२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सवा ४ अर्ब लागतमा ५० किलोमिटर तिनाउ-दानव कोरिडोर सडक निर्माण हुने

बुधवार , मंसिर १०, २०७७

बुटवल, १० मंसिर । 
मुलुककै आर्थिक केन्द्रका रुपमा विकास गर्ने उद्देश्यका साथ रुपन्देहीमा सवा ४ अर्वको लागतमा तिनाउ—दानव कोरिडोर सडकको निर्माण हुने भएको छ । सडक विभागका अनुसार तिनाउ नदीतर्फ ३५ किलोमिटर र दानव नदीतर्फ १५ किलोमिटर गरी ५० किमि लम्बाई बराबरको २ लेनको सडक निर्माण हुनेछ । नदीतर्फको ३ मिटर क्षेत्रमा हरियाली क्षेत्र बनाइनेछ भने त्यसपछि मात्र १४ मिटरको दुई लेन सडक हुनेछ । त्यस्तै बस्तीतर्फको सडक छेउमा फुटपाथ निर्माण गरिनेछ ।

विभागका अनुसार सो कोरिडोर सडक निर्माणका लागि पहिलो चरण अन्तर्गत तिनाउ नदीको ८.५० किमि र दानव नदीको ३.५० किलोमिटरका लागि ठेक्का सम्झौता भईसकेको छ । जसअनुसार तिनाउ कोरिडोरमा ५२ करोड ४६ लाख र दानव कोरिडोरमा १९ करोड ४२ लाख रुपैयामा किरांतेश्वर मैनाचुली अविसा जेवी र लामा बानियां जेवीसंग गत असोजमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार तिनाउतर्फको ३६ महिना र दानव तर्फको २७ महिनामा सडक निर्माण सक्नुपर्नेछ । 

कोरिडोर निर्माणपछि अहिले अतिक्रमण हुंदै आएको तिनाउ नदीको उकास क्षेत्र जोगिने र नदीको बहाव क्षेत्र पनि सुरक्षित हुने विश्वास गरिएको छ । उक्त महत्वाकांक्षी आयोजनाको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बुधबार एक समारोहकाबीच शिलान्यास गरे । 

सो अवसरमा बोल्दै मन्त्री पौडेलले यो आयोजनालाई रुपन्देहीका लागि मात्र नभई मुलुकै ड्रिम प्रोजेक्टको रुपमा अगाडी सारिएको बताए । रुपन्देहीलाई आर्थिक विकासको केन्द्र बनाउने उद्देश्यका साथ यो आयोजना अघि बढाइएको उनले बताए ।
अर्थमन्त्री पौडेलले वर्तमान सरकार एकपछि अर्को राष्ट्र र जनताको पक्षमा निर्णय गर्दै अघि बढिरहेको उल्लेख गर्दै सरकारले आफ्नो कार्यकालमा नतिजाजन्य र परिणाममुखी काम गरेर देखाउने बताए ।

सो आयोजना निर्माणका लागि नदी किनारमा रहेका ७ सय ५ वटा घरटहरा हटाउनुपर्ने र त्यसको लागि बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र सैनामैना नगरपालिकाले लिखित प्रतिवद्धता समेत गरिसकेका छन् ।