२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

कलश बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा धिरज मल्लिक

शुक्रवार , आषाढ १७, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १७ असार ।
    श्री कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर, रुपन्देहीको ११ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले धिरज कुमार मल्लिकको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा विनिता गुप्ता, सचिवमा दुर्गा प्रकाश गुप्ता र कोषाध्यक्षमा गिरिशचन्द्र त्रिपाठी रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा सुदीश महासेठ, सन्तोष शुक्ला र कृष्ण प्रसाद अर्याल रहेको निर्वाचन अधिकृत अधिवक्ता दिलिप कुमार मल्लिकले बताए । त्यस्तै लेखा समिति संयोजकमा आशिष कर्ण, सदस्यमा दीपक कुमार मल्लिक, शिक्षा समितिको संयोजकमा मनोज कुमार अग्रहरी, सदस्यमा मोहम्मद बसीर मुसलमान, ऋण समितिको सदस्यमा विजय कुमार पाण्डे र राकेश कर्ण निर्वाचित हुुनुभएको मल्लिकले जानकारी दिए ।

    IMG-20220701-WA0006 (1).jpg

    साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले अर्थतन्त्रमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताए । उनले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि बढे मात्र मुलुक समृद्ध हुन सक्ने बताए । पूर्वमन्त्री पाण्डेयले संस्थामा नेतृत्व गर्ने व्यक्तिले राम्रो गरे मात्र संस्था अगाडि बढ्न सक्ने बताए । उनले भने, ‘सहकारी संस्था धेरै अगाडि बढेको छ, व्यवस्थित ढंगले सञ्चालन गर्न सक्यौ भने अगाडि बढ्छ ।’

    sahakari.jpg

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखाका बसन्त घिमिरेले सहकारीको मर्म बुझेर अघि बढ्नुपर्ने बताए । उनले केही सहकारीहरुले ऋण लगानी गर्ने तर जनजीवनमा परिवर्तन नआउने देखिएकाले परिवर्तन आउने गरी ऋण लगानी गर्नुपर्ने बताए ।
    लेखापरीक्षक लक्ष्मण पौडेलले सहकारीमा अनिवार्य मासिक बचतलाई प्राथमिकता दिनुपर्ने बताए । उनले मासिक बचत नगर्ने व्यक्ति शेयर सदस्य बन्न नहुने बताए ।

    सहकारीका सल्लाहकार अजय कुमार गुप्ताले संस्थामा सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए । उनले संस्था नाफामा जाने गरी अगाडि बढ्नुपर्ने बताए । सहकारीका अध्यक्ष अब्दुल रसीद पठानको अध्यक्षता, व्यवस्थापक सावित्री रानाको स्वागत तथा सचिव धिरज कुमार मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष अब्दुल रसीद पठानले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विनित बेरिवालले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सन्तोष शुक्लाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    २०६४ सालमा स्थापना भएको श्री कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल ३०३ जना शेयर सदस्य रहेका छन् । 

    पत्रकार गुप्तासहित संस्थाका कर्मचारी सम्मानित

    साधारणसभाको अवसर पारेर संस्थाका प्रेस सल्लाहकार समेत रहेका पत्रकार रबिन्द्र प्रताप गुप्ता सम्मानित भएका छन् । उनलाई सहकारीले नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरेको हो । कार्यक्रममा संस्थाकी व्यवस्थापक सावित्री राना, वरिष्ठ सहायक शोभा मिश्रा, बजार प्रतिनिधि खिर कुमारी क्षेत्री, सेफाली गुरुङ, लक्ष्मी वि.के. र कार्यालय सहायक अभिषेक गुप्तालाई सम्मान गरिएको थियो ।