
सोमवार , मंसिर २२, २०७७
काठमाडौं। बिसं २०७२ सालको महाभुकम्पपछि नेपाल सरकारले गठन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरिएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेदेखि एक वर्षका लागि थप गर्ने निर्णय गरेको हो ।
यसअघि २०७७ असोज ५ गते प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकले प्राधिकरणको कार्यावधि एक वर्ष थप गर्न सिफारिस गरेको थियो । निर्देशक समितिको बैठकले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ का कारणले सिर्जना गरेको जोखिमपूर्ण अवस्था, स्रोत व्यवस्थापनमा उत्पन्न कठिनाइ र निजी आवास पुनःनिर्माणतर्फ सीमान्तकृत घरपरिवारले घर बनाई नसकेका कारण म्याद थपको सिफारिस गर्ने निर्णय गरेको थियो ।
भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको सरकारका प्रबक्ता एवं सुचना तथा संचार प्रबिधि मन्त्री पार्वत गुरुङ्गले जानकारी दिए । पाँच बर्षका लागि गठन गरिएको उक्त प्राधिकरणको म्याद सकिएसँगै थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले चालू आव २०७७/७८ मा विनियोजित बजेट अन्तर्गतका काम कार्यान्वयन गर्नेछ ।
आगामी आर्थिक वर्षको बाँकी अवधि अर्थात २०७८ साउन १ गतेदेखि २०७८ पुस १० गतेसम्म भने प्राधिकरणले निजी आवास, सिंहदरबार, रानीपोखरी एवं धरहरा पुनःनिर्माणसँग सम्बन्धित अन्तिम काम फर्छ्यौट गर्ने जनाइएको छ । सो अवधिमा लेखा स्रेस्ता अद्यावधिक गर्ने, लेखा परीक्षण गर्ने गराउने तथा प्राधिकरणको जिम्मेवारी र सम्पत्ति नेपाल सरकारले तोकेका निकायमा हस्तान्तरण गर्ने कार्य पनि सम्पादन हुनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij