२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने व्यवसायीको माग

आइतवार , भाद्र ५, २०७९

भैरहवा, ५ भदौ ।
पर्यटन क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने व्यवसायीले माग गरेका छन् । कोभिड–१९ ले प्रभावित भएको पर्यटन व्यवसायलाई अघि बढाउन सरकार गम्भिर हुनुपर्ने उनीहरुको माग छ ।

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशको शनिबार भैरहवामा भएको १४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा बोल्ने व्यवसायीहरुले सरकारले पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीहरुसँग सहकार्य गर्नुपर्ने बताए । तेस्रो मुलुकको पर्यटकले मात्र नेपालको पर्यटन क्षेत्र धान्न नसक्ने भएकाले आन्तरिक तथा छिमेकी मुलुकका पर्यटकलाई पनि उत्तिकै महत्व दिनुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटनको क्षेत्रमा सरकारले विशेष चासो र ध्यान दिन जरुरी रहेको बताए । 

नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईले पर्यटन ऐनमा परिवर्तन हुनुपर्ने बताए । उनले कर उठाएर कार्यकर्ता पाल्ने काम मात्र गर्न नहुने बताए । उनले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि पर्यटन विज्ञसँग सल्लाह लिनुहोस्, पार्टीको कार्यकर्तासँग होइन ।’ यातायात ऐन र पर्यटन ऐनमा एकरुपता हुनुपर्ने उनको भनाइ थियो । निवर्तमान अध्यक्ष गुरागाईले केन्द्रमा र प्रदेशमा भएका ट्राभल व्यवसायीलाई एउटै नियम लगाउन नहुने बताए । उनले थला परेको पर्यटन व्यवसायलाई थिचोमिचो गर्ने काम भएको गुनासो गरे । उनले भने, ‘प्रदेशको कर उठाउने होडबाजी चलेको छ, झण्डै तीन वर्षदेखि भएको पर्यटन व्यवसाय धरासायी भएको छ, बैंक ब्याजदर बढेको छ ।’

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष सागर अधिकारीले लुम्बिनीका गुम्बामा बाहिरबाट आउने मान्छे राख्दा होटल व्यवसायी मर्कामा परेको बताए । उनले भने, ‘मोबाइल, हार्डवेयर, मेडिकल स्टोरले टिकट बेचिरहेको अवस्थामा हामीले के विक्री गर्ने, हामीले सरकारसँग गुनासो नगरे कोसँग गर्ने, कानून बनाउन डराउनुपर्दैन, कानूनको पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याउनुस् ।’ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले नेपाल एअरलाइन्सको जहाज उड्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्माले पर्यटनको विकास निजी क्षेत्रको मात्र अभियान नभएकाले यो क्षेत्रको विकासका लागि सरकारले पनि ध्यान दिनुपर्ने बताए । उनले तेस्रो मुलुकको पर्यटकले मात्र मुलुकको अर्थतन्त्र धान्न नसक्ने भएकाले आन्तरिक तथा भारतीय पर्यटकलाई पनि उत्तिकै ध्यान दिनुपर्ने बताए ।

नाट्टा सुदुरपश्चिम प्रदेशका अध्यक्ष पदम विक्रम सिंहले आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने बताए । उनले पर्यटनको क्षेत्रमा लुम्बिनी प्रदेशले उत्कृष्ट कार्य गरेको बताए ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्दा पनि भारतका कुनै पनि शहरमा किन उडान सञ्चालन गर्न सकेका छैनौं भन्दै प्रश्न गरे । उनले नीति कागजमा भन्दा पनि व्यवहारमा ल्याउनुपर्ने बताए । उनले भने, ‘पर्यटन ल्याउने अभियानमा राज्य पनि लाग्नुपर्छ ।’

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका मुख्य सल्लाहकार माधव नेपाल, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्इक्ष विष्णु प्रसाद शर्मा, महासचिव चन्द्र बहादुर थापा लगायतले बोल्दै पर्यटन क्षेत्रको विकासका लागि सरकार अझ गम्भिर भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले भारतबाट थुप्रै पर्यटक भित्र्याउन सकिने र त्यसका लागि मिहिनेत गर्नुपर्ने बताए । उनले पर्यटन व्यवसायीले दुःख नपाउन भन्ने उद्देश्यले सरकार अघि बढेको बताए । मन्त्री चौधरीले भने, ‘सरकारसँग आशा छ तर विश्वास छैन जस्तो कुरा व्यवसायीबाट आइरहेको छ, तर त्यस्तो होइन, सरकार जहिले पनि व्यवसायीसँग समन्वय र सहकार्य गर्न चाहन्छ, हाम्रा केही कमीकमजोरी होलान, ती कमीकमजोरीलाई सच्याउन चाहन्छौं, लुम्बिनी प्रदेश सरकार मिलेर काम गर्न चाहन्छ । ’ आफूले पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि पर्यटन व्यवसायीसँग व्यापक छलफल गरेको बताए । उनले पर्यटन व्यवसायलाई कसरी प्रोत्साहन गर्न सकिन्छ त्यसमा लागिपरेको बताए । व्यवसायीको पीडा आफूलाई राम्रोसँग जानकारी भएको उनको भनाइ थियो ।