२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

पशुपति सहकारीको २१ औं साधारणसभा

शनिवार , पौष ४, २०७७

भैरहवा, ४ पुस । 
पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा १५ रुपन्देहीको १९ करोड २७ लाख, ८५ हजार ८ सय ५० रुपैयाँ पुँजी पुगेको छ । संस्थाले व्यापार व्यवसायमा १० करोड २७ लाख ७० हजार ६ सय ७६ रुपैयाँ लगानी गरेको छ । त्यस्तै संस्थाले कृषिमा २ करोड ७० लाख ५९ हजार ८ सय ३० रुपैयाँ, शैक्षिक ऋण लगानी ३८ लाख ९१ हजार ८ सय ५० र अन्य ऋण लगानीमा २ करोड ५२ लाख ९३ हजार ८ सय ५५ रुपैयाँ गरेको छ । 

रुपन्देही क्षेत्रको अब्बल साबित हुन सफल सहकारीको ७ सय ६८ जना सदस्य रहेको संस्थाको २१ औं साधारण सभाले जनाएको छ ।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङले कृषि क्षेत्रतर्फ ऋण लगानी गर्नपर्नेमा जोड दिए । सहकारीले विशेष गरी आफ्ना महिला सदस्यलाई कृषि क्षेत्रमा प्रोत्साहन गरी महिला उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने गुरुङले बताए ।

संस्थाका अध्यक्ष रामनाथ शर्मा उपाध्यायले संस्थालाई अगाडि बढाउनको लागि शेयर सदस्य बढाउँदै जाने र संस्थाका सदस्यहरुको मागलाई मध्यनजर गर्दै संस्थाले नयाँ कार्य गर्दै जाने बताए ।

कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनिरहेको अवस्थामा सहकारीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी पुस ४ गतेदेखि ९ गतेसम्म साधारणसभाको मिति तय गरी आफ्ना सदस्यहरुलाई भौतिक रुपमा उपस्थित हुन आग्रह गरेको छ । संस्थाका उपाध्यक्ष शुशिला भण्डारीको स्वागत मन्तव्य तथा सचिव अर्जुन बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।