२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनीका सत्तापक्ष–प्रतिपक्षका सांसदहरुद्वारा अस्थायी संरचनामा राजधानी नसार्न आग्रह 

सोमवार , मंसिर २२, २०७७

बुटवल, २२ मंसिर । लुम्बिनी प्रदेशको राजधानी तत्काल बुटवलबाट दाङको भालुवाङ्ग नसार्न सत्तापक्ष र प्रतिपक्षका प्रदेश सभा सदस्यहरुले एकसाथ आग्रह गरेका छन् ।

बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवाङको अस्थाई संरचना मै कार्यालयहरु सार्दा राज्यलाइ करोडौं रुपैयाँ आर्थिक भार पर्ने र अस्थायीबाट अस्थायी मै सार्दा सन्देश पनि राम्रो नजाने भएकाले तत्काल हतार गर्न नहुने उनीहरुको धारणा छ । करोडौं रुपैयाँ खर्चेर यहाँ अस्थायी संरचना निर्माण गर्ने अनि उहाँपनि करोडौं खर्चेर सार्नुपर्ने अवस्था आउनु दुःखदायी भएको भन्दै उनिहरुले संयुक्त रुपमा एउटै मन्चबाट टिप्पणी गरेका छन् । 

रिपोर्टर्स् क्लव लुम्बिनी प्रदेश बुटवलद्धारा आयोजित साक्षात्कार कायक्रममा बोल्दै सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रदेश सभाका नेताहरुले  प्रयाप्त स्थायी संरचना निमार्णपछि मात्रै राजधानी सार्दा उपयुक्त हुने बताए । नेपाली काँंग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले प्रदेशको राजधानी र नामाकरणबाट मात्रै सरकार दायित्व पूरा नभएको उल्लेख गर्दै बर्तमान अस्थायी राजधानीको योगदानको कदर गर्दै स्थायी राजधानीको निर्माणमा लाग्नु पर्ने बताए । ‘प्रदेश सभाको हिंउदे अधिवेशन भालुवाङ्गमा गर्ने हल्ला सुनिएको छ, यहि हालतले देउखुरीमा कसरी बैठक बस्न सक्छ, संरचना केहि छैनन् कसरी हुन्छ ?’ नेता कनौडियाको प्रश्न छ । 

काँग्रेस नेता कनौडियाले भने– ‘अस्थायीबाट फेरि अस्थायी कसरी जाने भौतिक संरचनाको निमार्ण सकेर लैजानुपर्छ, बरु प्रदेश सरकारबाट छटो काम होस् ।’ नेता कनौडियाले नेकपा विवाद कुनै सैद्धान्तिक र बैचारिक नभएको भन्दै  कुर्सी, सत्ता र शक्तिमा मात्र केन्द्रीत भएको  टिप्पणी गरे । यस्तो  महामारीको बेलामा पार्टी भित्रको  आन्तरिक झगडाका कारण देशलाई बर्वाद बनाउन नहुने भन्दै जनताप्रति खेलबाड नगर्न नेता कनौडियाले आग्रह गरेका छन् । संघीय सरकार पनि जनतालाई डेलिभरी दिन नसकेको भ्रष्ट्रचारमा डुबेको, संविधान विपरीत क्रियाकलाप गरेको, नीति नियम नमानेको, तानाशाही भएको, नैतिक रुपमा पतन भैसकेको लगाएतका आरोप नेता कनौडियाले लगाए  ।

लुम्बिनी प्रदेश सभामा सत्तापक्षका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेशको स्थायी राजधानी स्थापित र व्यवस्थित गर्न समय लाग्ने बताए । सचेतक ढकालले दीर्घकालिन योजना र स्थायी संरचना निमार्ण गरेरै मात्र राजधानी दाङको भालुवाङ्ग सार्ने सरकारको मनसाय रहेको बताए । नेता ढकालले प्रदेश सरकार दीर्घकालिन योजनासाथ अगाडी बढेको भन्दै प्रतिपक्षले लगाउने गरेको भष्ट्रचारको आरोपको खण्डन गरे । ढकालले  भने–‘सरकारले भ्रष्ट्रचार, अनियमितता गरेको भए प्रमाणित गर्न चुनौति दिन्छु प्रमाण सहित आउनुस् हामी कारबाही भोग्न तयार छौं, यदि त्यसो भए प्रदेशको लेखा समिति के हेरेर बसेको छ ?’ उनले बुटवलबाट राजधानी सरेपनि आर्थिक केन्द्र भने बुटवलमा नै रहने दावी गरे । 

भालुवाङ्ग क्षेत्रमा प्रदेश सभा सदस्यहरु नै जग्गाको कारोबारमा लागेको भन्ने जिज्ञाशाको खण्डन गर्दै आफ्नो संलग्नता भएको पुष्टि भए राजनितिबाट सन्यास लिने घोषणा ढकालले गरे । आर्थिक राजधानी बनाउने उद्देश्यका साथ बुटवलबाट तत्काल  सेयर कारोवारको व्यवस्था पनि शुरु हुन लागेको ढकालले जानकारी दिए । कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा सचिब कपिल ज्ञवालीको संचालनमा भएको थियो ।