
शनिवार , मंसिर २०, २०७७
हुम्ला, २० मंसिर ।
नेपालको हुम्ला हुँदै तिब्बतको प्रसिद्ध तीर्थस्थल कैलाश पर्वत मानसरोवर दर्शन गर्न जाने तीर्थ यात्रीका लागि सहज बनाउने उद्देश्यले थप सम्भाव्यता अध्ययन सुरु गरिने भएको छ । हुम्लाको सिमकोट विमानस्थल र हिल्सा हेलिपोर्ट हुँदै कैलाश मानसरोवर पुग्ने पर्यटकहरुको संख्या अत्याधिक बढेकोले अन्य विमानस्थलका बारेमा थप सम्भावनाको खोजी गरी हुम्लाको विकासमा टेवा पु¥याउने उद्देश्यले सम्भाब्यता अध्ययन सुरु गरिने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विशेष गरी नेपालगंजबाट सिमकोट र हिल्सा हुँदै नेपाल, भारत र चिनको त्रिदेशीय सिमा क्षेत्रमा पर्ने तिब्बतको कैलाश पर्वत तथा मानसरोवर तालको दर्शन तथा अवलोकन गर्न जाने पर्यटक खास गरी भारतीय तीर्थयात्रीको चापलाई मध्यनजर राखेर अध्ययन सुरु गरिएको छ । सिमकोट र हिल्सा यी दुई विमानस्थलले चाप थेग्न नसक्ने देखिएकोले देशका अन्य ५५ विमानस्थलमध्ये यस क्षेत्रमा रहेका र सम्भावना भएकालाई प्राथमिकताका साथ स्तरउन्नती गरी योजना अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश कुमार भट्टराईले सिमकोट विमानस्थलको अनुगमनका क्रममा हुम्लाबाट कैलाश मानसरोवरको दर्शन गर्न अन्य सम्भाव्यता अध्ययन गर्नुपर्ने र हुम्लीको विकासका लागि गुरुयोजना बनाउनुपर्नेमा जोड दिएका थिए । हुम्लाको सिमकोट एयरपोर्ट अर्थात विमानघाट हो भने हिल्सा हेलिकप्टर पोर्टका रुपमा प्रयोग हुँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij