहयोग, ट्राफिक जनचेतनामूलक कार्यक्रम, हेपाटाइटिस रोग सम्बन्धमा शिविर, घुम्ती रक्तदान शिविर, कमजोर आर्थिक अवस्था भएकाहरुको उपचारमा सहयोग गरको छ । 

समाज विभिन्न चरण पार गर्दै अगाडी बढ्ने गर्दछ । आर्थिक, राजनैतिक, धार्मिक जस्ता बृहत सामाजिक संस्था र विवाह, परिवार तथा नातेदार जस्ता संस्थाले समाज रुपान्तरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान दिएका छन् । जसले आदीमकालदेखी वर्तमान सम्म आइपुग्दा उल्लेखनीय योगदान दिएका छन् । ती चरणहरु पार गर्ने क्रममा विभिन्न आरोहअवरोहहरु पनि पैदा हुने गर्दछन् । आरोह अवरोहले नै द्वन्द्व सृजना गराउँछ । द्वन्द्वले नै समाजको रुपान्तरण गर्ने गर्दछ । वैज्ञानिक तवरको द्वन्द्वको रुपान्तरणले हरेक समाज तथा मुलुकमा शान्ति र समृद्धिको ढोका खोल्ने गर्दछ । त्यसको लागि द्वन्द्वको सही व्यवस्थापन जरुरी छ । द्वन्द्व समाधानको लागि  विश्वास र आस्था पनि अपरिहार्य हुने गर्दछ । वर्तमान परिवेशमा त्यो विश्वास र आस्थाको पर्यावाचीको रुपमा लुम्बिनी हुन सक्छ । लुम्बिनी, जहाँ आज भन्दा २६०० वर्ष पहिले बुद्धको जन्म भयो । शान्तिका अग्रदूत बुद्ध जन्मस्थल लुम्बिनी अबको परिवेशमा दुनियाको लागि शान्ति र समृद्धिको उपयुक्त दृष्टान्त बन्न सक्दछ । जसको लागि युनेस्को र नेपाल सरकारले विशेष तयारीको साथ काम थाल्नु जरुरी छ । विश्व समाजको रुपान्तरणमा लुम्बिनीको योगदान ओजपुर्ण हुन सक्छ । बुद्ध बचनको रुपमा रहेका चार आर्य सत्य दुखः छ, दुखको कारण छ, दुख हटाउन सकिन्छ र दुख हटाउने बाटाहरु छन् भन्ने विषयमा विश्वस्त भई त्यसतर्फ मानव अग्रसर भएमा समाज सधैं सहि मार्गमा अगाडी बढ्दछ ।   
अन्तयमा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माद्वारा रचित कविताको केही अंश :

भूमन्डलीकरण बजारबाद हो 
यसबाट विश्वका साम्रज्य ढलेका छन
नवीन साम्रज्य खडा भएका छन्
यसले मान्छेभित्रको समवेदना मारिदिएको छ
मान्छेलाई पैसाको पुतली बनाइदिएको छ
हाम्रो प्रेस कसैको सम्प्रेषणमा होइन
हाम्रै परिवेशमा हुर्कनुपर्छ
अरुको नराम्रो मिल्काएर
राम्रोचाहि आफूमा नुनपानि झै मिलाईदिनुपर्छ । 
क्सैको पनि विवेक बन्धकीमा नपरोस्
क्सैको बुद्धि बजारको खसी नबनोस् ।।


सन्दर्भ सूची ः 
– चापागाई, बालकृष्ण, आम सञ्चार र प्रस्तावित शान्ति सिद्धान्तः एक अवभारणा, दैनिक
  पत्र वर्ष १०, अंक–२७५, २०७१ भाद्र १५, पृ. ५, बुटवल ।
– न्यौपाने, देवीप्रसाद, रूपन्देही जिल्लाको साहित्यिक विकासमा सिद्धार्थ साहित्य परिषद्को योगदान, 
  स्नाकोत्तर नेपाली, अप्रकाशित शोधपत्र, त्रिवि भैरहवा बहुमुखी क्याम्पस, सिद्धार्थनगर, रूपन्देही, 
  २०६४ । 
– सागर, विजय, भैरहवाका पत्रपत्रिकाहरू, पदचिन्ह, पाइला ३, २०६९ भदौ, पृ. ८९–९१,  
  भैरहवा ।
– ................., रूपन्देही जिल्लामा प्रकाशित पत्रपत्रिकाहरू, दैनिक पत्र, वर्ष १०, अंक ४१, २०७० 
  पौष २१, पृ.५, बुटवल । 
– शर्मा, बालचन्द्र (सम्पा.), नेपाली शब्द कोष, प्र.संस्क, रोयल नेपाल एकेडेमी, २०१९, 
  काठमाडौं । 
शर्मा, नारयण प्रसाद, पत्रकारिताः मेरो मनोयोग , नेपालभूमि साप्ताहिक २०६८
शास्त्री, मोदनाथ , नेपाल दर्शन निबन्ध संग्रह, मल्टी कलर प्रीन्टर्स, बुटवल २०७२ । 
नेपालको संविधान, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार काठमाण्डौं, २०७५ ।