२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

एकै आर्थिक वर्षमा एउटै पालिकामा ८७ लाख बढी सामाजिक सुरक्षा भत्ता दुरुपयोग

बिहिवार , मंसिर २५, २०७७

खोटाङ, २५ मंसिर ।
एउटा दुर्गम जिल्लाको दुर्गम गाँउपालिकामा एकै आर्थिक वर्षमा झण्डै १ करोड रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको भन्ने सुन्दा अचम्म लाग्ला । तर कुरा सत्य हो, खोटाङ्ग जिल्लाको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा एकै आर्थिक वर्षमा ८७ लाख भन्दा बढी रकम दुरुपयोग भएको पाइएको छ ।

कतिपय मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिका नाममा समेत जाली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता वितरणमा चरम अनियमिता र दुरुपयोग भएको देखिएको हो । भत्तामा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिका उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गठित छानबीन समितिले आर्थिक वर्ष २०७६/०७७ भित्र ८७ लाख ४१ हजार ६०० रुपैयाँ रकम दुरुपयोग भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा गत असोज १४ गते गठित समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरे लगत्तै गाउँपालिका प्रमुख अर्जुन कुमार खड्कालाई बुझाएको छ । छानबीन समितिले आर्थिक वर्ष २०७६/०७७ मा वडा नम्बर १ बाँझे च्यानडाँडामा २० लाख ३४ हजार ४ सय रुपैयाँ, वडा नम्बर २ रतन्छामा १२ लाख २८ हजार, वडा नम्बर ३ खिदिमामा ११ लाख ८७ हजार २ सय, वडा नम्बर ४ मात्तिममा २२ लाख ८७ हजार २ सय र वडा नम्बर ५ मात्तिमबिर्तामा २० लाख ४८ हजार रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ । 

मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको छानबीनका क्रममा फेला परेको छानबीन समिति संयोजक एवं उपाध्यक्ष खड्काको भनाइ छ । सुरुमा वडा नम्बर ४ मात्तिममा मृत्यु भइसकेका व्यक्तिका नाममा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको खबर बाहिरिएपछि खड्काको संयोजकत्वमा छानबीन समिति गठन गरिएको थियो ।

सरोकारवाला निकायको निकम्मापन् र नियामक निकायको उदासिनताका कारण सबै क्षेत्रमा भष्ट्राचार र अनियमिता बढ्दै गएको र यसको नियन्त्रणका लागि तीनै तहका सरकारको समन्वय, सहकार्य र सतर्कता आवश्यक देखिएको साकेला गाँउपालिका प्रमुख अर्जुन खड्काको भनाइ छ ।