२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पुष १ : प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरिएको दिन 

बुधवार , पौष १, २०७७

काठमाडौं, १ पुष । नेपालको प्रजातान्त्रिक ईतिहासमा कालो दिन अर्थात बिसं २०१७ पुष १ गते, प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाईयो।  

विसं २०१७ पुस १ गते नेपालको ईतिहासमै पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई शाही सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको शुरुआत गरेका थिए । उक्त नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको हो । 

यही जेलपछि सुन्दरीजल बन्दीगृहका नामले चिनिएको थियो । सुन्दरीजल बन्दीगृहमा बसेर विपीले ‘दोषी चश्मा’ कथा संग्रहबाहेकका थुप्रै साहित्यको रचना गरेका थिए । बिपिको ‘दोषी चश्मा’ कथा सङ्ग्रह विसं २००८ मै प्रकाशन भइसकेको थियो । भनिन्छ ‘दोषी चश्मा’ कथा संग्रह प्रकाशनपछि राजनीतिमा व्यस्त हुनुभएका बिपीलाई सुन्दरीजल बन्दीगृह साहित्य रचना गर्न वरदान सावित भएको थियो । यसका साथै बन्दीगृहबाट यौन मनोविश्लेषणवादी धाराका दर्जनौँ कृति नेपाली साहित्यले पाउन सक्यो । 

बन्दीगृहमा रचना भएका कृतिमा ‘श्वेतभैरवी’ कथासंग्रह, ‘मोदी आइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’लगायत उपन्यास रुहेका छन् । यसैगरी जेलमा बस्दा विसं २०१७ देखि २०२५ सम्मका दैनिकीको संग्रह ‘जेलजर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा थुनेपछि लेखिएको दैनिकीको संग्रह ‘फेरि सुन्दरीजल’, ‘आफ्नो कथा’लगायत बिपिका रचना पुस १ गतेको शाही ‘कू’ पछि नै नेपाली साहित्य जगतले पाएको हो । 

पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । खासगरि पुस १ गते तरुण दल लगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् । 

यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायतले देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ। यस वर्ष कोरोना भाइरसको महामारी जारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएकोछ ।