२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

विजनेश ‘हेल्थ चेकअप’ कसरी गर्ने ?

शुक्रवार , मंसिर १२, २०७७

बुटवल, १२ मंसिर । 
मानिसको स्वास्थ्य ठिक छ या छैन भन्ने पत्ता लगाउन स्वास्थ्य चेकजाँच गरेझै विजनेशमा पनि आफूले गरेको काम सही बाटोमा छ छैन भन्नको लागि त्यसका सम्पूर्ण कुराहरु चेकजाँच गर्नुपर्ने हुन्छ । 

मानिसको स्वास्थ्य चेकजाँच स्वास्थ्यकर्मी चिकित्सकहरुले गर्ने गर्दछन् । तर विजनेशको स्वास्थ्य चेकजाँच कसरी गर्ने ? मानिसको स्वास्थ्य चेकजाँच त्यससम्बन्धि ज्ञान भएको स्वास्थ्यकर्मी चिकित्सकले गर्दछन भने विजनेश हेल्थ चेकअपको लागि पनि विजनेश सम्बन्धि ज्ञान भएका व्यक्तिले गर्न सक्छन् । 

सामान्यतया विजनेश हेल्थ सही छ छैन ? के भएको छ ? के कुरा सुधार गर्नुपर्ने छ ? भन्ने कुरा जाँच्नको लागि लक्षणका आधारमा पहिचान गर्न सकिने यसका विज्ञहरु बताउँछन् । पुराना उद्योगी व्यवसायीलाई आफ्नो विजनेशको स्वास्थ्य अवस्थाको बारेमा अलिक जानकारी हुने भए पनि नव उद्यमीको लागि भने यो त्यति सजिलो छैन । यसैलाई मध्यनजर गरेर बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल र युवा उद्यमी मञ्च रुपन्देहीको सहकार्यमा बुटवलमा ‘नव उद्यमशाला’ विजनेश ईन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको छ । 

युवालाई लक्षित गरेर उद्यमशीताको विकासका माध्यमबाट आर्थिक सामाजिक योगदानका लागि तयार पार्न नव उद्यमशाला कार्यक्रम सञ्चालन गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाल बताउँछन् । चैतबाटै सुरु गर्ने तयारी गरिएपनि कोरोना भाईरस (कोभिड–१९) महाकारीका कारण सरकारले गरेको लकडाउन अन्त्य भएसंगै असारको १५ देखि यो कार्यक्रम सञ्चालन गरिएको छ । 

९ महिनासम्म सञ्चालन गरिने विजनेश ईन्कुवेशन कार्यक्रममा विजनेश सञ्चालन गर्दा आईपर्ने समस्या, समस्या समाधान गर्ने तौरतरिका, बजारको पहिचान लगायतका बिषयमा तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ । सोही अनुसारका गतिविधिहरु सञ्चालन भईरहेको बुटवल उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत तथा ईन्कुवेशन कार्यक्रमका फोकल प्रसन केशव ढकालले बताए । उक्त कार्यक्रममा सहभागि हुनको लागि २५ जना नयाँ उद्यमीले आवेदन गरेका थिए । तीमध्ये १३ जनालाई छनौट गरिएको थियो । 

विजनेश ईन्कुवेशन कार्यक्रमका प्रमुख साझेदार अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनाल सामान्य कुरामा ध्यान नदिँदा विजनेशमा असफल भएको धेरै देखिएको बताउँदै त्यस्तै कुराहरु सुधारको लागि विजनेश ईन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको बताउँछन् । उनका अनुसार विजनेशको सफलतासंग फाउण्डरको भिजन तथा मिसन, फाउण्डर फाउण्डर बिचको अन्तरसम्बन्ध, ‘रुल अफ ल’ (ऐन कानुन तथा नियम), डकुमेन्टेशन लगायतका कुराहरु अन्तरसम्बन्ध रहन्छ । 

त्यस्तै उपभोक्ताको आवश्यकता, उपभोक्तासंगको रिलेसनशिप, सम्बन्धित विषयमा ज्ञान, उत्पादित बस्तुको गुणस्तरलाई समेत ध्यान दिनुपर्ने उनले बताए । ‘कतिपय ठाउँमा आफूले उपभोग गर्नको लागि र विक्री गर्नको लागि समेत फरकफरक उत्पादन गरेको पाइन्छ ।’ उनले भने–‘विजनेशको स्वास्थ्यलाई दिगो बनाउने हो भने यस्ता कुराहरु सुधार गर्नुपर्छ ।’

सामान्य जानकारी, व्यवसायिक मोडल, आन्तरिक प्रक्रियाको व्यवस्थापन, कानूनको पालना, मानव संशाधनको व्यबस्थापन, ग्राहकसंगको सम्बन्ध, लेखा तथा बित्तीय व्यवस्थापन, विक्री व्यवस्थापन तथा कम्पनीप्रतिको विश्वसनीयता विजनेश हेल्थ मापनका आधार भएको उनले जानकारी दिए । 

‘विजनेश हेल्थ’ विजनेश ईन्कुवेशन कार्यक्रम भित्रको एउटा पार्ट हो । तर विजनेश र त्यसको हेल्थसंग भविश्य समेत जोडिएको कारण यसलाई महत्वपूर्ण पार्टको रुपमा लिइन्छ । ९ महिनासम्म सञ्चालन हुने यो कार्यक्रममा तालिम तथा कार्यशाला मात्रै नभएर कार्यक्रमका साझेदार नवउद्यमीहरुलाई पूर्ण रुपमा गाईड गर्ने सम्मको काम गरिने ढकालले बताए । त्यसको लागि प्राविधिक तथा औपचारिक ज्ञान भएका १८ जना मेन्टर्स समेत छनौट गरिएको छ । उनीहरु (मेन्टर)ले हप्तैपिच्छे कार्यक्रमका प्रमुख साझेदार नवउद्यमी (मेन्ट्रि)लाई गाईड गर्ने काम गर्दै आएका छन् । ‘उनीहरुलाई कसरी सफल बनाउने भन्ने कुरालाई ध्यान दिइन्छ । मुख्य त यो कार्यक्रमको प्रमुख लक्ष्य फेलियर हुन नदिने नै हो’–ढकालले भने ।