
उद्यमशिलता विकासमा योगदान पुग्ने विश्वास
बुधवार , मंसिर १७, २०७७
बुटवल, १७ मंसिर ।
बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गरेको नवउद्यमशाला (विजनेश ईन्कुवेशन) कार्यक्रमको कार्यालय उद्घाटन गरिएको छ । उक्त कार्यालयको बुधबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् । नव उद्यमीहरुलाई प्रवद्र्धनको लागि सञ्चालन गरिएको विजनेश ईन्कुवेशन कार्यालयको लागि बुटवलको संगमपथमा रहेको बुटवल उद्योग वाणिज्य संघको पुरानो भवनमा कार्यालय स्थापना गरिएको हो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा प्रा.लि., लुम्बिनी बाणिज्य क्याम्पस बुटवल र युवा उद्यमी मञ्च रुपन्देहीको सहकार्यमा बुटवलमा विजनेश ईन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको छ । कोरोना महामारीका कारण चैतदेखि नै सुरु गर्ने तयारी गरिए पनि असारदेखि सुरु भएको थियो । यो कार्यक्रम ९ महिनासम्म सञ्चालन हुनेछ ।
त्यस अवसरमा बोल्दै नगरप्रमुख सुवेदीले विजनेश ईन्कुवेशन कार्यक्रम बुटवल नगरपालिकाको लक्ष्य उद्यमशिलता विकाससंग जोडिएको बताए । उनले उद्यमशिलता विकासको लागि शुन्य व्याजमा लगानी व्यवस्थापन गर्ने नगरपालिकाले तयारी गरेको बताउँदै संघीय तथा प्रदेश सरकारले समेत न्यून व्याजदरमा लगानी गर्ने नीति लिएकोले त्यसले उद्योग धन्दा व्यवसाय सञ्चालनमा सहज बनाउने विश्वास व्यक्त गरे । सुवेदीले कहीँ पनि सरकार आफैले सबैथोक नगरेको भन्दै सबैको सहकार्यमा उद्यमशिलता विकास र त्यसकै माध्यमबाट मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने बताए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले सरकारलाई सहयोग गर्ने गरी प्रोजेक्टहरु सञ्चालन गरिएको जानकारी गराउँदै त्यस्ता प्रोजेक्टहरुमा सहयोग गर्न नगरप्रमुख सुवेदीसंग आग्रह गरे । उनले उद्योग वाणिज्य संघले प्रदेश संरचना स्थापनासंगै आफ्नो सचिवालय भवन प्रदेशसभा सञ्चालनको लागि सरकारलाई उपलब्ध गराएपछि बालमन्दिरमा सचिवालय सञ्चालन गर्दा पूर्वाधार संरचना नभएका कारण कार्यक्रम सञ्चालनमा समेत समस्या भएकोले प्रयाप्त प्रोजेक्टहरु सञ्चालन गर्न नसकिएको उल्लेख गरे ।
ईन्कुवेशन कार्यक्रमको साझेदार संस्था लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका प्रतिनिधि डिल्लीराज गौमतले उद्योग धन्दामा आवश्यक जनशक्ति उत्पादन भए पनि उद्योग धन्दा खुल्न नसक्दा उत्पादित जनशक्ति विदेश पलायन हुन बाध्य भएको बताउँदै मुलुक भित्रै उत्पादित जनशक्ति व्यबस्थापन गर्ने गरी उद्योग धन्दा खोल्ने वातावरण बनाउनुपर्ने भनाइ राखे । युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष उमेश अमात्यले उद्यमशिलता विकासमा मञ्चले काम गर्दै आएको जानकारी गराउँदै उद्यमशिलता विकासकै लागि युवा उद्यमी मञ्चले एनएमबी बैंकसंग १० लाख रुपैयाँसम्म बिना धितो ऋण उपलब्ध गराउने गरी सम्झौता गरिएको बताए । त्यसका लागि मञ्चको सिफारिस हुनुपर्नेछ ।
अन्तरप्रेरणा प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत निरज खनालले तालिम प्रदान गरेर प्रमाणपत्र दिने भन्दा पनि उनीहरुले सञ्चालन गरेको विजनेश ग्रोथको लागि विजनेश ईन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको बताए । बुटवल उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत तथा ईन्कुवेशन कार्यक्रमका फोकलपर्सन केशव ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij