२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल बिजयी

आइतवार , मंसिर १४, २०७७

काठमाडौं, १४ मंसिर । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्योगी व्यवसायी चन्द्रप्रकाश ढकाल बिजयी भएका छन् । महासंघको ५४ औ बार्षिक साधारण सभा अन्तर्गत शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । 

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले अध्यक्ष बाहेकका पदमा मात्र मतदान भएको थियो । बिधानतः निबर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्षमा निर्वाचित भएका छनभने यसपछिको आगामी कार्यकालको अध्यक्षमा ढकालले आफ्नो स्थान पक्का गरेका छन् । 

यसैगरि वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ,  जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार महासंघमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत र अन्यतर्फ ५० प्रतिशत गरि मतभार बराबर हिस्सा हुन्छ ।

जिल्ला नगरतर्फ कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत प्राप्त गरेका थिए । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मत मध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत पाएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी महासंघमा ६० जना कार्यकारणी सदस्यहरु पनि निर्वाचित भएका छन । 

निर्वाचित भएपछि संचारकर्मीहरुसँग कुरा गर्दे वरिष्ठ उपाध्यक्ष ढकालले आफुले सम्पुर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जित भनेको व्यवसायीको जित भएको प्रतिक्रिया दिएका छन् । प्रतिद्धन्दि प्रधानले जस्तै आफ्नो प्यानलै बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणा सँगै आफुले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

नवनिर्वाचित अध्यक्ष ढकालले भने—‘आजदेखि हाम्रो काम पक्ष विपक्षमा कुरा गर्ने भन्दा पनि सम्पुर्ण निजी क्षेत्रको आवाज उठाउने हो, नियमनकारी निकायसँग एडभोकेसी गर्ने हो । मेरो जित भनेको सम्पुर्ण व्यवसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।’ यस्तै एसोसियट तर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिए । उनले आफु निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरि निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए । 

उनले कोरोना कहरका कारण समस्याग्रस्त बनेको उद्योग ब्यबसायको क्षेत्रमा लगानीको अवसर र वातावरण संगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताए ।

जिल्ला नगर तर्फको उपाध्यक्षमा बिजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैमा सवल र सक्षम बनाउनुको साथै व्यवसायीक ज्ञान वृद्धि लगायत तर्फ आफ्नो पहल हुने बताए । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उनलेले उल्लेख गरे ।

वस्तुगत तर्फको उपाध्यक्षमा बिजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफुले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।