
बुधवार , मंसिर १०, २०७७
बुटवल, १० मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुधबार बुटवलमा कालोझण्डा देखाएकोप्रति नेकपा रूपन्देहीले आपत्ति प्रकट गरेको छ । नेकपा रुपन्देहीले बुधबार एक विज्ञप्ती जारी गर्दै विभिन्न कार्यक्रममा सहभागि हुन गृह जिल्ला आएका नेता पौडेललाई नेपाली कांगे्रस रुपन्देहीका कार्यकर्ताले कालोझण्डा देखाएर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेकोमा आपत्ति जनाएको हो ।
यसअघि कांगे्रसका बिभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताले बुटवलस्थित नेपालगंज रोड क्षेत्रमा भेला भए अर्थमन्त्री पदसंग प्रदेशको राजधानी साटेको भन्दै नाराबाजीसहित कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए ।
नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंद्वारा जारी विज्ञप्तीमा ‘शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाई सँगसँंगै लडेको स्मरण गराउँदै जिल्लाका विकास आयोजनाहरूको उद्घाटन, शिलान्यास र अनुगमनको सिलुिलामा रहेका नेकपा नेता तथा अर्थमन्त्रीको विरोध गरेर कांग्रेसले आफूलाई यी सबै विकास प्रयासहरूको विपक्षमा खडा गर्न चाहेको त होइन भनेर गम्भिर प्रश्न खडा भएको’ उल्लेख छ ।
यस सन्दर्भमा नेपाली कांग्रेसलाई आफ्नो धारणा स्पष्ट गर्न नेकपा रुपन्देहीले आग्रह गरेको छ । उता नेपाली कांग्रेसले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्ने विषयमा नेकपा नेता विष्णुप्रसाद पौडेल मतियार बनेको र रुपन्देहीका जनतालाई धोका दिएको भन्दै शान्तिपूर्ण रुपमा सांकेतिक विरोध प्रदर्शन गरिएको जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij