२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बाल सुधार गृहलाई पुस्तक हस्तान्तरण

शुक्रवार , मंसिर १९, २०७७

भैरहवा, १९ मंसिर ।
महान्यायाधिवक्ताको कार्यालयमार्फत उच्च सरकारी वकील कार्यालय बुटवल, रुपन्देहीले बाल सुधार गृह भैरहवालाई पुस्तक हस्तान्तरण गरेको छ । 

शुक्रबार बाल सुधार गृहमा आयोजित एक कार्यक्रमकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, उच्च सरकारी वकील कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता मोहन सागर बस्याल, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता डम्बर प्रसाद काफ्ले, रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेल, सशस्त्र प्रहरी प्रमुख तेज पोखरेल र लुम्बिनी प्रेस क्लबका सचिव शंकर पाण्डेले बाल सुधार गृह प्रमुख शुभद्रा गौतमलाई पुस्तकहरु हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बालगृहमा रहेका बालकहरुलाई पुस्तक अध्ययन गरेर सुधारिने मौका मिलोस् भन्ने अभिप्रायले पुस्तक हस्तान्तरण गरिएको बताए । उनले बाल सुधार गृहबाट बाहिर निस्केपछि सजिलै पुर्नस्थापित गर्न पनि पुस्तकबाट आर्जन गरिएको ज्ञानले सहयोग पुग्ने बताए ।

उच्च सरकारी वकील कार्यालय बुटवल, रुपन्देहीका प्रमुख सह–न्यायाधिवक्ता मोहन सागर बस्यालले सानो कुराले पनि ठूलो नतिजा ल्याउने बताए । उनले बाल सुधार गृहलाई २१५ प्रकारका पुस्तक हस्तान्तरण गरिएको जानकारी दिए । नेपालको संविधान, साहित्य, कानूनी विषय, कथा, उपन्यास, सफल व्यक्तिको जीवनी÷कथा समेटिएको १ लाख १७ हजार ५ सय मुल्य बराबरको पुस्तक हस्तान्तरण गरिएको उनले बताए ।

उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्युटर अपरेटर बुद्धि पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।