
संरक्षित पुँजी फिर्ता कोषको रकम सबैभन्दा धेरै प्राप्त गर्ने सदस्यहरुलाई वितरण
शनिवार , मंसिर २०, २०७७
दाङ, २० मंसिर ।
दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले शनिवारदेखि आफ्नो नवौ वार्षिक साधारण सभाको कार्यक्रम सुरु गरेको छ । कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकार सहकारी विभागले जारी गरेको निर्देशन र संस्थाले तयार गरेको कार्यविधि अनुसार कलश सहकारीले एक हप्तासम्म चरणबद्ध कार्यक्रम गरेर आफ्नो नवौ वार्षिक साधारण सभा गर्न सुरु गरेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए । संस्थामा उत्कृष्ट कारोबार गर्ने आफ्ना शेयर सदस्यहरुलाई संरक्षित पुंजी फिर्ता कोषको रकम वितरण गरेर कार्यक्रमको सुरुवात गरिएको छ ।
सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरी गत आर्थिक वर्षमा सबैभन्दा बढी बचत र ऋण कारोबार गर्ने ७ जनालाई उक्त रकम वितरण गरिएको हो । गत वर्षको बचत तथा ऋण कारोवारको आधारमा शेयर सदस्य सुभाष गौतमले सबैभन्दा बढी ३७ हजार ९ सय ३५ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै सेयर सदस्य हेमराज शर्माले १९ हजार एक सय ८१, मनु आचार्यले १३ हजार ४ सय ७०, गुरुप्रसाद खनालले १३ हजार २ सय ८३, अञ्जु कुमारी शर्माले १२ हजार ६ सय ६४, बबिता महराले ९ हजार ३ सय ३४ र सरस्वती बस्नेतले ७ हजार ८६ रुपैयाँ प्राप्त गरेका छन् । अन्य शेयर सदस्यहरुलाई मंसिर २५ गते सम्म संरक्षित पुंजी फिर्ता कोषको रकम वितरण गरिने संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जानकारी दिए ।
संस्थाका कोषाध्यक्ष नवराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नारायण बेल्वासे र समाजसेवी सुभाष गौतमले संस्थाले सुरु गरेको संरक्षित पुंजी फिर्ता कोषको रकम वितरण कार्यक्रमले सदस्यहरुमा बचत तथा ऋण कारोबार बढाउन निकै ठुलो सहयोग पु¥याउने धारणा राखे । कार्यक्रमको सहजीकरण संस्थाका सचिव विमल योगीले गरेका थिए ।
संस्थाले कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै यस वर्ष फरक तरिकाले साधारणसभा र अधिवेशन गर्ने कार्यतालिका बनाएको छ । जसमा शनिबारदेखि मंसिर २५ गतेसम्म शेयर सदस्यहरुबाट सुझाव संकलन र संशोधन प्रस्ताव पेश गर्ने, प्रत्यक्ष उपस्थित भएर संस्थाको माइन्यूटमा हस्ताक्षर गर्ने तथा संरक्षित पूंजी फिर्ता कोषको रकम वितरण गर्ने र प्राप्त सुझावका आधारमा मंसिर २७ गते वार्षिक साधारणसभा तथा अधिवेशनको समापन गर्ने कार्यतालिका बनाएको छ । यस वर्षको साधारणसभा तथा अधिवेशनको समापन समारोहको रेडियो तथा अन्य विद्युतीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गरिने संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए ।
२०६५ सालमा स्थापना भएको कलश सहकारीलाई २०७१ सालदेखि नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको संस्थाले जनाएको छ । आफ्ना शेयर सदस्यहरुको सुविधाका लागि सहुलियत दरमा ऋण दिने, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लगानी गर्ने, सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गर्ने, आकस्मिक घटना कर्जा निःशुल्क रुपमा उपलब्ध गराउने, सदस्य कल्याण कोषमार्फत सदस्यहरुलाई राहत वितरण गर्ने लगायतका नविनतम कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij