२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

महंगी बढाउन जनताले पाँचदलीय गठबन्धनलाई भोट दिदैनन् : महेन्द्र यादव

शनिवार , कार्तिक १२, २०७९

भैरहवा, १२ कात्तिक ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य महेन्द्र यादवले महंगी बढाउने पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जनताले भोट नदिने दावी गरेका छन् । उनले वर्तमान सरकारले महंगी, बैंक ब्याजदर बढाएको र पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाले सतारुढ गठबन्धनका उम्मेदवारलाई जनताले भोट नदिने बताए ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै नेता यादवले तीन दलका उम्मेदवारको जीत सुनिश्चित भएको दावी गरे । उनले भने, ‘देशको परिस्थितिको बारेमा सबै जानकार हुनुहुन्छ, तीनदलीय तालमेलले संघ र प्रदेशमा बहुमतको सरकार बनाउँदैछ ।’ 

रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट प्रदेशसभा सदस्यका उम्मेदवार नेता यादवले भैरहवाको विकासमा विकासप्रेमी नेता तथा पूर्वमन्त्री दीपक बोहराको महत्वपूर्ण योगदान रहेको बताए । उनले निर्वाचन जितेपछि यस क्षेत्रको समस्या समाधानमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, ‘उधारो बाचा गर्दैनौं, जनताको सल्लाह–सुझाव अनुसार नै अगाडि बढ्छौं । शक्तिको दुरुपयोग गरेर मत पाइँदैन ।’ मुलुक बचाउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्नुपर्नेमा उनले जोड दिए ।
एमाले, राप्रपा र जसपाका नेता कार्यकर्ता इमान्दार छन् भन्ने कुरा आफूले बुझेको र त्यो आगामी निर्वाचनमा प्रमाणित गरेर देखाइदिने उनको भनाइ छ ।