images

शुक्रवार, चैत्र १६ गते २०८०

अतिथिहरुलाई सम्मान गर्नु राष्ट्रको दायित्व : गृहमन्त्री खाँण

अतिथिहरुलाई सम्मान गर्नु राष्ट्रको दायित्व : गृहमन्त्री खाँण

images
images
images
बुधवार, आश्विन १२ २०७९
बुधवार, आश्विन १२ २०७९
  • अतिथिहरुलाई सम्मान गर्नु राष्ट्रको दायित्व : गृहमन्त्री खाँण

    भैरहवा, १२ असोज ।
    गृहमन्त्री बालकृष्ण खाँणले भारतीय पर्यटकलाई ज्यादै नै सम्मान गर्नुपर्ने बताएका छन् । उनले नेपालको छिमेकी मुलुक भारतसँग अभिन्न सम्बन्ध र सदियौंदेखि मित्रता रहेकोले भारतीय पर्यटकको सुरक्षाको समुचित प्रबन्ध गर्नुपर्नेमा जोड दिए । 
    ४३ औं विश्व पर्यटन दिवसको अवसरमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश सरकार विश्व पर्यटन दिवस समारोह समिति, रुपन्देहीले मंगलबार बेलहियामा आयोजना गरेको पर्यटन दिवस समारोहमा बोल्दै गृहमन्त्री खाँणले सीमा नाकामा पर्यटकलाई दुःख दिने काम नगर्न निर्देशन दिए । उनले भने, ‘पर्यटकलाई सुरक्षासम्बन्धी कुनै समस्या पर्यो भने जुनसुकै स्थानमा पनि सुरक्षा निकायसँग यहाँहरुले सम्पर्क गर्नुभयो भने यहाँहरुलाई सुरक्षाको प्रबन्ध गर्न निर्देशन दिन चाहन्छु, त्यसका लागि हेलचेक्रयाई नगर्नुहोला, अतिथिहरुलाई सम्मान गर्नु हाम्रो राष्ट्रिय दायित्व हो ।’ 

    images
    images
    images

    गृहमन्त्री खाँणले कुनै पनि पाहुना तथा अतिथिहरुलाई सम्मान गर्नु नेपालीहरुको संस्कृति भएको बताए । उनले भने, ‘केही समयपछि बेलहिया नाका एउटा सुन्दर नाकाको रुपमा स्थापित हुनेछ, बेलहिया नाकादेखि जहाँसम्म बाटो बनेको छैन, म सडक विभागलाई अविलम्ब यो सडक बनाउन नेपाल सरकारकोतर्फबाट निर्देशन दिन्छु, त्यसमा प्रमुख जिल्ला अधिकारीले समन्वय गरिदिनुहोला । ’ महत्वपूर्ण नाकामा अव्यवस्थित बाटो रहनु, बाटो सुविधाजनक नरहनुले नेपालकै प्रतिष्ठामा आघात पुर्याउने उनको भनाइ थियो । ’

    पर्यटकहरुलाई नेपालको सीमामा प्रवेश गर्नेबित्तिकै सकारात्मक सन्देश जाने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई मेरो निर्देशन छ, सीमा नाका भन्दा अध्यागमन कार्यालय टाढा रहेछ, विदेशी पर्यटक आउनुभयो भने भिषा पासपोर्टमा छाप हान्न टाढा जानुपर्यो, त्यसकारण पर्यटकहरु आउँदाखेरी नेपाल प्रवेश गरिसकेपछि आफ्नो पासपोर्ट देखाउनुपर्ने, भिषाको लागि निवेदन दिनुपर्ने असुविधा भएको र कतिपयलाई थाहा नभएर हिड्ने र फर्कने बेलामा चाहिं जरिवाना तिर्नुपर्ने हुन सक्छ, त्यसलाई कसरी व्यवस्थित गर्ने, सीमा नाकामै अध्यागमन बनिरहेको छ, त्यो भवन चाँडै नै निर्माणसम्पन्न होस्, भवन निर्माण नभएसम्म यही नाकामै कुनै घर लिएर व्यवस्थित गरियोस् । ’ यस्ता महत्वपूर्ण कार्यका लागि चुनाव पर्खन नपर्ने उनको भनाइ थियो ।

    गृहमन्त्री खाँणले आईसिपी निर्माणका लागि नेपाल सरकारले जग्गा व्यवस्थापन गरिसकेको र भारत सरकारलाई जग्गा व्यवस्थापनका लागि बारम्बार आग्रह गरिएको बताए । चांडो भन्दा चांडो भारत सरकारले एअर रुट उपलब्ध गराउने उनले विश्वास व्यक्त गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरलायन्सले सेवा दिइरहेको र अन्य एअरलायन्स यहाँ ल्याउनेबारे प्रयत्न भइरहेको उनको भनाइ थियो । विशेष आर्थिक क्षेत्र (सेज) को व्यवस्थापनका लागि सरकार गम्भिर रहेको उनको भनाइ थियो । 

    विद्युतीय सवारीसाधन सञ्चालन नभएकोमा असुन्तष्टी

    लुम्बिनी विकास कोष परिसरमा रहेको विद्युतीय बसहरु हालसम्म सञ्चालन हुन नसकेकोमा गृहमन्त्री खाँणले असन्तुष्टी व्यक्त गरेका छन् । उनले लुम्बिनी विकास कोषले स्थानीय प्रशासन र व्यवसायीसँग समन्वय गरेर अविलम्ब सञ्चालनमा ल्याउन आग्रह गरे । उनले भने, ‘कि कोषले चलाउन सक्दिन भनेर हात उठाउनुपर्यो होइन भने तत्काल बस चलाइयोस् । ’गृहमन्त्री खाँणले यसका लागि सरकारले नीति निर्णय गर्नुपर्ने भए गर्ने बताए । आवश्यक परे बस चालक र सह–चालकको तलबको व्यवस्थापनका लागि आफ्नो तलबबाट समेत गर्ने उनले बताए ।

    उनले भने, ‘पेट्रोलियम पदार्थको खपत केही कम गर्न विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्छ, विद्युतीय बस चलाऔं र अन्य विद्युतीय सवारीसाधन चलाउनलाई प्रोत्साहित गरौं ।’

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले पर्यटकलाई फूलले स्वागत गरिने बताए । उनले नगरपालिकाले बेलहिया प्रवेशद्वारमा गेट बनाउन लागेको बताए । 

    पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले कोभिड–१९ का कारण पर्यटन क्षेत्र प्रभावित भएको बताए । उनले पर्यटनमैत्री वातावरण बनाउन आवश्यक रहेकोमा जोड दिए । सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष तथा विश्व पर्यटन दिवस समारोह समिति, रुपन्देहीका कार्यक्रम संयोजक चन्द्रप्रकाश श्रेष्ठले पर्यटनको आधार पूर्वाधार भएको बताए । 

    नेपाल एशोसियशन अफ ट्राभल्स एण्ड टुर एजेण्टस् (नाट्टा) लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    पर्यटकलाई स्वागत

    विश्व पर्यटन दिवसको अवसरमा स्थलमामार्ग हुँदै नेपाल आएका विदेशी पर्यटकलाई सीमा नाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् । क्यानाडा, इजरायल, चीन र भारतबाट आएका पाँच जना पर्यटकलाई स्वागत गरिएको हो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij