२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

‘पर्यटन प्रवर्द्धनमा रात्रीकालिन बजारको भूमिका महत्वपूर्ण’

बिहिवार , भाद्र २, २०७९

भैरहवा, २ भदौ ।
पछिल्लो समय यस क्षेत्रमा तीव्र विकाससँगै पर्यटनमा उत्साह थपिएकोले अब सोहीअनुसार अगाडि बढ्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले पर्यटक धेरै आए पनि उनीहरुको बसाई लम्ब्याउन नसकिएको चिन्ता व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि रात्रीकालिन बजारको अवधारणालाई अघि बढाउनुपर्ने बताए । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकोले यहाँ आउने पर्यटकलाई मध्यनजर गर्दै अब रात्रीकालिन बजार सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

उद्योग व्यापार संगठन, रुपन्देही र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पर्यटन प्रवद्र्धनमा रात्रीकालिन बजारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरको विकासका लागि मैले मात्र किन गर्ने भन्दा पनि हामी सबैले मिलेर गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुपर्ने बताइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि नगरको सरसफाईमा ध्यान दिनपर्ने बताइन् । उपप्रमुख अधिकारीले भनिन्, ‘रात्रीकालिन बजारको अवधारण ठीक छ, यसलाई सफल बनाउन सबै एकताबद्ध हुनुपर्छ । ’उनले कुनै निश्चित स्थान तोकेर रात्रीकालिन बजार सञ्चालन गर्न सकिने र यो योजनालाई साकार पार्न कुनै कुरामा पछि परे सफल हुन नसकिने बताइन् । सुरक्षासहितको मापदण्ड बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पर्यटनको विकास निजी क्षेत्रले गर्नुपर्ने र सरकारले सहजीकरण गर्ने बताए । उनले पर्यटन भन्नेबित्तिकै होटल व्यवसाय मात्र नभइ धेरै व्यवसाय जोडिने बताए । प्रजिअ पाण्डेले भने, ‘निजी क्षेत्र पर्यटनमैत्री बन्नुपर्छ । ’रात्रीकालिन बजार सञ्चालनका लागि सुरक्षा दिने काम सुरक्षा निकायको मात्रै हो भनेर पन्छिन नपाइने उनको भनाइ थियो । उनले निजी क्षेत्र संवेदनशील बन्नुपर्नेमा जोड दिए । उनले भने, ‘निजी क्षेत्रबाट कुनै कमीकमजोरी नहुने गरी अगाडि बढ्नुपर्छ, तोकेको मापदण्डभित्र सञ्चालन गरे समस्या आउँदैन ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले स्थलमार्ग हुँदै धेरै पर्यटक बेलहिया नाकाबाट प्रवेश गर्ने भएकाले पनि यस क्षेत्रको आफ्नै महत्व रहेको बताए । उनले रात्रीकालिन बजारका लागि सुरक्षा मुख्य कुरा भएको बताए । 
लुम्बिनी पर्यटन परिषद्का कार्यकारी अधिकृत रामु जोशीले रात्रीकालिन बजारका लागि कार्यदल बनाएर अध्ययन गर्नुपर्ने बताए । 
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले पर्यटकको बसाई लम्ब्याउन रात्रीकालिन बजार आवश्यक रहेकोमा जोड दिए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडानहरु पनि सञ्चालन गर्नुपर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले संघले रात्रीकालिन बजारको कुरा विगतदेखि नै उठाउँदै आएको र हरेक सकारात्मक काममा संघले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष सागर अधिकारीले रात्रीकालिन बजार अहिलेको आवश्यकता रहेको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र यहाँबाट जाने यात्रुलाई मध्यनजर गर्दै सेवासुविधा थप्नुपर्ने बताए ।

सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष संजय बजिमयले तीनै तहको सरकारले पर्यटन क्षेत्रको विकासका लागि काम गर्नुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका जनसम्पर्क एवं सूचना अधिकृत तथा पर्यटन विज्ञ डा. हरिध्वज राईले गुणस्तरीय पर्यटनका लागि रणनीति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि प्रा.डा. कपिलदेव लामिछाने, सागर अधिकारी र संजय बजिमयले टिप्पणी गरेका थिए ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक गणेश प्रसाद बेल्बासेको स्वागत, संगठनका अध्यक्ष पिताम्बर न्यौपानेको धन्यवाद ज्ञापन तथा महासचिव राजेश महोत्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।