२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

भारतीय बजारमा अलैँची माग बढ्दो

नेपालमा भाउ बढ्ने सम्भावना

बिहिवार , पौष २, २०७७

काठमाडौं, २ पुस । 
भारतीय बजारमा अलैँची अभाव भएपछि माग ह्वात्तै बढेको छ भने नेपालबाट निकासी हुने अलैँचीको भाउ पनि बढ्ने देखिएको छ । वातावरणीय प्रभाव लगायतका बिभिन्न कारणले भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च भएको हो । 

पछिल्लो समय भारतीय व्यवसायीहरु समेत अलैँची किन्न नेपाल आउन थालेका छन् । विगतका वर्षमा भारत नै पुर्याउँदा पनि बेच्न गाह्रो हुने अलैँची अहिले नेपालमै व्यवसायी आउन थालेपछि अलैँचीको भाउ बढ्ने सम्भावना उच्च भएको छ । ‘भारतीय व्यवसायी नै नेपाल आएपछि अब नेपाली अलैँचीको भाउ बढ्छ’, -अलैँची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीको भनाइ छ । उनले भने- ‘नेपालमा उत्पादन भएको मध्ये ४० प्रतिशत नयाँ अलैँची बिकिसक्यो ।’

कार्कीले भने–ठूलो मात्रामा अलैँची विक्री भइसकेको र माग अझै पनि बढ्ने देखिएकोले हामी उत्साहित छौं । केही वर्षअघि अलैँचीको दाम प्रतिमन (४० किलो) एक लाख रुपैयाँसम्म पुगेको थियो तर त्यो दर लामो समय टिकेन । अहिले त किसानले त्यसको एकचौथाइ भाउ मात्र पाउँछन् । पछिल्लो समय फेरि भाउ बढेमा किसानलाई केही लाभ हुन सक्छ ।

विगतमा पनि अलैँचीको भाउ भारतमा उत्पादन घटेकै कारण आएको थियो तर पछिल्ला वर्षमा भारतमा पुनः अलैँची उत्पादन हुन थालेकाले नेपाली अलैंचीको भाउ घटेको हो । अध्यक्ष कार्कीका अनुसार नेपालमा उत्पादन हुने ६० प्रतिशत अलैँचीको बजार भारत हो । भारतले पनि विभिन्न मसला सामग्री निर्माण गरेर तेस्रो मुलुक पठाउँछ । गुणस्तरका हिसाबले पनि भारतको भन्दा नेपाली अलैँची अब्बल मानिन्छ । 

नेपालमा झण्डै ३० जिल्लामा अहिले अलैँची उत्पादन हुन्छ । पछिल्लो समय अलैंची उत्पादक किसानहरुले आफै प्रशोधन गरेर विक्री गर्न पनि थालेका छन् । आफै प्रशोधन गरेर विक्री गर्दा बढी लाभ लिन सकिने हुनाले किसान त्यसतर्फ आकर्षित भएका छन् । सो सम्बन्धमा कृषकहरु जनचेतना जगाउने कार्यमा पनि जुटेका छन् ।