२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

मुलुकको आर्थिक संकटप्रति पूर्वअर्थमन्त्री पौडेलको चिन्ता : ‘मन बुझाउने कुनै ठाउँ रहेन’

बुधवार , कार्तिक २३, २०७९

बुटवल, २३ कात्तिक । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । सबै सूचकांकहरु सकारात्मक नरहेको बताउँदै उनले महंगी, बेरोजगार र तीव्र आर्थिक संकटले कतै पनि मन बुझाउने ठाउँ नरहेको उल्लेख गरे । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको समीक्षासहित प्रकाशित गरेकोे तथ्यांकमा सबै आर्थिक सूचकांकहरु नरात्मक देखिएको बताउँदै उनले मुलुक निराशाजनक स्थितिमा पुगेको टिप्पणी गरे ।  पछिल्लो तथ्यांक अनुसार मुलुकको मुद्रास्फिीति ८ दशमलव ६४ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ दशमलव ४९ रहेको थियो । चरम मुल्यवृद्धि बेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने दर अस्वभाविक वृद्धि भएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उनले बताए । 

नेकपा एमालेको उपाध्यक्षसमेत रहेका पौडेलले गठबन्धन नेतृत्वको सरकारले मुलुकलाई सही दिशामा हिंडाउन नसक्दा अकल्पनीय ढंगले मुलुकको स्थितिले बाटो बिराएको उनले उनले टिप्पणी गरे । वर्तमान सरकारले मुलुकलाई सही बाटोमा हिंडाउन नसकेको टिप्पणी गर्दै उनले मुलुकलाई सही बाटोमा ल्याउनका लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे । 

रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पौडेलले बुधबार सैनामैना नगरपालिकामा घरदैलो तथा जनतासँग भेटघाटका क्रममा मुलुक डरलाग्दो आर्थिक संकटमा फसेको बताएका हुन् । 

bishnu-paudel231.jpg

‘बुटवल–चन्द्रौटा सडक विस्तार केही महिनामै टेण्डर हुन्छ’

पूर्व अर्थमन्त्री पौडेलले बुटवल–गोरुसिङ्गे हुँदै चन्द्रौटा जोड्ने सडकलाई ६ लेनमा बिस्तारका लागि केही महिनामै टेण्डर प्रक्रियामा जाने बताएका छन् । बेलहिया–बुटवल ६ लेन सडक निर्माणमा भएका कमजोरीहरुलाई सच्याउँदै थप आकर्षक र व्यवस्थित ढंगले पूर्व–पश्चिम राजमार्ग अन्तरगतको बुटवल–चन्द्रौटा सडकलाई बिस्तार गरिने उनले बताए । 

सडक निर्माणका लागि विश्व बैंकसँग नेगोशेन गरी डिपिआर निर्माण लगायतका काम अघि बढेको बताउँदै उनले ३८ अर्ब लागतमा सडक विस्तारको काम हुने उल्लेख गरे । पौडेलले यो सडक निर्माणसँगै रुपन्देहीको सैनामैना तथा कपिलवस्तु लगायतका शहरहरुलाई थप व्यवस्थित र बिकसित गराउने दावी गरे । आफ्नै पहलमा बुटवल बेलहिया सडक विस्तार तथा बुटवल–नारायणगढ सडक विस्तारको काम भएको बताउँदै उनले तेस्रो चरणमा बुटवल–चन्द्रौटा सडकलाई विस्तार गर्न लागिएको उल्लेख गरे । यसैगरी सैनामैनामा निर्माणाधीन मुलुककै लामो चक्रपथ निर्माणले सैनामैनाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । मुलुककै लामो सैनामैना चक्रपथको ५७ किलोमिटरमध्ये करिब ४० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको उनले बताए । 

बुधबार सैनामैनाका विभिन्न वडाहरुमा जनतासँग भेटघाट गर्दै लुम्बिनीसँग जोडेर यहाँको बिकासलाई अघि बढाइने पौडेलले योजना सुनाए । सैनामैनामा निर्माण सुरु गरिएको लामीरह बहुउद्देश्यीय जलासयले यहाँको हजारौं कृषि भूमिलाई सिंचित गर्दै आर्थिक समृद्धिमा टेवा पुग्ने उनले बताए । ‘हरियाली बगैचा र फुटपाथसहितको जलासय निर्माणसँगै डुँगा सयरका लागि पनि पर्यटकहरुको भिड लाग्ने छ ।’–पौडेलले भने, चुरेसँग जोडिएको सैनामैनामा वर्षायाममा हुने डुबान र नदी कटानलाई समेत हल गर्ने गरी जलासय निर्माण हुने छ । 

यसैगरी पश्चिम नेपालकै पशुपति भनेर परिचित बोलबम धामको विकास, बौद्धकालीन ऐतिहासिकस्थलको उत्खनन्पछि धार्मिक पर्यटनबाट फाइदा लिन सकिने उनले बताए । बौद्धकालीन इतिहास र परम्परासँग सैनामैना पनि जोडिएको बताउँदै उनले यसको संरक्षण र विकासका लागि संग्राहलय निर्माण तथा धार्मिक क्षेत्रहरुको संरक्षणमा जोड दिइने बताए । कसैको टिकाटिप्पणी नगरी आफ्नो ध्यान समग्र रुपन्देहीको विकासमा केन्द्रित भएको बताउँदे आफूले गरेका विकास र विकासका प्रयासहरुलाई सबैले देख्ने विश्वास व्यक्त गरे । 

आगामी मंसिर–४ को निर्वाचनपछि बन्ने नेकपा एमाले नेतृत्वको सरकारले विगतमा रोकिएको सुकुम्बासीलाई पुर्जा वितरणको काम पनि पूरा गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । एमालेकै प्रयासमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरणका लागि शक्तिशाली कानून निर्माण भइसकेको बताउँदे उनले सोही कानून अनुसार रहेर समस्याको समाधान गरिने दाबी गरे । विगतमा ओली नेतृत्वको सकारले सुकुम्बासीहरुलाई जग्गा वितरण गर्नै लाग्दा अध्यादेशबाट सरकार ढालिएको स्मरण गराउँदै उनले वर्तमान गठबन्धन सरकारले डेढ वर्षको प्रयाप्त समय हुँदाहुँदै पनि अन्तिम चरणमा पुगेको कामलाई रोकेर सुकुम्बासी समस्या समाधानमा नलागेको उल्लेख गरे । 

बुद्धकालीन सम्पदासँग जोडेर सैनामैनाको विकास 

नेता पौडेलले बुद्धकालीन परम्परासँग जोडेर सैनामैनाको विकास गरिने बताएका छन् । सैनामैनालाई विकासको नयाँ मानकको रुपमा स्थापित गर्नका लागि यहाँको ऐतिहासिक तथा धार्मिक स्थलहरुको संरक्षण र विकास गरिने उल्लेख गरे । 

बुद्धकालीन परम्परालाई लुम्बिनी, रामग्राम र तिलौराकोटलाई मात्र जोडेर पूरा नहुने बताउँदै उनले सैनामैना पनि यसमा जोडिएको दाबी गरे । यहाँका बौद्धकालिन ऐतिहासिक स्थलहरुको उत्खनन् र संरक्षणसँगै यहाँका अन्य धार्मिक स्थलहरुको समेत विकास गरिने उनले बताए ।