
बुधवार , मंसिर १०, २०७७
बुटवल, १० मंसिर ।
लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बुटवलमा कालोझण्डा देखाइएको छ । दोस्रो पटक अर्थमन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आएका अर्थमन्त्री पौडेललाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । कांग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीका कार्यकर्ताले पौडेललाई बुटवलस्थित अस्पताललाइन, पुरानो बसपार्क र नेपालगंज रोडमा कालोझण्डा प्रदर्शन गरिएको छ ।
बुधबार बिहानै सैनामैनाका बिभिन्न कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा कांग्रेस कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गर्दै मन्त्री पौडेलविरुद्ध नाराबाजी समेत गरेका थिए । प्रदर्शनमा सहभागिहरुले पौडेलले अर्थमन्त्री पदसंग प्रदेशको राजधानी साटेको आरोप लगाउँदै कालो झण्डा देखाएको नेका नेतृ जमुना ढकालले बताइन् । मन्त्री पौडेलको सुरक्षामा बुटवलदेखि सैनामैनासम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि कांग्रेस कार्यकर्ताहरुले सुरक्षा घेरा तोडेर कालो झण्डा प्रदर्शन गरेको नेतृ ढकालले सञ्चारकर्मीहरुलाई जानकारी दिइन् ।
प्रदेशको राजधानी सार्न गरिएको षड्यन्त्रविरुद्ध पौडेलले देखाएको राजनैतिक मौनताका विरोधमा कालो भण्डा प्रदर्शन गरिएको कांग्रेस बुटवल उपमहानगरका नगर सभापति खेलराज पाण्डेले बताए । पौडेलको राजनैतिक मौनताका कारण प्रदेशको राजधानी रुपन्देही हुनबाट वञ्चित रहेको दावी सभापति पाण्डेले गरेका छन् ।
मंगलबार रुपन्देही आएका महासचिव पौडेल बिहीबारसम्म विभिन्न कार्यक्रममा सहभागि भइ सांझ काठमाण्डौ फर्कने कार्यक्रम रहेको नेकपा रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij