२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भैरहवामा भोलिदेखि लुम्बिनी राष्ट्रिय महोत्सव, गृहमन्त्री खाँणले उद्घाटन गर्ने

बिहिवार , मंसिर २२, २०७९

भैरहवा, २२ मंसिर ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंको आयोजनामा भोलि मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म भैरहवामा हुने लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला)को तयारी पूरा भएको छ । ‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवास्थित अञ्चलपुरमा हुने महोत्सवको तयारी पूरा भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए । उनले आर्थिक मन्दीकाबीच मेलालाई सफल र भव्य बनाउन संघले सक्दो प्रयास गरिरहेको जनाए । ‘यो हामी भैरहवाबासीको गरिमासँग जोडिएको महोत्सव हो’, उनले भने, ‘यसलाई सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्न जरुरी छ ।’ न्यौपानेले, कृषि, उद्योग, पर्यटन, खेलकुद, कला संस्कृति, प्रविधि लगायतका क्षेत्रलाई समेटेर मेलामा स्टलहरु राखिने र यी क्षेत्रको प्रबद्र्धनमा विशेष जोड दिने बताए । महोत्सवमा विभिन्न उत्पादनका गरी २ सय ५० स्टलहरु रहने आयोजकले जनाएका छन् । 

महोत्सवको शुक्रबार दिउँसो १२ः१५ बजे गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका कार्यसमिति सदस्य तथा महोत्सवका प्रचारप्रसार समिति संयोजक कृष्ण प्रसाद घिमिरेले बताए । महोत्सव सुरु हुनुअघि भैरहवास्थित देवकोटाचोकबाट र्‍याली निकालिने घिमिरेले जानकारी दिए । संघले र्‍यालीमा सहभागी हुन राजनीतिक दल, विद्यालय, सामाजिक, साँस्कृतिक , धार्मिक, संघ–संस्था, संगठन, विभिन्न जातजाती तथा समुदायलाई आग्रह गरेको छ ।  

संघले आयोजना गरेको महोत्सव आठौं संस्करण हो । यसअघि सात पटकसम्म संघले सफलतापूर्वक महोत्सव सम्पन्न गरिसकेको छ ।