२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

तिमी र म कसरी ? एकै भयौ भनिदेउ न ?

बिहिवार , श्रावण १२, २०७९

म बिहान सबैरै उठदा, तिमी

बिस्तारमा सुतिरहेका हुन्छौ

तिमीलाई तिम्रो विस्तरामा

तातो चियाले स्वागत गर्दा

बल्ल तिमीले आफ्नो आँखा खोल्छौ 

कहिलेकाही मेरो बिस्तरामा मलाई पनि 

तातो चियाले स्वागत गरिदेउ न

होइन भने तिमी र म कसरी ?

एकै भयौ भनिदेउ न ?

...........................................

म बिहान झिसमिसेदेखि

रातको अन्धकारसम्म

तिमी र तिम्रो परिवारको निम्ति

आफूलाई समर्पित गरिरहन्छु

मेरा सारा खुसी दबाएर

तिम्रो परिवारको सुखमा सधै होमीरहन्छु

तिमी पनि कहिलेकाँही म जस्तै बनिदेउ न 

होइन भने तिमी र म कसरी ?

एकै भयौ भनिदेउ न ?

...............................................

तिम्रा सामान्य इच्छाहरु पुरा गर्न

म सधै सचेत रहन्छु,

तिम्रा खुसीका निम्ति,

मेरो सम्पूर्ण जीवन तिमीलाई सुम्पन्छु

कहिलेकाही म जस्तै

तिमी पनि सचेत भइदेउ न

होइन भने तिमी र म कसरी ?

एकै भयौ भनिदेउ न ?

....................................................

तिमीलाई सामान्य ज्वरो आउदा l

रातभरी म तिम्रो समिपमा हुन्छु ll

तिमीलाई सामान्य चोट लाग्दा l

म धेरै पटक रुन्छु ll

तिमी मबाट टाढा हुँदा l

म एक्लो बेसहारा बन्छु ll

तिमी पनि म जस्तै बनिदेउ न l

होइन भने तिमी र म कसरी ?

एकै भयौ भनिदेउ न ?

............................................

तिम्रो स्वार्थका निम्ति बारम्बार मलाई

दुर्गा, सरस्वती, देबीको उपनाम दिन्छौ

तिम्रो स्वार्थ पुरा भएपछि,

मेरो नामको उपनाम हटाइ दिन्छौ

तिमी पनि कहिलेकाँही ब्रहम्मा,बिष्णु,

अनि महेश्वर बनिदेउ न 

होइन भने तिमी र म कसरी ?

एकै भयौ भनिदेउ न ?

........................................................

तिमी ब्रम्हा, विष्णु, महेश्वर बन्न सक्दैनौ भने

मलाई नारी, जननी, धर्ती भनि नभनीदेउ न

तिमी पनि म जस्तै हुन् सक्दैनौ भने

लैंगिक स्वतन्त्रताका सबै किताबहरु जलाई देउन

होइन भने तिमी र म कसरी ?

एकै भयौ भनिदेउ न ?