२०८३, भाद्र २६ गते

Sep 11 2026 | २०८३, भाद्र २६ गते

स्थापना दिवसको अवसरमा संस्कृत विद्या आश्रममा सहयोग

शुक्रवार , भाद्र २६, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, २६ भदौ । हिमाली सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर ७, ८ र ९ बुद्धचोक, रुपन्देहीले भने आफ्नो स्थापना दिवसलाई सेवा र सामाजिक उत्तरदायित्वसँग जोड्दै मनाएको छ । सोही क्रममा संस्थाको २६ औं स्थापना दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिका–३ स्थित संस्कृत विद्या संन्यास आश्रमलाई ११ हजार १ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

    स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष सुरेन्द्रजंग थापाले कार्यसमितिका सदस्यहरूबाट रकम संकलन गरी आश्रमलाई सहयोग गरिएको बताउनुभयो । उहाँका अनुसार संस्थाले स्थापना दिवसलाई केवल उत्सवका रूपमा नभइ समाजप्रतिको आफ्नो दायित्व पूरा गर्ने अवसरका रूपमा उपयोग गरेको हो । अध्यक्ष थापाले आगामी दिनमा पनि सामाजिक सेवाका कामलाई निरन्तरता दिने बताउनुभयो । उहाँले पछिल्लो समय विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारलाई समेत सहयोग गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । बाढीपीडितका लागि ५१ हजार रुपैयाँ सहयोग पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

    स्थापना भएको २६ वर्षको यात्रामा सामुदायिक सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको केन्द्रले शिक्षा, संस्कृति तथा मानवीय सहयोगका क्षेत्रमा आफ्नो भूमिका बढाउँदै लैजाने जनाएको छ ।

    कार्यक्रममा सहभागीहरूले सामाजिक संस्थाहरूले आफ्ना नियमित गतिविधिसँगै समाजका वास्तविक आवश्यकता पहिचान गरी सहयोगका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । विशेष गरी शिक्षा, संस्कृति संरक्षण तथा विपद्का समयमा पीडितलाई सहयोग गर्ने कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उनीहरूको भनाइ थियो । संस्थाका कोषाध्यक्ष वसन्त कुमार लाल कर्णको संयोजकत्वमा सम्पन्न कार्यक्रम सह–सचिव सरिता रानाले सञ्चालन गर्नुभएको थियो ।

    हिमाली सामुदायिक सेवा केन्द्रको आयोजना तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को कार्यालय सह–आयोजनामा सम्पन्न कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी निरीक्षक कल्पना घर्ती, सामुदायिक प्रहरी लगायतको उपस्थिति थियो ।

    स्थापना दिवसको अवसरमा गरिएको सहयोगले आश्रमलाई तत्कालीन राहत पुग्नुका साथै सामाजिक संस्थाको वास्तविक भूमिका उत्सवभन्दा पर गएर समुदायसँग जोडिनु हो भन्ने सन्देशसमेत दिएको छ ।