२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

धितोपत्र बजारमा नेप्से परिसूचक उच्च अंकले वृद्धि

सोमवार , मंसिर २९, २०७७

काठमाडौं, २९ मंसिर । 
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से अघिल्लो दिनको तुलनामा ४६.४३ विन्दुले उकालो लागेर दुई हजार १०.४५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.०९ ले उकालो लागेर ३८२.११ मा पुगेको छ ।

नेप्सेमा देखिएको उच्च अंकको वृद्धिसँगै कारोबार रकमसमेत झण्डै पाँच अर्ब रुपैयाँ बराबर भएको छ । कूल २ सय ३ कम्पनीको ९० लाख ५० हजार १६ कित्ता शेयर चार अर्ब ८९ करोड ९४ लाख ८४ हजार १ सय ३१ रुपैयाँमा कारोबार भएको थियो । साताको पहिलो दिन अघिल्ला सातामा जस्तै बजार उकालो लागेर पुनः दुई हजार विन्दुमाथि पुगेको हो । कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ ।

नेप्से परिसुचकका अनुसार व्यापार २९.८६, होटल ५.६८ र जलविद्युत् तर्फको कारोबार भने २८.९५ बिन्दुले ओरालो लागेको छ । यस्तै बैकिङ ४५.७७, विकास बैंक ३६.७१, वित्त ७.२२, निर्जीवन बीमा १७४.०५, उत्पादन २७२.५४, अन्य १५.३, लघुवित्त ५६.२९, जीवन बीमा ५२८.४३ र सामूहिक लगानी कोष ०.११ ले उकालो लागेको छ । कारोबारका आधारमा नेपाल लाइफ इन्सुरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६७ करोड १ लाख ७२ हजार ४ सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस्तै, नेपाल पुनर्बीमा कम्पनी ३५ करोड ९४ लाख ५६ हजार ४ सय ६८, हिमालयन डिस्टिलरी ३० करोड ६५ लाख ८२ हजार ७७, माथिल्लो तामाकोशी १८ करोेड १७ लाख ९४ हजार ९ सय ३२, चिलिमे हाइड्रोपावर १५ करोड २८ लाख १५ हजार ८ सय २५, एनआइसी एशिया बैंक १५ करोड १० लाख ६७ हजार ३०९ र नेपाल दूरसञ्चार कम्पनी १४ करोड ३५ लाख ४१ हजार ९९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये १ सय २४ कम्पनीको शेयर उकालो लागेको छ ।

यसैगरी माहुली सामुदायिक लघुवित्त ९.९४, साधना लघुवित्त ९.९१, नारायणी डेभलपमेन्ट बैंक ९.८२, हिमालयन डिस्टिलरी ९.१५, शिवम् सिमेन्ट ७.२६, नेपाल लाइफ इन्सुरेन्स ७.११, नेपाल बङ्गलादेश बैंक ६.९२ र प्रभु बैंकका लगानीकर्ताले ६.४० प्रतिशतले कमाए । त्यस्तै माथिल्लो तामाकोशी ४.८४, आँखु खोला जलविद्युत् कम्पनी ३.५५, अरुण काबेली पावर २.८८, दिव्यश्वरी हाइड्रोपावर २.६५, रसुवागढी हाइड्रोपावर २.२७, बोटलर्स नेपाल तराई २.१९, साञ्जेन जलविद्युत् कम्पनी २.०६ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए ।