२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिद्धार्थनगरमा बुधबारदेखि विद्यालय सञ्चालन हुने

मंगलवार , मंसिर ९, २०७७

भैरहवा, ९ मंसिर ।
सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्रका विद्यालयहरु मंसिर १० गतेदेखि सुचारु हुने भएका छन । नगरपालिकामा मंगलबार बसेको शिक्षा समितिको बैठकले मंसिर १० गतेदेखि विद्यालय भौतिक रुपमा पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो । 

कोभिड–१९ को महामारीले गर्दा देशभर सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट प्रत्यक्ष रुपमा विद्यार्थीहरुको पठनपाठन सुचारु हुन नसकेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सन्चालन गर्ने नगरपालिकाले जनाएको छ । 

नगर शिक्षा समितिका अध्यक्ष तथा नगरप्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले विद्यालयहरुलाई भयरहित एवंम सुरक्षित तवरमा सञ्चालनमा ल्याई नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य रुपमा पालना गराउने निर्र्णय गरेको छ । 

बैठकले विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग, तापक्रम मापन गर्ने व्यवस्था तथा हात धुने व्यवस्था मिलाउनु पर्ने निर्णय गरेको नगर शिक्षा समितिका सदस्य तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।

कुनै पनि विद्यार्थीलाई कोभिड १९ को कुनै लक्षण देखिएमा नगरपालिकाको स्वास्थ्य शाखामा समन्वय तथा सम्पर्क गर्न पनि नगरपालिकाले जनाएको छ । नेपाल सरकार मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार विद्यालय सन्चालन गर्ने पनि समितिका सदस्य तथा शिक्षा अधिकृत जानवी पाण्डेले बताइन् ।

बैठकले बस सञ्चालन गर्ने विद्यालयहरुले बस भाडावापत लिने मासिक शुल्कलाई विद्यार्थी बस चढेको दिनलाई मात्र गणना गरेर लिने व्यस्था मिलाउने पनि निर्णय गरेको छ । 

बैठकमा नगरउपप्रमुख उमा काफ्ले, समितिका सदस्य मोतिलाल सुवेदी ,धना थापा, फैज अहमद खान, कुलानन्द ज्ञवाली, विष्णु पन्थी, राजु शर्मा ढकाल, चर्तुभुज रेग्मी, चेत बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।