२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

भैरहवामा दशैं सस्तो बजार सुरु

मंगलवार , आश्विन ११, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, ११ असोज ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मंगलबारदेखि दशैं सस्तो बजार–२०७९ सुरु गरेको छ । ‘स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ संघको सभाहलमा सुरु भएको बजार असोज १४ गतेसम्म सञ्चालन हुनेछ । 

    दशैं सस्तो बजारको एक कार्यक्रमकाबीच गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरे । सो अवसरमा बोल्दै गृहमन्त्री खाँणले उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार गम्भिर रहेको बताए । उनले भने, ‘उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिवद्ध छ । शिक्षक, मजदूर, किसान, राष्ट्रसेवकको समुचित वृद्धि विकासमा ध्यान दिइनेछ । ’ उनले उद्योगी व्यवसायी देशको आधारस्तम्भ भएको बताए । उद्योगले उत्पादन गर्न नसके र व्यवसायीले कारोबार गर्न नसके आर्थिक मन्दीका कारण समस्या उत्पन्न हुने उनको भनाइ थियो । उनले स्वदेशी बजार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित दशैं सस्तो बजारले स्वदेशी पैसा स्वदेशमै खर्च गर्ने बानीको विकास हुने विश्वास व्यक्त गरे । गृहमन्त्री खाँणले रुपन्देहीको विकासले यहाँको नागरिकको लागि मात्र नभइ नेपालको विकास हुने दावी गरे । उनले देशको विकासका लागि रुपन्देहीको विकास अपरिहार्य रहेको बताए ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले नगरको विकासका लागि नगरपालिका प्रतिवद्ध भएको बताए । उनले हातेमालो गर्दै अघि बढ्ने बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले स्वदेशी बजार प्रवद्र्धन गर्ने उद्देश्यले दशैं सस्तो बजार सञ्चालन गरिएको बताए । उनले आगामी मंसिर २३ देखि पुस ४ गतेसम्म संघले भैरहवामा लुम्बिनी महोत्सव (औद्योगिक व्यापार मेला) को आयोजना गर्न लागेको जानकारी दिए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यता, संघका कार्यसमिति सदस्य एवं वस्तुगत सेवा प्रदर्शनी तथा व्यवसाय प्रवद्र्धन उपसमितिका संयोजक अर्जुन कार्कीको स्वागत, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_2674.JPG

    उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुको सहभागिता रहको बजारमा साल्ट ट्रेडिङसहित खाद्यान्न, जुत्ता, चप्पल, दुईपांग्रे अटोमोबाइलसहित बजारमा २७ वटा स्टल रहेको संघका कार्यसमिति सदस्य अर्जुन कार्कीले जानकारी दिए । बिहान १० बजेदेखि राती ८ बजेसम्म बजार सञ्चालन हुने उनले बताए । बजारमा निःशुल्क आँखा र दन्त परीक्षणको व्यवस्था समेत रहेको उनले बताए ।

    IMG_2693.JPG

    बजारमा स्थानीय भैरहवा क्षेत्रबाट करिब २ हजार ५ सय जना उपभोक्ता तथा अवलोकनकर्ताहरुको आवागमन हुने र ४० देखि ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ । 

    IMG_2699.JPG

    संघले पहिलोपटक वि.सं. २०५८ साल कात्र्तिक १ गतेदेखि ६ गतेसम्म भैरहवा नमूना माध्यमिक विद्यालय परिसरमा र कात्तिक २४ गतेदेखि २६ गतेसम्म संघ परिसरमा दशैं बजार सम्पन्न गरेको थियो । दोस्रोपटक संघले २०५९ साल असोज २१ गतेदेखि २६ गतेसम्म संघ परिसरमा दशैं बजार सम्पन्न गरेको थियो ।

    IMG_2687.JPG