२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एकीकृत विकास अवधारणामा पूर्वअर्थमन्त्री पौडेलको प्रतिवद्धता 

आइतवार , कार्तिक २७, २०७९

बुटवल, २७ कात्तिक । 
पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् । नेकपा एमाले उपाध्यक्ष पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताएका हुन् । आगामी मंसिर ४ हुने निर्वाचन लक्षित घरदैलको कार्यक्रम अन्र्तगत रुपन्देहीको सैनामैनाका विभिन्न वडामा जनतासँग भेटघाट गर्दै उनले अब टुक्रे योजना भन्दा पनि ती सबै आवश्यकताहरुलाई एकीकृत गरी योजनाबद्ध विकास गरिने बताए । 

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले भौतिक पूर्वाधारको विकाससँगै अव मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताए । प्रत्येक जनताका घरपरिवारको तथ्यांक संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने बताए । जनताले राख्ने गरेका पुल–पुलेसा, बाटो, खानेपाली, विद्युत तथा शिक्षा स्वास्थ्य लगायतका सबै आवश्यकताहरुलाई पूरा गर्ने गरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको बिकास गरिने उनले बताए । 

सिङ्गो रुपन्देहीलाई अन्य ठाउँबाट बिकास सिक्न आउने नमूनाका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उनले जनतामा विकासको भोक पल्हाउन थालेको बताए । नेकपा एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाहरुले जनतामा विकास भोक जनाएको बताउँदै उनले जनतामा विकास आवश्यकताहरुबारे खुलेर बोल्नसक्ने अवस्थाको विकास भएको उल्लेख गरे । 

त्यसै गरी रुपन्देही क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले एमालेले आश्वासन हैन ग्यारेण्टीका कुरा गर्ने बताए । दलहरुले आफ्ना चुनावी घोषणापत्रमा आश्वासन मात्रै बाढेर नहुने बताउँदै उनले ती योजनाहरु पूरा गर्न सक्छौं भनि जनतासामू ग्यान्टि गर्नुपर्ने उल्लेख गरे । ‘अब आश्वासन होइन, हामी ग्यारेण्टीका कुरा गर्छौ, सोही अनुसार एमालेको घोषणापत्रमा २० ग्यारेण्टी समेटिएका छन् ।’–श्रेष्ठले भने, नेकपा एमालेले जनतासँग गरेका ग्यारेण्टी पूरा गर्न प्रतिवद्ध छ । आगामी मंसिर ४ को निर्वाचनमा ढुक्क भएर सूर्यमा मतदान गर्न आग्रह गर्दै उनले मुलुको समृद्धिका लागि एमाले मात्रै सक्षम दल भएको दाबी गरे । 

पार्टी प्रवेश गर्नेहरुको लर्को

चुनाव नजिकिदै जाँदा नेकपा एमाले प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ । आइतबार सैनामैनामा विभिन्न पार्टी छाडेर तीन दर्जन नेता कार्यकर्ता प्रवेश गरेका छन् । तरुण दल क्षेत्रीय सदस्य सुरेश पुन, तरुण दल सैनामैना नगर सदस्यहरु राकेश गुरुङ, सागर अर्याल, चुरामणि बस्याल, रोनाल्ड थापा, नेपाली कांग्रेस सक्रिय सदस्य कृष्ण केसी, भरत कुँवर, आरिफ हुसेन, इलताब हुसेन, घनश्याम पाण्डे, माओवादी केन्द्रबाट राजकुमार चौधरी, बिनोद नेपाली, चम्पा दंगोरिया, सुमन दंगोरिया, राधेश्याम दंगोरिया, गीता चौधरी, रीता दंगोरिया, रजिया दंगोरिया, दिपेन्द्र थारु लगायत युवाहरु एमाले प्रवेश गरेका हुन् । साथै राजन दङ्गोरीया थारु, बिरेन्द्र थारु, कमइ थारु, अभिषेक थापा, कुमार विक, गौरव बेलबासे, धननारायण चौधरी, खिम थापा लगायत एमाले प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेताहरु भोजप्रसाद श्रेष्ठ, गोमा आचार्य लगायतले स्वागत गरे ।