विश्वको प्रमुख आर्थिक श्रोत रहेको पर्यटन क्षेत्र विश्वको लागि मात्र नभएर नेपालको आर्थिक विकासमा पनि प्रमुख छ । नेपालमा सन् १९४९ देखि विदेशी नागरिकलाई खुला गरेपछि पर्यटकीय गतिविधि सुरु भएको तर यसको विकास तथा विस्तार भने वि.सं २००७ को खुला परिवेशपछि भएको हो । पर्यटन नेपालका लागि कम लगानीमा अधिकतम लाभ दिने क्षेत्र हो । अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल, विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा सुपरिचित छ । यस्ता सकारात्मक र पर्यटकहरुलाई बेच्न सकिने वस्तुहरु रहदारहदै पनि नेपालले अपेक्षित रुपमा पर्यटन क्षेत्रबाट लाभ लिन सेकेको भने छैन् ।
साथसाथै यस क्षेत्रमा पर्याप्त मात्रामा मुख्य गरी पूर्वाधार र प्रचारप्रसारको क्षेत्रमा सरकारको लगानी हुन सकेको छैन भने निज क्षेत्रको लगानी पनि सीमित क्षेत्रमा भएको कारणले पर्यटन क्षेत्रबाट आशातीत रूपमा उपलब्धी हासिल भएको छैन । विश्व पर्यटन संगठनका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान करिब ८ प्रतिशतको योगदान दिने र ३ जना पर्यटक नेपालमा आउँदा १ जनालाई रोजगारीको सिर्जना गरिदिने गरी करिब ७ प्रतिशत रोजगारी दिन सक्ने अनुमानको आधारलाई लिने हो भने पनि यसको वृहत विकास हुन सके यो भन्दा पनि बढी योगदान हुन सक्ने हुँदा पर्यटन उद्योग नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो हो भन्ने विषयमा कसैको विमति हुन सक्दैन ।
सेप्टेम्बर २७ (विश्व पर्यटन दिवस) अर्थात पर्यटनसँग सम्बन्धित सबैले सम्झिने दिन अझ नेपालको आर्थिक विकसको मुख्य आधार भएको कारणले यो दिन नेपालको पर्यटन क्षेत्रमा आबद्ध सबैले सम्झने दिन । प्राकृतिक, वातावरण र पर्यटन क्षेत्र एक अर्कामा सम्बन्धित भएकोले यिनको संरक्षण र विकासको लागि संयुक्त राष्ट्र संघले विश्वलाई नै सचेत गराउने उद्देश्यले निश्चित योजना तथा कार्यक्रम निर्माण तथा कार्यान्वयनमा ल्याउन प्रतिवद्धता जनाउने दिन । राष्ट्र संघले विभिन्न दिवसहरु मनाउने क्रममा दिवसको महत्वको जानकारी तथा विश्वले भोगेको विविध चुनौतिलाई सम्बन्धित दिवस संग जोढेर गरेर सम्बोधन गर्ने उद्देश्य अनुरुप कतिपय विशेष गरी हाम्रो जस्तो मुलुकहरुमा पर्यटनको अथाह सम्भावना रहेर पनि अपेक्षित रुपमा दिगो रुपमा पर्यटन क्षेत्रको विकास नभएको कारण अब पर्यटन उद्योगमा नयाँ तरिका र सोचका साथ अगाडी बढ्नुपर्दछ भन्ने मान्यतालाई नै आत्मसाथ गरे जस्तो गरी विश्व पर्यटन दिवस २०२२ नारा Rethinking Tourism पुर्नविचार पर्यटन वा पर्यटनमा पुर्नविचार तय गरेको छ । जसको प्रमुख उद्देश्य हामीले पर्यटनलाई अझ दिगो, समावेशी बनाउँदै सबैका लागि रोजगारी, शिक्षा सिर्जना गर्न र समुदायहरूलाई एकसाथ ल्याउने तथा पर्यटनको सम्भावनाहरुबाट पूर्ण लाभ लिने गरी आगामी दिनमा तयार गर्नेतर्फ लाग्नुपर्दछ भन्ने व्याख्याका साथ सामाजिक, आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वबारे विश्व समुदायलाई जानकारी गराउनुको साथै दिगो पर्यटन प्रवद्र्धनको विकासमा जोड दिनुपर्ने मान्यतालाई आत्मसाथ गरेको छ ।
विगत तीन वर्ष देखिको कोभिड तथा विद्यमान आर्थिक संकट जस्ता संकटहरुका कारण सृजित समस्या र पर्यटकहरुलाई घुमफिरको लागि राष्ट्रहरुले समेत प्रतिबन्ध लगाउनुपरेको वास्तविकतालाई बुझी आगामी दिनमा पर्यटन क्षेत्रलाई वर्तमान र सम्भावित महामारीबाट उकास्ने गरी नयाँ सोच र आयामका साथ पर्यटन क्षेत्रको दिगो विकास गर्नेतर्फ विशेष ध्यान दिदै परिवर्तनकारी पर्यटन क्षेत्रको रुपमा विकास गरिनुपर्दछ भन्ने विषयवस्तु यस वर्षको ४२ औं संस्करणको विश्व पर्यटन दिवसले अपेक्षा गरेको छ । पर्यटनलाई देश विकासको अग्रपंक्तिमा दिगो स्तम्भको रूपमा पर्यटन विकास गरिनुपर्दछ भने सो उद्देश्य प्राप्तीको लागि समुदाय, सरोकारवाला, सरकार, राजनीति र निजीबाट क्षेत्रका नेतृत्वहरु, युवा र आदिवासी सबैको भावनाहरुलाई प्रतिबिम्वीत गर्ने गरी पर्यटन क्षेत्रको दिगो विकासका उद्देश्यसहित पुनर्विचार पर्यटनसहित पूर्नउत्थान पर्यटनको लागी छलफल गरी आगामी दिनमा पर्यटन क्षेत्रको विकासमा एकजुट हुन जरुरी देखिन्छ ।
पर्यटन दिवसको यस नारालाई दिवसको दिनमात्र कार्यक्रम र अन्तरक्रियामा सीमित नराखी सधैभरी आत्मसाथ गर्ने हो भने वातावरण संरक्षणसहित Green Tourism बाट र दिगो पर्यटनको उद्देश्यसहित कोभिडको प्रभावबाट अत्यन्तै प्रभावित भएको नेपालको पर्यटन क्षेत्रको विकासको लागि अब सरकार, समुदाय, सरोकारवाला सबैको सहकार्यमा नेपालको पर्यटनको विकासका लागि नयाँ योजनाका साथ हामीले पनि पुर्नविचार पर्यटनलाई साथ गरी पुर्नउत्थान पर्यटन सम्भावनाको सुरुवात गर्न सकिन्छ ।
नेपालको पर्यटनको प्रमुख गन्तव्य विश्व शान्तिको मुहान लुम्बिनीसहित सम्पूर्ण लुम्बिनी प्रदेशको पर्यटनको विकासको लागि महत्वपूर्ण मानिएको तथा अरबौँको लगानी भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सञ्चालन भइसकेको अवस्था तथा अर्को प्रमुख गन्तव्य पोखराको विमानस्थल सञ्चालन पश्चात विश्व बजारबाट रकम खर्च गर्न सक्ने क्वालिटी गुणस्तरीय पर्यटकहरुको आगमनको लागि पहल गरी यी विश्व पर्यटनको बजारबाट यी दुवै विमानस्थलसम्म पर्यटकहरुको आगमनको सुनिश्चिताको बनाउनुपर्दछ र यसमा भएका लागानीको प्रतिफल नेपालको पर्यटन क्षेत्रले प्राप्त गर्ने गरी व्यवसायीका योजनहरु बनाउँदै लुम्बिनीमा आएका पर्यटकहरुलाई पोखरा जाने र पोखरा आउने पर्यटकहरुलाई लुम्बिनीसम्म ल्याउने वातावरण र पूर्वाधारहरुमा लगानी गर्नुपर्ने देखिन्छ । जसले यस क्षेत्रको पर्यटन उद्योगहरुको दिगो विकास हुन सक्छ । तर यसमा सरकारको महत्वपूर्ण भूमिका रहन्छ र होइन भने खाडी मुलुकहरुमा श्रम गन्तव्यको लागि मात्र उडान भर्नको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सीमित राखियो भने यस क्षेत्रको सँगसँगै समग्र नेपालको पर्यटन क्षेत्रको गुणात्मक विकास हुन सक्दैन राष्ट्रको अरबौँको लगानीले प्रतिफल दिन सक्दैन, यसमा सरकारको विशेष ध्यान पुग्न जरुरी देखिन्छ ।
पुर्नविचार पर्यटनको सुरुवातको रुपमा नेपाल सरकारको विशेष योजना र निजी क्षेत्रको सहकार्यमा आगामी नोभेम्बर र डिसेम्बरमा हुन गइरहेको फुटबलको विश्वकप हेर्न करिबकरिब ४० लाख टिकट लिएका विश्वभरीका मानिसहरुमध्ये ५ प्रतिशतालाई मात्र पनि नेपालबाट जम्मा चारदेखि पाँच घण्टाको हवाइदुरीमा रहको कतारबाट विश्व शान्तिको मुहान पवित्र लुम्बिनीसम्म ल्याउन अहिलेदखि नै पहल गर्ने हो भने नेपालको पर्यटनको पुर्नउत्थानको सुरुवात हुनेछ जसले ठूलो मात्रामा विदेशी मुद्रा भित्र्याउन मद्दत गर्दछ ।
अन्तमा यस वर्षको विश्व पर्यटन दिवस पर्यटनको क्षेत्रमा विगतमा कार्यान्वयन गरिएका चुनौतीहरुलाई परीक्षण गर्ने अवसर र त्यसको समाधान अगाडि बढाउँदै सम्बन्धित सबै समुदाय, सरकार, सरोकारवालाहरुले एकमतका साथ पर्यटन क्षेत्रको प्रतिफल अभिवृद्धिको लागि नविनतम सोच, दिगो पर्यटकीय योजना बनाउँदै अपेक्षित लाभ लिने र सो लाभले पर्यटन क्षेको विकासमा टेवा पु¥याउने अपेक्षाका साथ पुर्नविचार पर्यटन र पूर्नउत्थान पर्यटन ।