बुटवल, २१ साउन ।
करदाताको वित्तीय विवरण एउटाले तयार पार्ने र अर्कोले प्रमाणित गर्ने गरेका कारण लेखा परीक्षण प्रणालीमा समस्या उत्पन्न हुने गरेको सरोकारवालाले बताएका छन् । फाइल तयार गर्ने व्यक्ति जवाफदेही नहुने र जसले फाइल नै अध्ययन नगरी सहीछाप गर्छ उसलाई फाइलका विषयमा कुनै जानकारी नहुने समस्याका कारण कर प्रणालीमा प्रश्न उठ्ने गरेको उनीहरुले बताए ।
नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीले संस्थाको १७ औं स्थापना दिवस (अडान डे)का अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्ने सरोकारवालाहरुले कतिपय लेखापरीक्षकमा आधारभूत ज्ञानको अभावमा केही कमी कमजोरी भए पनि पछिल्लो समय लेखापरीक्षण प्रणालीमा धेरै सुधार भएको बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले हरेक पेशामा सुधारको आवश्यकता रहेको भन्दै आफ्नो पेशाा र व्यवसायप्रति सबै जावाफदेही हुनुपर्ने बताए ।
व्यापार व्यवसाय सधै नाफामा हुँदैन, नाफा घाटाको दायित्व लेखापरीक्षकले लिने होइन प्रमुख कर अधिकृत आचार्यले भने–‘जे जस्तो छ यथार्थ आर्थिक विवरण प्रस्तुत गरेर सबैले आफ्नो दायित्व र जिम्मेवारी पुरा गरौं ।’ व्यवसायीले तत्कालिन सहजता र फाइदा हेरी भविष्यको जोखिम नहेर्ने भएकाले करदाताले भविष्यमा मोल्नुपर्ने जोखिमका विषयमा समयमै व्यवसायीलाई सचेत बनाउने काम लेखापरीक्षकले गर्नुपर्नेमा उनले जोड दिए ।
आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत ध्रुव प्रसाद पाण्डेले करदाताको आर्थिक विवरणको फाइल एउटाले तयार पार्ने र अर्कोले अध्ययन नै नगरी फाइलमा सहीछाप गर्ने गरेका कारण कर प्रणालीमा समस्या आउने गरेकाले यसमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुका कर अधिकृत दिनेश पाण्डेले करको विषय सजिलो विषय होइन भन्दै लेखापरीक्षकको व्यवसायिक दक्षता र कर प्रणाली बुझेर लेखापरीक्षण गर्ने हो भने करका विषयमा समस्या नआउने बताए ।
नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीका अध्यक्ष राम प्रसाद पौडेलको सभापतित्व र सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका कर अधिकृत धनिश्वर अर्यालले आर्थिक ऐन २०७९ बाट संशोधन भएका करसम्बन्धि विषयमा प्रशिक्षणमूलक प्रस्तुति दिएका थिए ।
सो अवसरमा नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय उपमहासचिव सावित्री शर्मा, केन्द्रीय सचिव नेत्र प्रसाद ज्ञवाली, केन्द्रीय सदस्य नारायण प्रसाद घिमिरे, बुटवल उद्योग वाणिज्य संघका महासचिव बिमलराज भट्टराई, रुपन्देही उद्योग संघका महासचिव हरि खत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, आइक्यान बुटवल च्याप्टरका सिए शिवहरि शर्मा, इक्यानका निवर्तमान अध्यक्ष छवि पोखरेल, नेपाल अडिटर्स एशोसियसन लुम्बिनी प्रदेश अध्यक्ष ओम बहादुर मल्ल लगायतले बोल्दै दक्ष जनशक्तिको अभावका कारण लेखापरीक्षण व्यवसायमा समस्या आएको बताए । लेखापरीक्षकबाट हुने गल्ती कमजोरीका कारण धेरै करदाता व्यवसायी समस्यामा पर्ने गरेको भन्दै उनीहरुले सबै आफ्नो पेशाप्रति जवाफदेही हुँदै कामको नैतिक दायित्व लिनुपर्ने बताए । १७ औं स्थापना दिवस (अडान डे) को अवसरमा केक काटेर एकआपसमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।