
आइतवार , मंसिर १४, २०७७
परासी, १४ मंसिर ।
काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नवलपरासीको धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण अवलोकन गरेका छन् । रामग्राम नगरपालिकाको निम्तो स्वीकार गरी भगिनी सम्बन्ध स्थापना गर्न आएका प्रमुख शाक्यले शान्तिका अग्रदुत गौतमबुद्धको अष्टिधातु रहेको रामग्राम स्तुप, गौतम बुद्धको मावली पण्डितपुर र त्रिवेणी धाम लगायतका क्षेत्रहरुको भ्रमण अवलोकन गरेका हुन् ।
रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले काठमाण्डौ महानगरपालिका प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्की, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, विभिन्न वडाअध्यक्ष एवं कार्यपालिका सदस्यसहितको टोलीलाई रामग्राम नगरपालिकामा भव्य स्वागत गर्दै ती ऐतिहासिक, पुरातात्विक, धार्मिक क्षेत्रहरुको भ्रमण अवलोकन गराएका हुन् ।
ती धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको भ्रमण अवलोकन गरेपछि महानगरपालिकाका प्रमुख, उपप्रमुखसहितको टोली निकै खुशी र उत्साहित भएको थियो । रामग्राम नगरपालिकाभित्रका सम्पदा, पर्यावरण क्षेत्र र नगरको विकासमा सहकार्य गरेर अगाडी बढ्न दुबै तहबीच भगिनी सम्बन्ध समेत स्थापना भयो ।
त्यसैबीच रामग्राम नगरपालिकाले काठमाण्डौ महानगरपालिका पदाधिकारी तथा जिल्लाका राजनीतिक दलहरुबीच परिचयात्मक कार्यक्रम पनि गरेको छ । रामग्राम नगरपालिकाको आयोजना तथा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता र काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा उक्त परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली कांग्रेस जिल्ला अध्यक्ष विष्णु पौडेल, जनता समाजवादी पार्टी नेपालका (जसपा) वरिष्ठ नेता विजय अग्रहरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सन्तोष पाण्डे, स्वतन्त्र राजनीतिक समूह जिल्ला संयोजक राधेरमण पाण्डे, नागरिक समाज अध्यक्ष कैलाश ठाकुर, उद्योग वाणिज्य संघ उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरी, वाणिज्य उपाध्यक्ष सन्तोष गुप्ता, समाजसेवी श्याम बस्याल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख नरेन्द्र कुमार गुप्ता, प्रमुख अतिथि काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खडकी, रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुँवर, काठमाण्डौं महानगर प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, रामग्राम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थी लगायतले भगिनी सम्बन्ध स्थापनाले दुवै पालिकाबीचको सम्बन्ध बलियो बनेको बताए । यता राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले पनि रामग्राम नगरपालिका विकासमा फड्को मारिरहेको र यसलाई काठमाण्डौ महानगरले थप हौसला र सहयोग प्रदान गर्न आवश्यक रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij